काठमाडौं । आजको डिजिटल युगमा वाईफाइ इन्टरनेट प्रयोगको प्रमुख माध्यम बनेको छ । तर असुरक्षित वाईफाइ प्रयोग गर्दा ह्याकिङ, डाटा चोरी तथा अनधिकृत पहुँचको जोखिम बढ्न सक्छ । त्यसैले घरको वाईफाइ सुरक्षित राख्नु अत्यन्त आवश्यक छ ।
वाईफाइ सुरक्षित बनाउन बलियो पासवर्ड प्रयोग गर्नुपर्छ । पासवर्डमा अक्षर, संख्या र विशेष चिन्हहरूको मिश्रण हुनुपर्छ । साथै, राउटरको डिफल्ट पासवर्ड परिवर्तन गर्नुका साथै WPA2 वा WPA3 जस्ता सुरक्षित इन्क्रिप्सन प्रणाली प्रयोग गर्नुपर्छ ।
घरको वाईफाइ सुरक्षित राख्न निम्न उपाय अपनाउन सकिन्छ :
१. राउटरको एडमिन पासवर्ड परिवर्तन गर्नुहोस्
इन्टरनेट सेवा प्रदायकले वाईफाइ जडान गरेपछि राउटरको Admin Username र Password प्राप्त गरी तुरुन्तै परिवर्तन गर्नुहोस् ।
२. SSID र वाईफाइ पासवर्ड परिवर्तन गर्नुहोस्
वायरलेस नेटवर्कको डिफल्ट नाम (SSID) परिवर्तन गर्नुहोस् र वाईफाइका लागि बलियो तथा जटिल पासवर्ड राख्नुहोस् ।
३. SSID Hide गर्नुहोस्
आफ्नो वाईफाइ नेटवर्क अरूले सजिलै पहिचान गर्न नसकून् भनेर SSID Hide गरेर राख्नुहोस् ।
४. सुरक्षित इन्क्रिप्सन प्रयोग गर्नुहोस्
वाईफाइको सुरक्षा बढाउन WPA2 वा WPA3 Encryption छनोट गर्नुहोस् । साथै, Wi-Fi Protected Setup (WPS) लाई Disable गरेर राख्नु राम्रो हुन्छ ।
५. राउटर नियमित अपडेट गर्नुहोस्
वायरलेस राउटरको Firmware वा Software नियमित रूपमा अपडेट हुने गरी सेटअप गर्नुहोस् ।
६. MAC Address Bind प्रयोग गर्नुहोस्
घरमा प्रयोग हुने मोबाइल, ल्यापटप, कम्प्युटर वा ट्याबलेटहरूको MAC Address Bind गरेर मात्र वाईफाइ पहुँच दिनुहोस् ।
७. प्रयोग नभएको बेला राउटर बन्द गर्नुहोस्
घरमा इन्टरनेट प्रयोग नभएको समयमा वायरलेस राउटर Switch Off गरेर राख्नुहोस् ।
यी उपाय अपनाउँदा आफ्नो घरको वाईफाइ नेटवर्कलाई सुरक्षित राख्न सकिन्छ र अनधिकृत पहुँच तथा साइबर जोखिमबाट जोगिन मद्दत पुग्छ ।
आईसीटी समाचार