काठमाडौं । एप्पलले आफ्नो फोटो एपमा एप्पल इन्टेलिजेन्समा आधारित नयाँ एआई एडिटिङ फिचरहरू थप्ने घोषणा गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार यी फिचरहरूले प्रयोगकर्तालाई फोटो सम्पादनलाई अझ सहज, स्मार्ट र प्रभावकारी बनाउनेछन् ।
नयाँ ‘Spatial Reframe’ फिचरले एआईको सहयोगमा फोटोको फ्रेम पुन: मिलाउन मद्दत गर्नेछ । गलत एङ्गल, असन्तुलित फ्रेम वा विषयसँग पर्याप्त दृश्य सन्तुलन नभएको अवस्थामा यसले फोटोलाई स्वत: सुधार गरी आकर्षक बनाउने क्षमता राख्छ ।
प्रयोगकर्ताले फोटोमा टच गरेर ड्र्याग गर्ना साथ क्यामेराको दृष्टिकोण वास्तविक दृश्यमा पुन: राखिएको जस्तो गरी पर्स्पेक्टिभ मिलाउन सक्नेछन् । सम्पादनको प्रभाव तत्कालै हेर्न सकिनेछ । फोटो समायोजनका क्रममा तस्बिरको किनारामा देखिने खाली वा ब्लर भागलाई एप्पलका जेनेरेटिभ एआई मोडेलहरूले स्वाभाविक रूपमा भरेर पूर्ण बनाउनेछन् ।
एप्पलका अनुसार फोटो एपमा रहेका एआई फिचरहरूलाई थप उन्नत बनाइएको छ । नयाँ प्रणालीले पर्स्पेक्टिभ परिवर्तनका कारण प्रभावित भएका भागहरूमा मात्र आवश्यक सामग्री सिर्जना गर्नेछ, जसले मूल दृश्यसँग मेल खाने र स्वाभाविक देखिने परिणाम प्रदान गर्नेछ ।
त्यसैगरी, ‘Extend’ टुलले फोटोको दृश्य क्षेत्र विस्तार गर्न मद्दत गर्नेछ । यसमार्फत प्रयोगकर्ताले विषयलाई थप खाली स्थान दिन, झुकेको क्षितिज (होराइजन) सीधा बनाउन वा फोटो क्रप गर्दा छुट्न सक्ने महत्वपूर्ण भागहरू सुरक्षित राख्न सक्नेछन् । प्रयोगकर्ताले पिन्च गरेर जुम आउट गर्न वा क्रप समायोजन गरी फोटोको दृश्य विस्तार गर्न सक्नेछन् ।
एप्पलले ‘Cleanup’ टुललाई पनि अपग्रेड गरेको छ । अब यो फिचरले फोटोमा रहेका अनावश्यक वस्तुहरूलाई अझ यथार्थपरक र उच्च गुणस्तरमा हटाउन सक्नेछ । प्रयोगकर्ताले हटाउन चाहेको भागमा ट्याप, ब्रस वा सर्कल गरेपछि जेनेरेटिभ एआईले त्यस स्थानलाई स्वाभाविक देखिने सामाग्रीले प्रतिस्थापन गर्नेछ ।
यी नयाँ फिचरहरूले फोटो सम्पादनलाई अझ व्यावसायिक र प्रयोगकर्तामैत्री बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार