कीवर्डहरू -

मोबाइल सेवाले दुर्गमको परिचय बदलिएको बाग्लुङको एक गाउँ

मोबाइल सेवाले दुर्गमको परिचय बदलिएको बाग्लुङको एक गाउँ

बाग्लुङ । ढोरपाटन नगरपालिका वडा नं ६ स्थित विकट तथा दुर्गम खानीगाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि दुर्गमको परिचय बदलिएको छ ।

नेपाल टेलिकमले गाउँदेखि माथि डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा प्रवाह गरेसँगै स्थानिय बासी खुसी भएका छन् ।

यसभन्दा पहिले सूचना र सञ्चारको लागि उक्त गाउँका बासिन्दा हुलाक र कट्टवालको भर पर्दै आएका थिए । नेपाल टेलिकमले टुजी र थ्रिजी सेवा विस्तार गरेपछि अहिले ढोरपाटन नगरपालिकाको वडा नं ६ स्थित खानीगाउँ, खिबाङ, खोरिया, थाम्का र चामीदुवारका झण्डै २ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

भौगोलिक हिसाबले विकट मानिने उक्त गाउँमा मोबाईल सेवा नहुँदा स्थानीयले कठिनाई झेल्दै आएका थिए । कुनै जानकारी, सूचना आदान प्रदान गर्न या आफन्तलाई केहि भन्न र सरकारी कामकाज गर्न गराउन सम्बन्धित ठाउँमै पुग्नु पर्ने बाध्यता मोबाईल सेवा पुगेपछि हटेको छ ।

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप अत्यन्तै विकट र दुर्गम वस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडि बढाइरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

आर्थिक हिसाबले भन्दा पनि दुरदराज र विकट बस्तीमा सेवा पुराउने उद्येश्यले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याईएको उनले बताए ।

शर्माले भने ‘जिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा मोवाईल सेवा सुचारु भए सँगै पहिले डाँडा तिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, ईन्टरनेटको पहुँच बाहिर रहनुपर्ने बाध्यता हटेको छ ।’

यो गाउँमा पहिले नेटवर्क नै थिएन अधिकांश भुभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भुभाग समेटने गरि यो टावर निर्माण गरि सेवा सुचारु गरेपश्चात अहिले समस्या हल भएको कार्यालय प्रमुख शर्माको भनाइ छ ।

स्थानीयबासीसँग समन्वय र नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरि मोबाईल सेवा सुचारु गर्न सफल भएको स्थानीय समाजसेवी रेशम बुढा मगरले जानकारी दिए ।

टेलिकमले उक्त स्थानमा मोबाईल सेवा सञ्चालन गर्न एक वर्ष पहिले देखि गृहकार्य गरेको भएतापनि कोभिडको कारण केही ढिलाई भएको जनाएको छ ।

टेलिकमले उक्त टावरमा निकट भविष्यमा अत्याधुनिक प्रविधिको चौंथो पुस्ताको फोरजी मोबाईल सेवा उपलब्ध गराइने जनाएको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ ।

मोवाईल सेवा सुचारु भएपछि पहिले डाँडा तिर धाउनु पर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् । भौगोलिक विकटतासँगै सञ्चार सेवा नहुँदा गाउँलेले निकै समस्या झेलेका थिए अहिले घरभित्रै बसेर फोनमा कुराकानी गर्न र मोबाईलमा ईन्टरनेट चलाउन पाउँदा खानीगाउँबासी हर्षित भएका छन् ।