कीवर्डहरू -

आवर विराटनगरले डिजिटल साक्षरतामा सहयोग पुर्‍याएको छः प्रबन्ध निर्देशक दाहाल (भिडियो)

आवर विराटनगरले डिजिटल साक्षरतामा सहयोग पुर्‍याएको छः प्रबन्ध निर्देशक दाहाल (भिडियो)

आवर विराटनगर प्रदेश १ को पहिलो अनलाइन म्यागजीन हो । पूर्वमा अनलाइन मिडिया भनेको के हो ? भनेर थाहा नभएको समयमा आवर विराटनगर २५० रूपैयाँबाट सुरू भएको थियो । अहिले पूर्वमा आवर विराटनगर एकदमै चर्चित मिडियाको रुपमा प्रख्यात रहेको छ ।

उद्यमशीलता, सामाजिक कार्य, मिडिया र बिजनेस एनालिष्ट जस्ता फरक फरक क्षेत्रमा अब्बल रहेका आवर विराटनगरका सहसंस्थापक तथा प्रबन्ध निर्देशक विवेक दाहाल सँग आईसिटी समाचारका लागि स्नेहा झा ले गरेको कुराकानीको सम्पादित अंशः

तपाई उद्यमशीलता, बिजनेस एनालिष्टसँगै सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । यी सबै कामका लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?

यो सबै कुराको केन्द्रबिन्दु भनेको तपाईले आफ्नो समयलाई कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ भन्ने हो । तपाईको काम गर्ने समयलाई तपाई कसरी सदुपयोग गर्नुहन्छ भन्ने पाटोले महत्व राख्छ । यी सबै कुरा म एक्लै गर्न सक्दिन्न । सबै कुराको श्रेय हाम्रो टिमलाई नै जान्छ । ‘राम्रो टिम’लाई म एउटै सोच भएको मान्छेहरुको समूह भनेर परिभाषित गर्छु । उहाँहरुबिना मैले केही पनि गर्न सक्दिन थिए ।

केही कुरामा मैले यसो गरौँ भन्दा सबैले मान्नुभयो । ओबीमा भएको हाम्रो टिम सबैजना निजी र व्यवसायिक दुवै ढगंले कनेक्टेड भएका कारण काम गर्न अझै सहज भएको छ । अर्को पक्ष भनेको प्यासन र इन्ट्रेस्ट पनि हो । प्यासनलाई पछ्याउँदै जानुभयो भने समय पनि आफै मिल्दै जाने गर्दछ ।

२५० रूपैयाँमा सुरू भएको आवर विराटनगर अहिले पूर्वी नेपालको लोकप्रिय अनलाइन हो । यसबारे केही बताइदिनुहोस् न ?

हामीले सन् २०११ मा आवर विराटनगर प्रालि सुरु गरेका थियौं । त्यो समयमा नेपालमा अनलाइन मिडियाको ट्रेन्ड खासै आईसेकको थिएन् । त्यतिखेर सञ्चार माध्यममा रेडियो, प्रिन्ट मिडिया थिए र टेलिभिजन पनि भर्खर फस्टाउँदै थियो । त्यो समय पूर्वमा अथवा विराटनगरमा अनलाइनको अस्तित्वनै थिएन । विराटनगर सर्च गर्दा विराटनगर बारे खासै केही आउँदैन्थ्यो ।

त्यस कारण हामीले एक सामाजिक पोर्टल खोल्ने निश्चय गर्यौँ, जसले विराटनगरमा एक अनलाइन अस्तित्वको रुपमा काम गरोस् । हामीले त्यतिखेरै आफ्नो ट्यागलाइन पनि ‘विश्वसँग विराटनगरलाई जोड्दै’ भनेर राख्यौँ ।

हामी आफूलाई समाचार पोर्टल नभनेर सामाजिक प्लेटफर्मको रुपमा चिनाउन रुचाउँछौँ । हामी अरू मिडिया भन्दा कसरी भिन्न छौँ भन्दा हामीले आफ्नो मिडियामा विराटनगरको सानो भन्दा सानो कुरा पनि समेटछौँ ।

हामीले मान्छेको पर्स हरायो, कुकुर हरायो, सिक्री हरायो, रगतका लागि हेल्प पोस्ट जस्ता विभिन्न कन्टेन्टहरु पनि सम्प्रेषण गर्छौँ र हाम्रै माध्यमबाट उहाँहरुले भेट्याउनु पनि हुन्छ, जसले गर्दा हाम्रो उपभोक्तासँग एक बेग्लै सम्बन्ध भएको अनुभव हुन्छ।

समाचारलाई पनि स्थानीयकरण गरी सम्प्रेषण गर्ने गर्दछौँ । पूर्वमा आवर विराटनगरलाई साझा रुपमा लिने गरिन्छ । केही विराटनगरमा भएमा पहिलानै हाम्रो साइटमा चेक गर्ने गरिन्छ । हामी सूचना छिटो दिने भन्दा त्यो कतिको सत्य हो भन्ने कुरामा बढी ध्यान दिन्छौँ ।

तपाईहरु सन् २०११ देखि स्थानीय मिडिया चलाउँदै आउनुभएको छ । लोकल मिडिया चलाउनुको चुनौतीहरु के के देख्नुहुन्छ ?

चुनौती त पक्कै पनि धेरै नै छन् । सुरुमा त हामीले शुन्य लगानी बाटै सुरु गरेको भनेर भन्न पनि सकिन्छ । ३-४ जना साथीहरु मिलेर २५० रुपैयाँको लगानीमा मिडिया सुरु गरेका थियौँ । सबैजना विद्यार्थी थियौँ । काम गर्दै जाँदा साथ सहयोग बढदै गयो ।

विराटनगरको लागि केही गर्नुपर्छ भनेर यो पोर्टल सञ्चालनमा ल्याएका हौँ । सुरुमा आफ्नै पकेट मनीबाट काम गर्दै गरेता पनि पछि भने विभिन्न कार्यक्रमहरमा विज्ञापन, स्पोन्सरसीप आउन थाल्यो र मिडिया सञ्चालन गर्न अलि सहज हुन थाल्यो ।

सुरुवाती चरणमा आएको पैसालाई हामीले लगानमै परिणत गर्दै गयौँ । त्यसपछि हामीलाई अझै थप विचार भएको सदस्यहरुले टिममा जोडिदै साथ दिनुभयो र अहिले हामीसँग कुल ६ जनाको टिम छ । चुनौती छन् स्टाफ राख्नै पर्यो, भाँडा तिर्नै पर्यो । त्यस्तै कुनै पनि कार्यक्रममा विज्ञापनका लागि काठमाडौँ धाउनुपर्ने जस्ता चुनौती पनि छन् स्थानीय मिडियाका लागि ।

पहिले हामीले सुरु गरेको चरणमा डिजिटल मार्केटिङ्ग के हो भनेर बुझाउनै गाह्रो हुने गर्दथ्यो । फेसबुकमा पनि विज्ञापन गर्नलाई पैसा तिर्नुपर्छ र जस्तो प्रश्नहरु आउने गर्थे अथवा अनलाइनमा पनि मान्छेले विज्ञापन हेर्छन् र भन्ने खालको जिज्ञासा आउने गर्दथ्यो । त्यसलाई हामीले विस्तारै चिर्दै, सिकाउँदै अघि बढयौँ ।

केही मान्छेहरु हाम्रै पोर्टलमा समाचार भने पठाउनुहुन्थ्यो तर विज्ञापन दिन भने उहाँहरू हिच्किचाउनु हुन्थ्यो । विज्ञापन भनेको पत्रिका, रेडियो र टिभीको लागि मात्रै हो भन्ने ट्रेण्ड थियो । त्यतिखेर यदि धेरै अनलाइन मिडिया र डिजिटल उपकरणहरु थिएनन् । पूर्वमा डिजिटल मार्केटिङ्गको कन्सेप्ट बुझाउनमा हाम्रो टिमको ठूलो योगदान रहेको छ ।

अनलाइन म्यागजीनले डिजिटल साक्षरता तथा चेतनाका लागि कतिको मद्दत पुर्‍याएको छ ?

यो तपाईले राम्रो पश्न गर्नुभयो । त्यो समयमा कस्तो ट्रेन्ड थियो भने बिहान घटेको कुनै गतिविधिको बारे बुझ्न बेलुका ८ बजेको टेलिभिजनमा प्रसारण हुने समाचार वा बिहानीपख आउने पत्रिका नै कुर्नुपर्ने हुन्थ्यो । हामीले सुरु गरेपश्चात जानकारी चाँडो आउन थाल्यो ।

यति मात्रै नभएर हामीले त्यो बेला ब्युटी पेजेन्टहरु पनि सञ्चालन गरेका थियौँ । तर टाढाटाढाबाट मान्छेहरुलाई अप्लाई गर्न समस्या परिरहेको बेला हामीले सामाजिक सञ्जाल प्रयोग गरेर डिजिटलीनै ब्युटी पेजेन्टमा अप्लाई गर्न मिल्छ जस्तो जनचेतना फैलाउने काम गर्यौँ ।

केही म्यासेज भएमा लक्षित दर्शकमाझ कसरी पुर्याउन सक्छौं भन्ने सन्दर्भमा काम गर्यौँ । विराटनगरमा कुनै पनि जानकारी दिन डिजिटल प्लेटफर्म पनि छ है भन्ने कुरा जनतामाझ पुगेपछि यसले डिजिटल साक्षरताका लागि पनि मद्दत पुर्याएको हो ।

अब डिजिटल माध्यममा मान्छेहरुको जागरुता बढदै गईसकेकाले हामी आफैले ओबी पसल नामक अनलाइन इकमर्स साइट पनि सञ्चालनमा ल्याएका छौँ । त्योसँगै हामीले ओबी लर्निङ्ग स्टुडियो पनि सञ्चालनमा ल्याएका छौँ । ओबी लर्निङ्ग स्टुडियोले सफ्ट स्कील ट्रेनिङ्ग दिने गर्दछ ।

प्रशिक्षणमा डिजिटल मार्केटिङ्गसँग सम्बन्धित, टेलिभिजनबारे, मिडिया र जीवनमा चाहिने शीपहरुको बारेमा सिकाइनेछ । पूर्वमा खासै धेरै इन्स्ट्यिुट नभएको कारणले गर्दा पनि हामीले ओबी लर्निङ्ग स्टुडियोको सुरुवात गरेका हौँ ।

तपाईहरूले ओबी पसल पनि सुरू गर्नुभएको छ । यसको बारेमा अलि अझै खुलस्त पारिदिनुस न ।
विराटनगरको मान्छेलाई अनलाइनमार्फत पनि सामान खरिद गर्न सकिन्छ भनेर बुझाउनका लागि ओबी पसलको सुरुवात गरेका हौँ ।

हामी कर्मसियल सामानहरुमात्रै विक्रि नगरेर स्थानीय रुपमा निर्मित सामाग्रीहरु पनि विक्रि गर्ने गर्दछौँ । हाम्रो पेजमा गएर हेर्नुभयो भने त्यहाँ मह जस्ता स्थानिय रपमा बन्ने सामाग्रीहरु राखेका छौँ । विभिन्न सामान जुन विराटनगरमा निर्मित छन् तर बजार पाइरहेका छैनन् हामी त्यस्ता सामाग्रीहरुलाई व्यवस्थित रुपमा विक्री गर्नका लागि मद्दत पुर्याउने गर्दछौँ । कोभिड १९ ले गर्दा हामी अलि पछाडिएता पनि अब विराटनगरमा निर्मित सामानहरुलाई एक डिजिटल प्लेटफर्म प्रदान गर्नका लागि काम गर्नेछौँ ।

हाम्रो अर्को ओबी डाइरेक्टरी भन्ने पनि भाग छ । यसले विराटनगर लगायतको पूर्वमा रहेको विभिन्न व्यवसायहरलाई एक ठाउँमा ल्याएर एक एकीकृत प्लेटफर्म बनाएका छौँ । यसले गर्दा पूर्वमा भएको व्यवसायहरुको बारेमा एकीकृत रुपमा ओबी डाइरेक्टरीको प्रयोग गर्न सकिन्छ ।

हाम्रो कम्पनीमा युवाहरकै टिम भएकाले हामीले सक्रिय रुपमा स्थानिय स्टार्टअपहरुलाई पनि प्रमोट गरिरहेको छौँ । एउटा ट्रेन्डनै पनि बनिसकेको छ, जसमा कुनै पनि नयाँ व्यवसाय खोलेपछि आवर विराटनगरमा पोस्ट गरेपछि मात्रै विराटनगरको जनतालाई थाहाहुन्छ भनेर मान्छेहरुले बुझ्ने गर्दछन् ।

नयाँ नयाँ ट्रेन्ड र जानकारीसँग कसरी अवगत हुनुहुन्छ ?

हरेक दिन नयाँ नयाँ परिवर्तन भईरहेको छ । यसका लागि जो मान्छे लगनशील हुँदैन, अध्ययनशील हुँदैन् त्यसको काम हुँदैन् । यसका लागि हामी विभिन्न प्लेटफर्महरबाट जानकारी लिने गर्दछौँ ।

यतिसम्म कि म आफ्नै टिमलाई पनि जुन पहिले देखिको चलिआएको चलनहरू छन् त्यसलाई तोड्नका लागि के केस्तो गतिविधिहरु भईरहेका छन् त्यसमा अन्वेषण गरौँ भन्ने गर्दछु । हामी टिमलेनै विभिन्न अनलाइन प्लेटफर्महरु प्रयोग गरेर अपडेट भईरहेका हुन्छौँ र यसमा चाँही सबै युवा वर्गले नै ध्यान दिनुपर्छ भन्ने मेरो मनशाय छ । नेपालमा मात्रै नभएर विश्वमानै के भईरहेको छ भन्ने जानकारी राख्नु एकदमै आवश्यक हुने गर्दछ ।

विराटनगर इन्टरनेशन कलेजमा तपाई प्रमुख व्यापार विश्लेषक (हेड बिजनेश एनालिस्ट) को रुपमा हुनुहुन्छ । बिजनेस एनालिष्ट भनेको के हो ? यसका लागि के पढनुपर्छ ?

म आफै पनि विभिन्न व्यवसायहरुसँग आवद्ध भईराख्दा व्यवसाय गर्ने विभिन्न पाटोहरु हुने गर्दछन् । यता मार्केटिङ्गको पाटो हुन्छ त्यस्तै सञ्चालनको पक्ष हुन्छ । एचआरको आफ्नै पाटो हुन्छ । अब यी सबैकुरालाई हेर्ने र सम्प्रेषण गर्ने, बजारलाई मूल्याकंन गर्ने जस्ता कार्यहरु नगरी सफल रुपमा व्यवसाय गर्न सकिदैन् ।

कुनै एक व्यवसाय सफल भएपछि त्यसको पछाडि त्यस्तै दश ओटा व्यवसायहरु लाग्ने खालको ट्रेन्ड पनि हामीले देख्ने गरेका छौँ । यस्तो कुराबाट जोगिएर बजारको कस्तो प्रवृत्ति छ, कति ग्राहक छन्, ग्राहकको कस्ता माग छन्, नयाँ कुरा के गर्न सकिन्छ जस्ता कुराहरु एक व्यापार विश्लेषकले अवलम्बन गर्ने गर्दछ ।

स्टेक होल्डरहरुसँग कुरा गरेर तथा व्यवसायलाई सबै एगंलबाट हेरेर अघि बढयो भने व्यवसायमा राम्रो गर्न सकिन्छ । उद्यमीले गर्ने भनेकै समाजमा भएको समस्याहरुलाई समाधान गर्ने हो । युवाहरुको लागि पनि मेरो यही सुझाव छ की कुनै पनि व्यवसायमा हाम फाल्नु अघि राम्ररी बजार सर्वेक्षण गर्नुस् । त्यस प्रकारको व्यापारबारे सबै कुरा बुझ्नुस र मात्रै व्यवसायमा लाग्ने गर्नुस् जसले गर्दा गरेको काममा सफलता पनि मिल्ने गर्दछ ।

व्यापार विश्लेषकनै बन्नका लागि कुनै निश्चित विषय छैन् । यो व्यवस्थापनसँग सम्बन्धित हो । कुनै पनि व्यवस्थापनको कोर्सलाई अघि बढाउनुभयो भने ठिक हुन्छ जस्तो लाग्छ मलाई । म आफू मार्केटिङ्ग क्षेत्रको भएकै कारणले पनि विद्यार्थीहरुलाई मार्केटिङ्गको जानकारी हुनुपर्छ जस्तो लाग्ने गर्दछ ।

पढाई मात्रै ठूलो कुरा होइन्, पढाईसँगसँगै मान्छेहरुसँग नेटवर्किङ्ग बनाउन् पनि एकदमै महत्वपूर्ण हुने गर्दछ । मैले कक्षा १२ देखि नै पब्लिक रिलेसन वृद्धि गर्नका लागि धेरै मान्छेहरुसँग भेटघाट गर्ने गर्दथे । जीवनमा सफलता प्राप्त गर्नका लागि तपाईको नेटवर्किङ्ग कतिको शक्तिशाली छ भन्ने कुराले पन फरक पार्ने गर्दछ ।

नेटवर्क इज अ नेट वर्थ पनि भनिन्छ । प्लस टू सकाउनुभएका विद्यार्थी भाईबहिनीलाई मेरो के सुझाव छ भने तपाईले जे पढनुभएको छ, त्यसको वास्तविक रुपमा कसरी काम हुन्छ भनेर बुझ्नुस । इन्टर्नशीपहरु गर्नुस् । पैसानै कमाउनुपर्छ भन्ने पनि छैन्, शीप कमाउनु महत्वपूर्ण हुन्छ । लर्निङ्ग बाई डुईङ्ग बढि महत्वपूर्ण हुने गर्दछ ।

अब हामी अर्को पाटोमा जाऔँ । तपाई नेपमेड्सको निर्देशक पनि हुनुहन्छ । नेपमेड्स के हो ? यसले डिजिटलाइजमा कसरी सहयोग पुर्यारहेको छ ?

नेपमेड्स काठमाडौँमा सुरु भएको प्लेटफर्म हो । यसलाई अहिले विराटनगरमा पनि विस्तार गरिएको छ । विराटनगरमा यस्तो खालको सेवा थिएन । ओबी मिडियामा नेपमेड्सको सेवा विराटनगरमा पनि विस्तार गर्नका लागि प्रस्ताव आयो ।

यसबाट घरबसी बसी एपको मार्फतले स्वास्थ्य सेवा पाउन सकिन्छ । यसबाट अनलाइबाटै औषधी मगाउन सक्ने र अन्य सेवाहरु लिन सकिन्छ । मैले अघि पनि भने उद्यमीले हेर्ने भनेको समस्या हो र स्वास्थ्य सेवाहरु अनलाइन मार्फत उपलब्ध नहुनु एउटा समस्या थियो, विराटनगरमा ।

अहिले सबैको जीवन एकदम व्यस्त छ, जसकारण अनलाइनबाट सेवा प्राप्त गर्दा अझै सहज हुने गर्दछ । कसैको घरमा औषधी खाने विरामी हुनुहुन्छ होला जसले समयमा औषधी खाइरहनुभएको छैन् होला ।

त्यस्तो अवस्थामा हाम्रो टिमले तपाईको मान्छेलाई फोन गरेर औषधी खाने समयमा औषधी खानुहोस् है भनेर सम्झाइदिने गर्दछौँ । घरमै औषधी पनि पुर्याइदिन्छौं । हाम्रो नेपमेड्स क्लिनीकमा काठमाडौँबाट ख्याती प्राप्त डाक्टरहरु बोलाएर पनि स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ । निकट भविष्यमा यसलाई अझै विस्तृत बनाउँदै जाने हाम्रो योजना छ ।

विराटनगरमा नेपमेड्स सुरू गर्दा कस्तो चुनौती भोग्नु भयो ?

हामीले जब नेपमेड्सको सेवा विराटनगरमा सुरु गर्यौँ, त्यतिखेर सुरु गर्ने बित्तिकै कोभिड महामारी फैलिन थालिहाल्यो । हामीले कोभिडको समयमा नयाँ व्यवसायमा लगानी गरेको भनेर मान्छेहरूले हामीलाइै बौलायो की क्या हो भन्ने जस्ता पनि प्रश्न गर्थे । तर पनि गर्ने समय यही हो भनेर अठोट लिएर काम गर्न थाल्यौँ । नेपमेड्समा काम गर्दा केही भावनात्मक अनुभवहरु पनि छन् ।

कोभिडको समयमा घरभरिको सबै सदस्यलाई कोभिड लागेको बेला र घरबाट बाहिर निस्कदा पनि त्रास रहेको समयमा पिपिई लगाएर घरमा औषधी डेलिभर गरिदिएको घटनाहरु पनि छन् । त्यतिखेर थर्ममिटर, अक्सिमिटर जस्ता तत्काल चाहिने स्वास्थ्य सामग्री उपलब्ध पनि थिएनन र ल्याउने मान्छे पनि कोही थिएनन तर हामीले अनलाइन मार्फत यस्ता स्वास्थ्य सामग्रीहरू डेलिभर गर्‍यौं ।

सुरु सुरुको समयमा चिकित्सा क्षेत्रमा कालोबजारी सुरु भएको थियो र त्यस्तो समयमा हैन् यसलाई चिर्नु पर्छ भन्ने हिसाबले हामीले काम गर्न थाल्यौँ । हामीले सुलभ दरमै विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गरायौँ । अरु ठाउँमा ५-६ हजारमा अक्सिमिटर विक्री भईरहेको बेला हामीले १ हजार रुपैयाँमै विक्री गर्दा ग्राहकहरूको हामीमाथि विश्वास पनि बढ्न गएको थियो ।

विदेशमा भएका दाजुभाई दिदीबहिनीले पनि हामीलाई म्यासेज गरेर मेरो घर यहाँ हो, हाम्रो घरमा कसैलाई कोभिड लागेको छ, औषधी पुर्याइदिनुपर्यो भन्ने खालका म्यासेज आउने गर्दथे, जसले गर्दा हामीलाई धेरै धन्यवादका म्यासेजहरु पनि आउने गर्दथे ।