कीवर्डहरू -

इमेलबाट पठाइयो कक्षा १२ को प्रश्नपत्र, राज्यको लाखौँ रुपैयाँ बचत

इमेलबाट पठाइयो कक्षा १२ को प्रश्नपत्र, राज्यको लाखौँ रुपैयाँ बचत

कक्षा १२ को प्रश्नपत्र ईमेलबाट पठाउने प्रचलनले राज्यको लाखौँ रुपैयाँ बचत भएको छ । सोमबारदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका परीक्षा केन्द्रमा ईमेलबाट प्रश्नपत्र पठाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले प्रश्नपत्र छपाइ नहुँदा छपाइमा लाग्ने कम्तीमा एक करोड रुपैयाँ बचत भएको बताए ।

उनले भने, ‘परीक्षा सुरु हुनु आधा घण्टाअघि प्रश्नपत्र पठाउने गरिएको छ । परीक्षा केन्द्रले त्यसलाई तत्काल प्रिन्ट गरी परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था मिलाइएको छ ।’

प्रश्नपत्र छपाइमा करिब दुई करोड रुपैयाँ खर्च हुँदै आएको थियो । त्यस्तै प्रश्नपत्र छपाइका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४५ जना सुरक्षाकर्मी, बोर्डका सम्बन्धित पदाधिकारी करिब एक महिनासम्म जनक शिक्षा सामग्री केन्द्रमा बस्दा भत्ताबापत करिब २० लाख रुपैयाँ खर्च हुन्थ्यो ।

त्यसबाहेक सबै जिल्लामा प्रश्नपत्र ढुवानी गर्दा र परीक्षा सञ्चालन हुनुअघि सुरक्षाका लागि प्रहरी चौकीमा प्रश्नपत्र राख्दा सुरक्षाकर्मीलाई उपलब्ध गराउनुपर्ने भत्तासहित लाखौं रुपैयाँ खर्च हुने गरेको थियो ।

प्रहरी चौकीमा प्रश्नपत्र राख्न बाकस खरिद गर्न पनि थप खर्च हुँदै आएको थियो । काठमाडौँ र तराईमा प्रश्नपत्र छाप्न प्रतिपाना दुई रुपैयाँ, पहाडी क्षेत्रमा प्रतिपाना तीन रुपैयाँ र हिमाली क्षेत्रमा प्रतिपाना पाँच रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

उनले भने, ‘यसरी रकम उपलब्ध गराउँदा छपाइ, सुरक्षाकर्मी र कर्मचारी भत्ता तथा ढुवानी खर्च जोगिने गरेको छ ।’ गोरखापत्र