कीवर्डहरू -

सकियो सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट, सात स्टार्टअपले पाए २४ करोड ५० लाख लगानी 

सकियो सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट, सात स्टार्टअपले पाए २४ करोड ५० लाख लगानी 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्टमा सात स्टार्टअपले २४ करोड ५० लाख लगानी पाएका छन् ।

शनिबार द सोल्टी काठमाडौंमा आयोजना भएको नेपाल स्टार्टअप फेस्ट २०२२ मा सात स्टार्टअपसँग लगानीकर्ताले प्रारम्भिक लगानीको सम्झौता गरेका हुन् ।

उक्त कार्यक्रमबाट भक्सक्रोले अध्ययन्ता भेन्चरबाट १ करोड लगानी पाएको छ । त्यस्तै स्किल सेवाले टीम भेन्चर, टेलि भेन्चर, अध्ययन्ता र ग्लोबल इक्विटी फण्डबाट संयुक्तरुपमा साढे ८ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ ।

त्यसैगरी कृषि स्टार्टअप खेतीले टिम भेन्चर र ग्लोबल इक्वीटीबाट २ करोड रुपैयाँ लगानी पाएको छ । कृषि क्षेत्रलाई डिजिटाइज गरिरहेको खेतीले यसअघि स्टार्टअप आइसिटी अवार्ड २०२१ समेत पाएको थियो ।

शैक्षिक संस्थालाई डिजिटाइज बनाउन काम गरिरहेको वेदमा पनि टिम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्विटीले संयुक्तरूपमा ८.५ करोड रुपैयाँ लगानी गरेका छन् ।

यसका साथै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको डक्टर्स अन कलले हिमालयन क्यापिटल, टिम भेन्चर, र ग्लोबल इक्विटीबाट २ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेको छ ।

साथै डिजिटल एज नेपालले अध्ययन्ता र मिलियन क्यापिटलबाट १ करोड रुपैयाँ तथा डार्क म्याटर्स प्रोडक्सन कम्पनीले ग्लोबल इक्विटी, टिम भेन्चर र अध्ययताबाट १.५ करोड रुपैयाँ लगानी पाएका छन् ।

शनिबार सम्पन्न नेपाल स्टार्टअप फेस्टमा लगानीका लागि ३०० स्टार्टअपले आफ्नो परियोजनाको साथ आवेदन दिएका थिए । त्यसमध्येबाट अन्तिम छनोटमा परेका स्टार्टअपले लगानीकर्तासामु आफ्नो प्रस्ताव राख्नेने मौका पाएका थिए ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडू, सांसद तथा नेपाली कांग्रेसका नेता विनोद चौधरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल लगायत अन्य उद्योगी व्यवसायीको सहभागीता रहेको थियो ।

फेस्टमा ४० बढी स्टार्टअपले आफ्नो सेवा तथा बस्तु प्रदर्शनीमा राखेका थिए । फेस्ट ५ हजार बढी युवाले अवलोकन गरेको जनाइएको छ ।