कीवर्डहरू -

एग्री टेक स्टार्टअपः कृषि अर्थतन्त्रमा यसरी पुर्याउँदैछन् सहयोग

एग्री टेक स्टार्टअपः कृषि अर्थतन्त्रमा यसरी पुर्याउँदैछन् सहयोग

काठमाडौं । नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रपछिको सबैभन्दा धेरै योगदान दिने क्षेत्र कृषि हो । अघिल्लो आर्थिक वर्ष २०७७ ०७८ को आर्थिक प्रतिवेदन अनुसार देशको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत थियो । आर्थिक दृष्टिबाट सेवाक्षेत्र भन्दा कम योगदान देखिए पनि अधिकांश जनसंख्या यसै क्षेत्रमा संलग्न छन् ।

तर बहुसंख्यकको उपस्थित रहेको यो पुरानो कृषि पेशा, परम्परागत र अव्यवस्थित  अभ्यासका कारण अन्य क्षेत्र सोसरह अगाडी बढ्न सकेको छैन । विज्ञहरु पनि नेपाली अर्थतन्त्रमा मौलिक क्रान्ति ल्याउन कृषिमा जोड दिन सुझाव दिन्छन् ।

यसैकारण अहिले देशका विभिन्न क्षेत्रमा युवाहरुले ससाना पहलहरुमार्फत कृषिमा प्राविधिक हस्तक्षेप गरी कृषि क्रान्तिको जग बसालिरहेका छन् । हाल धेरै ओटा स्टार्टअपहरु कृषि क्षेत्रका विभिन्न तप्कामा देखिएका समस्यालाई प्रविधिबाट सहजीकरण तथा समाधान गर्न उद्दत छन् ।

यिनै स्टार्टअपहरुको प्रयासमा आज बजार नपाएका सुधुर क्षेत्रका उत्पादनहरु मोबाइलमा एक क्लिककै भरमा बजारसँग जोडिन सकेका छन् । शहरका भान्सा पनि बिना बिचौलिया ताजा कृषि फार्मसँग प्रत्यक्ष जोडिन थालेका छन् । मलखाद्य, उपकरणको समस्यालाई हल गर्न स्वदेशमै सम्भावनाहरुको खोजि भएका छन् । अन्नबालीमा देखिएका रोगव्याधिलाई मोबाइलबाटै स्क्यानरमार्फत पहिचान गरी समाधान खोज्ने सुविधाहरु विकास भईसकेका छन् ।
माटोको गुण परिक्षणदेखि उत्पादकत्व र उपयुक्त बाली लगाउन समेत कृषकलाई मोबाइलले नै सिकाउन थालेका छन् । वर्षौंदेखि कृषि बजारले झेल्दै आईरहेको ढुवानीको समस्यालाई पनि व्यवस्थित गर्न अहिले प्रविधिले विभिन्न विधिहरु विकास गरेको छ ।

परम्परागत प्रणालीलाई प्राविधिक हस्तक्षेपद्वारा व्यवस्थित बनाउन कृषि अर्थतन्त्रमा मूल्य अभिवृद्धि गर्न सघाउन यिनै विभिन्न नवप्रवर्तनमुखी स्टार्टअपहरुका बारेमा आज हामी कुरा गर्नेछौं ।

फार्म टु फिंगर

‘फार्म टु फिंगर’ आधारभूत रुपमा कृषिजन्य उत्पादनको एउटा अनलाइन बजार हो । २०१६ मा स्थापना भएको फार्म टु फिंगरले नेपालका विभिन्न भागका मौलिक खाद्य उत्पादनलाई शहरी उपभोक्ताको दैलो दैलोमा पुर्याउने काम गर्दछ । ग्रामिण कृषक र शहरी उपभोक्ताबीचमा रहेको अस्वस्थकर सप्लाई चेन अर्थात् आपूर्ति श्रृंखलालाई मेटाउने उदेश्य हो ।

फार्म टु फिंगरले उपभोक्ताको माग अनुसार ग्रामिण क्षेत्रका ताजा उत्पादनहरुको आपूर्ति गर्दछ । यसमार्फत मुस्ताङको स्याउ, जुम्लाका ओख्खर, सिमी, कोदोको पिठो, मार्सी चामल, गाउँघरमा बनेको शूद्ध अर्गानिक घ्युँ, मह, दाल, घरेलु अचार आदी सुभल मूल्यमा प्रदान गर्दछ ।

फार्म टु फिंगरको वेबसाइटमार्फत सम्पर्क गरी उपभोक्ताले अर्डर दिनसक्छन् ।

नेपालमा फार्म टु फिंगरमात्र होइन अहिले यस्ता धेरै ससाना स्टार्टअप तथा ईकमर्शहरु छन् जसले कृषिमा आधारित खाद्य बस्तुहरुलाई उपभोक्ताको घरघरमा पुर्याइरहेका छन् । जसले कृषलाई आफ्नो श्रमको उचित पारिश्रमिक र उपभोक्तालाई ताजा र स्वास्थकर खाद्यन्न उपलब्ध गराउँछ । जसले परम्परागत बजार बिचौलियाको समस्यालाई समेत समाधान गरिदिएको छ ।

यस्ता स्टार्टअपहरु आहिले बीटुबी, बीटुसी लगायत विभिन्न मोडलमा बजारमा सञ्चालित छन् ।

एग्रीक्लियर

तपाईले बजारबाट खरिद गरेर ल्याउनु भएको फलफुल तरकारी कहाँ उत्पादन भएको हो ? कतिको सुरक्षित र स्वस्थकर छ ? उपभोक्ता स्वास्थ अधिकारका दृष्टिबाट यी कुरा एकदमै महत्वपूर्ण छन् ।

वास्तवमा कृषिजन्य आपूर्ति श्रृंखलामा बस्तुको उत्पादनदेखि ढुवानीको अवधिसम्म हुने हरेक कुरालाई पारदर्शी बनाउन आवश्यक छ । यो आपूर्ति श्रृंखला पारदर्शी हुन सकेको अवस्थामा उपभोक्ताले सुरक्षित आहार पाउन सक्छन् भने बिचौलियाले लिने अत्याधिक फाइदालाई पनि घटाउन सकिन्छ ।

आपूर्ति श्रृंखलाको यहीँ समस्यालाई समाधान गर्न एग्रक्लियरले अहिले ब्लकचेनमा आधारित रहेर कृषि उत्पादनको ढुवानीलाई ट्रयाक गर्न सक्ने एप विकास गरेको छ  । एग्रीक्लियरले डिस्ट्रीब्युटेड लेजर टेक्नोलोजी डीएलटी को माध्यमबाट खाद्यन्नलाई ट्रयाक गर्दछ ।

उत्पादक, आपूर्तिकर्ता, पसले र उपभोक्ताले एग्रीक्लियरको मोबाइल एपबाट खाद्यन्नमा दिइएको क्युआर लेबबलाई स्क्यान गरी सो बस्तुको उत्पादन स्थान, रोपेको समय, मलखाद्य तथा किटनासक, प्रशोधन प्रक्रिया, ढुवानी सबै कुराको बारेमा जानकारी पाउन सक्छन् ।

यस किसिमको ट्रयाकिङ सिस्टमले कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सघाउने एग्रीक्लियर टिमको विश्वास छ ।

एग्रीटेक नेपाल

पोखराको ठूलो टेक्नोलोजी प्रालीले निर्माण गरेको एग्रीटेक नेपाल नेपाली कृषक तथा कृषिका विद्यार्थीहरुका लागि एकदमै उपयोगी एप हो ।

कृषि उत्पादन, सेवा तथा अनुसन्धान सम्बन्धि विभिन्न समस्याहरुको ‘वान स्टप सोल्युसन’ प्याकेज हो यो एप ।   यस एपले नविनतम तथा अर्गानिक कृषि, जडिबुटी खेती गर्ने विधि कृषकलाई सिकाउँछ । साथै यसले म्यानुअलरुपमा मलखाद्य मापन गर्न सिकाउँछ । यसमा भएको मेनअुअल फर्टिलाइजर क्याल्कुलेटरको माध्यमबाट कति जमिनका लागि कस्तो बालीका लागि कुन मलखाद्य कति प्रयोग गर्ने भनेर हेर्न सकिन्छ । यसले बाली संरक्षण गर्न, वैज्ञानिकरुपमा पशुपालन गर्न समेत सिकाउँछ ।

यसमा अन्न बाली, सिजन, मौसम सबै कुरा हेर्न सकिन्छ । कृषकलाई व्यवस्थित रुपमा खेती गर्न सिकाउने यो एप एकदमै उपयोगी छ ।

डिजिज डिटेक्सन सफ्टवेयर

मसिन लर्निङ तथा एआईको मद्दतबाट विरुवामा लागेका रोगहरु पत्ता लगाउन सकिने विभिन्न एपहरु अहिले प्ले स्टोर र एप्पल स्टोरमा उपलब्ध छन् । यस्ता एपहरु अहिले हाम्रै स्वदेशी सफ्टवेयर कम्पनीहरुले समेत बनाएर प्रयोगमा ल्याइरहेका छन् ।

यी एपहरुले आधारभूत रुपमा विभिन्न रोग लागेका विरुवा र तीनको तस्विर संकलन गरी डेटाबेस तयार गर्दछ र मसिन लर्निङको मद्दतबाट डिजिज डिटेक्सन प्रणाली तयार पार्दछ । कृषकले एपको यस्ता एपको प्रयोग गरी आफ्नो अन्न बालीमा लागेको रोग आफै पत्ता लगाउन सक्छन् । साथै एपले बालीमा कस्तो रोग लाग्दा के उपचार गर्ने भन्ने समाधानका उपायहरु पनि दिएको हुन्छन् । सोको प्रयोग गरी बालीमा लाग्ने रोगकको आफै उपचार गरी उत्पादकत्व बढाउन सकिन्छ ।

अर्वतन टेक्नोलोजी

अवर्तन टेक्नोलोजी आईओटी र कृषिको क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दै आइरहेको कम्पनी हो । २०१६ देखि सुरु भएको यस कम्पनीले आईओटीको माध्यमबाट विभिन्न किसिमका आधुनिक खेती गर्न सहयोग गर्दछ ।
आईओटी र कृषिको अवधारणामा काम गर्न अवर्तन टेक्नोलोजीले अर्बन बगैंचा नामको नयाँ प्रणाली विकास गरेको छ । जसले विश्वभर चर्चित रहेको एरोपोनिक्स फार्मिङ अर्थात् हावामा गरिने खेती गर्न कृषकहरुलाई सहयोग गर्दछ ।
हावामा गरिने संवेदनशिल एरोपोनिक्स फार्मिङलाई आईओटीको माध्यमबाट मेनुअलबाट अटोमेट गर्न अर्बन बगैंचा एपले सहयोग गर्दछ ।

शहरी क्षेत्रमा प्रचलित खुल्ला हावामा गरिने यो खेतीमा विरुवालाई आवश्यक पर्ने पोषकतत्व, पानी, औषधि सबै हावाको माध्यमबाट इन्फ्युज गरिन्छ । हावाको माध्यमबाट विरुवामा कुन बेला, कति र कसरी पोषकतत्व, पानी आदी दिन कृषकलाई अर्बन बगैँचा एपले सहयोग गर्दछ ।

एरोपोनिक्स खेतीमा विरुवाको फरक आवश्यकतालाई व्यवस्थापन गर्न मेनुअलरुपमा एकदमै जटिल र झन्झटिलो छ । तर अर्बन बगैंचा एउटा यस्तो आईओटी प्रणाली हो जसले एरोपोनिक्स खेतीका सम्पूर्ण अवस्थाहरुको लाइभ मोनिटरिङ गरी सिस्टम पूर्णरुपमा अटोमेट गरिदिन्छ ।

अर्बन बगैँचा जस्तो एपकै उपलब्धता कारण अहिले नेपालमा पनि एरोपोनिक्स खेती गरी खाद्यन्न उब्जनी गर्न सम्भव भएको छ ।

प्रारम्भ बायोटेक, भू डक

मनसुन भित्रिएपछि नेपालमा सधै जसो मलखाद्य अभावको समस्याले चर्चा पाउँछ । भारत तथा अन्य तेस्रो मुलुकबाट आयात गरिने यस्ता रासायनिक मलमा हाम्रो सिंगो कृषि अर्थतन्त्र निर्भर छ । मल आपूर्ति नहुँदा वर्षभरी उपभोग हुने अन्नबाली नै प्रभावित हुन्छ । यसलाई समाधान गर्न हामीले घरेलु मलको पनि साहारा लिन्छौं । तर यो विधि वैज्ञानिक होइन । हामीले घरमा उत्पादन गर्ने मलमा बालीलाई आवश्यक पौष्टिक तत्वको पर्याप्त मात्रा नहुन सक्छ त्यस्तो बेला अन्न उत्पादनमा ह्रास आउँछ ।

यहीँ समस्यालाई चिर्न अहिले विभिन्न एग्री टेक स्टार्टअपहरुले कम्पोस्ट मल उत्पादनमा काम गरिरहेका छन् । प्रारम्भ बायोटेकले उत्पादन गरेको भू डक एउटा यस्तै भर्मिकम्पोस्ट मल हो जुन माटोलाई सधै आफ्नो उच्चतम अवस्थामा राख्न मद्दत गर्दछ ।

गड्यांलालाई विभिन्न सढेगलेको फोहोर खान दिएर त्यसले निलेको फोहोरबाट भर्मिकम्पोस्ट बन्दछ । यस्ता मल पोषकतत्वले भरिपूर्ण हुन्छ । जसले विरुवालाई बढ्न मद्दत गर्दछ  ।

यसले माटोको उर्बराशक्ति र गुण बढाउन मद्दत गर्दछ ।

यसरी नेपालमा हाल कृषि क्षेत्रमा देखिएका साना ठूला समस्यालाई प्रविधिको प्रयो गरी समाधान गर्न स्थापना भएका धेरै स्टार्टअपहरुले कृषि अर्थतन्त्रमा ठूलो योगदान दिईरहेका छन् ।