कीवर्डहरू -

नेपालबाट सिड्स फर द फ्युचरमा छनौट भएका ७ जना बैंकक प्रस्थान

नेपालबाट सिड्स फर द फ्युचरमा छनौट भएका ७ जना बैंकक प्रस्थान

ह्वावे सिड्स फर द फ्युचर २०२२ मा छनौट गरिएका ७ जना नेपालबाट बैंककका लागि प्रस्थान गरिसकेका छन् । छनौट भएका ७ जना क्षेत्रिय कार्यक्रममा सहभागी हुने भएका छन् ।

नेपालबाट काठमाडौं विश्वविद्यालयका निर्माण खड्का र प्राज्ञिक मल्लिक, मदन भण्डारी मेमोरियल कलेजका बंशज पौडेल, ख्वपः ईन्जिनियरिङ कलेजका जतिन भुसाल ,पुल्चोक क्याम्पसका रिया बैद्य र नदिका पौडेल तथा अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोटमा परेका छन् ।

विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन्, जहाँ उनीहरूले व्यावहारिक अनुप्रयोगहरू हेरेर फाइभजी, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा सिक्नेछन् ।

यसका साथै फाइभजीको व्यावहारिक अनुप्रयोगहरू हेर्दै र १४ देशका विद्यार्थीहरूसँग क्रस(सांस्कृतिक शिक्षामा पनि संलग्न हुनेछन् ।

उनीहरूले टेक फोर गूड प्रतियोगितामा पनि भाग लिनेछन् जहाँ विद्यार्थीहरूले वास्तविक विश्व वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचार लिएर आउनु पर्ने हुन्छ ।

टेक फोर गूड परियोजनाका विजेता टोलीहरूले सिंगापुरमा अगस्ट २९ देखि  सेप्टेम्बर २ सम्म आयोजना हुने टेक फोर गूड एक्सेलेटर क्याम्पमा सहभागी हुन पाउनेछन् । उनीहरू फर्किएपछि, विद्यार्थीहरूले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे निर्मित बेस स्टेशनको भ्रमण गर्नेछन् ।