कीवर्डहरू -

साइबर क्राइमलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने सरोकारवालाको भनाइ 

साइबर क्राइमलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने सरोकारवालाको भनाइ 

बढ्दो साइबर क्राइमका घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न्न जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ मा बोल्ने अधिकांश वक्ताले साइबर क्राइमका घटनालाई कम गर्न जनचेतनामा जोड दिएका हुन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको आयोजना भएको थियो ।

गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन गरी समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै बद्लिदो अपराधको स्वरूपलाई  नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको चर्चा गरे ।

कार्यक्रममा महान्यायाधिवक्ता खम्म बहादुर खातीले अपराध अनुसन्धान, अभियोजन एवम् न्याय निरूपणको साथै पीडितलाई न्याय दिलाउने सन्दर्भमा यस गोष्ठीमा हुने छलफल, विश्लेषण महत्वपूर्ण हुने चर्चा गर्दै गोष्ठीको प्रतिवेदनलाई कार्यान्वयन गर्न महान्यायाधिवक्ताको कार्यालय तत्पर रहेको बताए ।

गृह सचिव टेकनारायण पाण्डेले बदलिदो अपराधको स्वरूपका घटनाहरूको बिश्लेषण गोष्ठीमा हुने उल्लेख गर्दै उनले अपराध नियन्त्रणमा सबै सुरक्षा निकायसँग सहकार्य र समन्वय हुनु पर्ने तथा अनुसन्धान गर्ने निकायको क्षमता अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए ।

गोष्ठीमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अपराध अनुसन्धान एवम् नियन्त्रणका लागि महानगरभित्र सिसिटिभि क्यामेरा जडानमा नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने बताउँदै यसले काठमाडौंमा अनाधिकृत रूपमा फालिने फोहोर मैलाको नियन्त्रणमा समेत प्रभावकारी हुने बताए ।

बढ्दो साईबर क्राइम तथा अन्य अपराधका घटनाहरूलाई न्यूनिकरण गर्न सम्बन्धित निकायहरूले ईमान्दारीता पूर्वक भूमिका वहन गरेमा थप सहजता हुने विश्वास उनले व्यक्त गरे ।

अपराध अनुसन्धानमा बढेका चुनौतिहरू समाधानका लागि नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालय समन्वयको विकास लगायतका विषयमा गोष्ठीमा छलफल तथा अन्तर्क्रिया भएको थियो ।