कीवर्डहरू -

‘रकेट साइन्स क्याम्प २०२२’ सम्पन्न, विद्यार्थीले बनाए रकेट

‘रकेट साइन्स क्याम्प २०२२’ सम्पन्न, विद्यार्थीले बनाए रकेट

नेपालको आफ्नो रकेटबाट अन्तरिक्षमा अन्तरिक्षयान पठाउने लक्ष्यसहित स्थापना भएको अन्तरिक्ष कम्पनी नियर एयरोस्पेसले आयोजना गरेको 'रकेट साइन्स क्याम्प २०२२' सम्पन्न भएको छ।

विभिन्न स्कुलका विद्यार्थीहरुलाई रकेट निर्माण सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले गत साताको शुक्रबार र आइतबार गरी दुई दिने कार्यशाला नियर एयरोस्पेसले आयोजना गरेको थियो।

काठमाडौंको धुम्बाराहीमा आयोजित यस कार्यशालामा शिवपुरी माध्यमिक विद्यालय, धुम्बाराही माध्यमिक विद्यालय र बाँसबारी माध्यमिक विद्यालयका २० जना विद्यार्थी सहभागी रहेका थिए।

नियर एयरोस्पेससँगै दि स्क्वाड अफ चेन्जमेकरसमेत यस कार्यशालाको आयोजक रहेको थियो । कार्यशालामा विद्यार्थीहरुले ५ फिट उचाइ र ४ इन्च व्यासको रकेट निमार्ण गरेका छन् ।

तीन विद्यालयका २० जना विद्यार्थीहरुले रकेटबाहेक फ्लाइट कम्प्युटर, रकेट मोटर, प्यारासुट निष्कासन हुने प्रणाली बनाउन सिकेका छन्। यस्तै उनीहरुले रकेलाई पूर्णरुपमा एसेम्बल गर्नसमेत सिकेका छन्।

यस कार्यक्रमलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), बेलायतको ओरेल पार्क होटल र अनलाइन पाठ्य सामग्री रहेको नेपालको शैक्षिक नेटवर्किङ पोर्टल कुल्याब्स डटकमले सहयोग गरेको छ।

कार्यक्रममा रकेट र यसका उपकरण बनाउन आवश्यक प्रविधि र सल्लाहकार एवं विज्ञहरु नियर एयरोस्पेसबाट आएका थिए ।

नियर एयरोस्पेसले सन् २०२४ सम्म नेपालको आफ्नै रकेटबाट नेपाली अन्तरिक्षयानलाई अन्तरिक्षमा पुर्याउने लक्ष्य राखेको छ।