कीवर्डहरू -

कम लागतमा धेरै फाइदा लिन सकिने प्रविधि ‘क्लाउड कम्प्युटिङ’

कम लागतमा धेरै फाइदा लिन सकिने प्रविधि ‘क्लाउड कम्प्युटिङ’

क्लाउड कम्प्युटिङ भनेको क्लाउड सेवा प्रदायक संस्थाहरुले क्लाउड प्लेटफर्म मार्फत सुरक्षित रूपमा प्रदान गरिने भर्चुअल सर्भर (कम्प्युट -  प्रोसेसर, मेमोरी), स्टोरेज, डाटावेस तथा एप्लिकेशनहरुको समिश्रण सेवा हो ।

यससलाई युजरले इन्टरनेट या इन्ट्रानेट मार्फत आफूलाई आवश्यकता अनुसारको श्रोत तथा साधनहरु आफूले प्रयोग गरे बमोजिमको रकम भुक्तानी गरि सजिलै सर्वसुलभ तरिकाले प्राप्त गर्न सक्छन् ।

क्लाउड निजी र सार्वजनिक दुबै हुन सक्छ । निजी वा सार्वजनिक जुनसुकै भएपनि क्लाउड कम्प्युटिङको एकमात्र उद्देश्य भनेको सहज र स्केलेबल सेवा दिनु हो ।

क्लाउड कम्प्युटिङमा स्टोर गरेको कुनै पनि श्रोत साधन तथा एप्लिकेसनहरुलाई इन्टरनेट प्रयोग गरेर जहाँबाट पनि पहुँच पाउन सकिन्छ ।

उक्त श्रोत साधन तथा एप्लिकेसनहरु लाइ आफ्नो इच्छा अनुसार आफुलाई चाहेको बेलामा प्रयोग गर्न सकिन्छ ।  त्यसकारण पछिल्लो समय क्लाउड कम्प्युटिङको प्रयोग बढ्दै गएको छ ।

क्लाउड कम्प्युटिङका फाइदा

धेरैले क्लाउड कम्प्युटिङ प्रयोग गर्न थाल्नुको मुख्य कारण हो, फाइदा । क्लाउड कम्प्युटिङमा थोरै खर्च गरेर धेरै फाइदा लिन सकिन्छ ।

क्लाउड कम्प्युटिङ सस्तो पनि हुन्छ । क्लाउड कम्प्युटिङको प्रयोग गर्न हार्डवेयर, सफ्टवेयर, सेटअप केही आवश्यक पर्दैन् । यसका फाइदा निम्ननुसार छन्ः

१. कम लगानी (एकमुष्ट लगानी गर्नु नपर्ने)
२. आवश्यकता अनुसार स्रोतको प्रयोग
३. प्रयोग अनुसारको मासिक, त्रैमासिक, अर्धवार्षिक या वार्षिक रुपमा रकम भुक्तानी
४. लचिलो (आवश्यकता अनुसार स्रोतको थपघट गर्न सकिने)
५. सुरक्षित
६. डाटा नोक्सानी हुन बाट सुरक्षित
७. व्याकअपको राम्रो प्रवन्ध
८. आफ्नै नियन्त्रण

क्लाउड कम्प्युटिङका प्रकार

क्लाउड कम्प्युटिङ २ प्रकारका छन् । एक प्राइभेट अर्थात निजी क्लाउड र दोस्रो पब्लिक अर्थात सार्वजनिक क्लाउड । आउनुहोस् प्राइभेट र पब्लिक क्लाउडबीच फरक बुझौं ।

१. प्राइभेट क्लाउड

प्राईभेट क्लाउडलाई आन्तरिक वा ईन्टरप्राईज क्लाउड पनि भनिन्छ, जसमा क्लाउड सेवा प्रदायक संस्था मार्फत तपाईंलाई चाहिने सम्पूर्ण स्रोतहरू सुरक्षित तवरले सुरक्षित नेटवर्क (ईन्ट्रानेट तथा ईन्टरनेट भिपिएन) मार्फत प्राप्त गर्न सकिन्छ ।

यससमा तपाईले आफूलाई चाहिने एप्लिकेशनहरु सहजै इन्स्टल गरी प्रयोग गर्न सक्नुहुनेछ । सबै डाटाहरू फायरवाल पछाडी सुरक्षित रहन्छ ।

\"\"

यसको सम्पूर्ण कन्ट्रोल तपाईंमा निहित रहन्छ र पब्लिकले सहज एक्सेस पाउँदैनन् । क्लाउड सेवा प्रदायक संस्थाले तपाईंलाई केवल तपाईंको आवश्यकता अनुसारको स्रोतहरू सुरक्षित रुपमा उपलब्ध गराउँदछन् ।

२. पब्लिक क्लाउड

पब्लिक क्लाउड इन्टरनेट मार्फत उपलब्ध हुन्छ र यो पब्लिक आईपी मार्फत प्राप्त हुने हुँदा यसमा पब्लिकको पहुँच रहन्छ । प्राईभेट र पब्लिक क्लाउडको मुख्य भिन्नता भनेको व्यवस्थापन हो ।

प्राईभेट क्लाउडको व्यवस्थापन तपाईं स्वयंले गर्नुपर्ने हुन्छ भने पब्लिक क्लाउडको सम्पूणर् व्यवश्थापन सेवा प्रदायकले संस्था आफैले गर्दछ ।

साथै तपाईंको सम्पूणर् डाटाहरु सेवा प्रदायक संस्थाको डाटासेन्टरमा स्टोर हुने गर्दछ र सोको व्यवस्थापन तथा मर्मतसम्भार स्वयं सेवा प्रदायक संस्थाले गर्दछ । ठूला ठूला कम्पनीले प्राईभेट क्लाउड रोज्न सक्छन भने सानो व्यवसायकर्ताहरुले पब्लिक क्लाउड रोज्न सक्छन् ।

क्लाउड कम्प्युटिङ सेवाका प्रकार

क्लाउड कम्प्युटिङ सेवाका विशेष गरी ३ प्रकारका छन् । कुनै पनि कम्पनीले आफ्नो आवश्यकता अनुसार सेवा उपयोग गर्न सक्छ । क्लाउड कम्प्युटिङ सेवाका प्रकार यस अनुसार छन् ।

१. ईन्फ्रास्ट्रकचर एज अ सर्भिस

यस अन्तर्गत कोलोकेशन (अनवरत पावर र कुलिङ भएको सुरक्षित स्थान तर स्रोत आफ्नै), बेयर मेटल सर्भर (सर्भर पनि सेवा प्रदायक संस्थाले भाडामा उपलब्ध गराउने), म्यानेज्ड प्राईभेट क्लाउड, पब्लिक क्लाउड (भर्चुअल प्राईभेट सर्भर - प्रोसेसर, मेमोरी, स्टोरेज), नेटवर्किड्ड, सेक्युरिटी, स्टोरेज आदि पर्दछन् ।

२. प्लेटफर्म एज अ सर्भिस

यस अन्तर्गत एप्लिकेशन डेभलपर्सलाई चाहिने प्लेटफर्महरु जस्तै पाईथन, रनटाईम ईन्भारोमेन्ट (जस्तै जाभा रनटाईम), डिजाईनिङलाई आवश्यक पर्ने विभिन्न युटिलिटीहरु, डाटावेश (एसक्युल, अरेकल), वेभ सर्चर (टमक्याट), केहि अपरेटिड्ड सिस्टमहरु आदि पर्दछन ।

३. सफ्टवेयर एज अ सर्भिस

यस अन्तर्गत रेडिमेड एप्लिकेशनहरु जस्तै ईआरपी, सिएमएस, शिक्षा/स्वास्थ्य/अकाउन्टिङ आदिका एप्लिकेशनहरु, माईक्रोसफ्ट ३६०, गुगल ड्राईभ, जिमेल, भिडियो कन्फेरेन्सिङ, सोसल नेटवर्किङ आदि पर्दछन् ।

यसका अलावा सेक्युरिटी एज अ सर्भिस, फायरवाल एज अ सर्भिस, वेब एण्ड ईमेल होस्टिड्ड आदि सेवाहरु पनि क्लाउड मार्फत सजिलै प्राप्त गर्न सकिन्छ ।

क्लाउड डाटा सेन्टरको आवश्यकता किन ?

क्लाउड डाटासेन्टरमार्फत आफ्नो आवश्यकता अनुसारको सर्भर, मेमोरी, स्टोरेज, नेटवर्क, फायरवाल आदि रिसोर्सेजहरु सजिलैसँग रेन्टल (भाडा) का आधारमा प्राप्त गर्न सकिन्छ ।

यसबाट स्रोतमा हुने प्रारम्भिक लगानीको बचत हुनुका साथै आफुलाई आवश्यक पर्ने स्रोतहरूलाई सजिलै बढाउन सकिन्छ ।

क्लाउड डाटासेन्टरमार्फत इन्फ्रास्ट्रकचर एज अ सर्भिस अन्तर्गत कोलोकेशन सर्भिस, भर्चुअल प्राईभेट सर्भर, स्टोरेज एज अ सर्भिस, सफ्टवेयर एज अ सर्भिस, फायरवाल एज अ सर्भिस तथा प्लेटर्फम एज अ सर्भिस अन्तर्गतका सेवा तथा सुविधाहरु सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

साथै म्यानेज प्राईभेट क्लाउडको सुविधा समेत पाउन सकिन्छ । यसबाट ठूलो धनराशिको बचत हुनुका साथै प्राविधिक जनशक्ति तथा डाटासेन्टरका भौतिक उपकरणहरुको आवश्यकता पर्दैन् ।

सजिलै सँग बुझ्नको लागि यदि अन प्रिमेसेस डाटासेन्टर बनाउनको लागि छुट्टयाईएको बजेट स्वयं आफूले लगानी गरी सो बाट प्राप्त हुने ब्याज मात्रै पनि भुक्तानी गरी क्लाउड डाटासेन्टरबाट सजिलै सँग सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

क्लाउडलाई बुझ्ने सजिलो तरिका

क्लाउडलाई सजिलो भाषामा बुझ्नको लागि एउटा उदाहरण हेरौं । मानौं कि तपाईंलाई नयाँ अफिस सेटअप गर्नु पर्नेछ । सुरुमै कत्रो अफिस बनाउने, कति स्टाफहरु राख्ने, के के फर्निचर राख्ने भन्ने कुराको अन्यौल हुन सक्छ ।

त्यसको लागि कुनै अपार्टमेन्टमा गएर आफुलाई चाहिने स्पेश भाडामा लिन सकिन्छ र आवश्यकता अनुसार त्यसलाई बढाउँदै लैजान सकिन्छ ।

क्लाउडलाई एउटा अपार्टमेन्ट या फ्ल्याटको रुपमा बुझौं, जहाँ सुरक्षित नेटवर्कको साथमा धेरै कोर भएको प्रोसेसर, धेरै मेमोरी अनि धेरै स्टोरेजहरु भएको सर्भर, अनि एप्लिकेशन बनाउन चाहिने प्लेटफर्म, रनटाईम ईन्भारोमेन्ट, विभिन्न सफ्टवेयरहरु रहेका हुन्छन्, जसलाई आवश्यकता अनुसार भाडामा प्रयोग गर्न सकिन्छ ।

प्रोसेसरको मुख्य कार्य भनेको दिईएको निर्देशन अनुसार छिटो तरिकाले डाटा तथा अन्य आन्तरिक प्रोसेसिङ गर्नु हो । मेमोरीको काम भनेको एकसाथ एकभन्दा बढि एप्लिकेशन खोलेर कार्य गर्नको निमित्त सहजता गर्नु हो भने स्टोरेजको काम वर्तमान या भविष्यका लागि डाटा स्टोर गर्नु हो ।

\"\"

यसलाई एउटा पसलको रुपमा पनि बुझ्न सकिन्छ । तपाईं यदि एउटा मात्र कोठा अनि एकजना मात्र पसले भएको पसलमा जानु भयो अनि तपाईं सँगै अरु ग्राहक पनि गए भने, सेवा पाउनको लागि ग्राहकले प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

एकजना मात्र पसले भएको कारण प्रोसेसिङ ढिला हुन्छ । साथै एउटा मात्र कोठा भएको कारण तपाईंले सामानहरु हेरेर रोजेर किन्न कठिनाई हुन्छ, भनेजति सामानहरु उपलब्ध नहुन पनि सक्छ ।

तर तपाई त्यही कामको लागि डिपार्टमेन्टल स्टोर जानुभयो भने त्यहाँ तपाईंले सुरक्षाकर्मीको साथै धेरै जना स्टाफहरुको सेवा लिन सक्नुहुन्छ र तपाईंको सपिङ चाँडो हुन्छ साथै तपाईंले छानि छानि रोजी रोजी भनेजति सामानहरु किन्न सक्नुहुन्छ ।

यसमा सेवा दिने पसले वा स्टाफहरुलाई प्रोसेसर अनि डिस्प्ले गर्नको लागि राखिएको स्थान लाई मेमोरी अनि स्टोर/गोदामलाई स्टोरेज अनि सुरक्षाकर्मीलाई सेक्युरिटीको रुपमा बुझ्न सकिन्छ ।

कति छन् नेपालमा डाटा सेन्टर ?

सरकारी स्तरबाट संचालनमा गरेको सिंहदरबार भित्रको जिआईडिसी (गभर्मेन्ट ईन्टिग्रेटेड डाटा सेन्टर) सरकारको एक मात्र डाटा सेन्टर हो । यसको डिजास्टर डाटा सेन्टर हेटौंडामा छ ।

प्राईभेट रुपमा संचालनमा रहेका भैरहवाको ओम डाटा सेन्टर नेपालको निजीस्तरको पहिलो डाटा सेन्टर हो । अन्य डाटा सेन्टरहरुमा दरबारमार्गको सिल्भर लाईनिङ डाटा सेन्टर, थापाथलीको डाटा हब, कुमारीपाटीको एक्सेस वर्ल्ड, थापाथलीको क्लाउड हिमालय, पुतलीसडकको डाटास्पेस, बालुवाटारको सुबिसु आदि रहेका छन् ।

(लेखक, हेमन्त बराल सर्टिफाईड डाटा सेन्टर प्रोफेशनल तथा डाटा सेन्टर कन्सल्टेन्ट हुन् । हाल उनी सिल्भर लाइनिङ डाटा सेन्टरमा प्रमुख सञ्चालन अधिकृत (सीओओ) को रूपमा कार्यरत छन् ।)