कीवर्डहरू -

यस्तो छ देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको २५ वर्षे यात्रा 

यस्तो छ देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको २५ वर्षे यात्रा 

वर्ल्डलिंक कम्युनिकेशन्सले मंगलबार आफ्नो २५ औं वार्षिकोत्सव मनायो । सन् १९९५ मा ईमेल सेवासँगै सुरु भएको वर्ल्ड लिंक आज देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बनेको छ ।

अध्ययनका लागि अमेरिकामा रहेका दिलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पुरा गर्न सेवाको थालनी गरेका थिए ।

अहिले एफटीटीएच प्रविधि सहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ । भने नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्डविथ मध्ये ४३ प्रतिशत ब्याण्डविथ वर्ल्डलिङ्कबाट नै खपत भइरहेको छ ।

इमेल सेवापछि सन् १९९६ नेपालमै पहिलो पटक लिनक्सको प्रयोग गरेको कम्पनीले सन् १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात गर्‍यो । काठमाडौंमा सीमित रहेको इन्टरनेट सेवा सन् १९९९ मा काठमाडौं बाहिर समेत विस्तार हुन थाल्यो ।

सन् १९९९ अन्तर्राष्ट्रिय ब्याण्डविथको लागि भिस्याटको प्रयोग सुरु गरेको वर्ल्डलिङ्कले सन् २००० वायरलेस ब्रोडब्याण्ड इन्टरनेट सेवा दिन थालेको अध्यक्ष अग्रवाल सम्झिन्छन् । त्यसपश्चात सन् २००१ नेपालमै पहिलो कन्टेन्ट क्यास सेटअप गर्न कम्पनीले अकामाईसँग साझेदारी गर्‍यो ।

कम्पनीको भिस्याटमार्फत सन् २००२ देशका प्रमुख शहरहरु आपसमा जोडिए । सन् २००३ मा केबल इन्टरनेट सेवाको सुरुवात पनि कम्पनीको जीवनमा महत्वपूर्ण कोशेढुङ्गा बन्यो ।

सन् २००६ मा वायरलेस प्रविधिबाट राष्ट्रव्यापी सेवा आरम्भ गरेको वर्ल्डलिङ्क त्यसको दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रसबोर्डर फाइबर कनेक्टिभिटीमार्फत भारतसँग जोडियो ।

लोकप्रिय हुँदै गएको गुगलसँग सन् २०१० मा कन्टेन्ट क्यासको लागि साझेदारी भयो । सन् २०१२ मा १० एमबीपीएस केबल इन्टरनेट सेवाको सुरुवातले इन्टरनेट अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने काम गरेको अध्यक्ष दिलिप अग्रवाल बताउँछन् ।

‘हामीले सन् २०१४ घर घरमा फाइबर इन्टरनेट पुर्‍याउने सेवाको सुरुवात गर्‍यौं,’ उनी स्मरण गर्दै भन्छन्, ‘त्यसको दुई वर्षपछि हामीले नेपालमै पहिलो पटक आईपीटीभी सेवा समेत दिन थाल्यौं ।’ कन्टेन्ट क्यासको लागि सन् २०१६ मा फेसबुकसँग साझेदारी भयो ।

कम्पनीको योगदानलाई कदर गर्दै सरकारले सन् २०१७ सूचना तथा सञ्चार क्षेत्रमा उच्चतम करदाताको रुपमा सम्मान प्रदान गर्‍यो । इन्टरनेटमा बालबालिकाहरुको सुरक्षाका लागि सन् २०१७ मा कम्पनीले आफ्नो सेवामा सेफनेटको अवधारणा ल्यायो ।

यस्तै सबै व्यक्तिहरुमा इन्टरनेट पहुँच पुर्‍याउने उद्देश्यका साथ कम्पनीले सन् २०१८ सार्वजनिक स्थानहरुमा फ्री वाईफाई जडान गर्ने परियोजना सुरु गर्‍यो ।  आईपीभी सिक्सको प्रयोग गर्नेमा पनि वर्ल्डलिङ्क नेपालकै पहिलो सेवा प्रदायक हो । कम्पनीले सन् २०१८ मा यसको सुरुवात गरेको थियो ।

सन् २०१९ नेपाल सरकारको आईसीटी पुरस्कारबाट कम्पनी सम्मानित भयो । सन् २०१९ मा कर्णालीको सबैभन्दा दुर्गम भागहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवाको विस्तार गर्ने काम समेत कम्पनीको जीवनमा एउटा गौरवपूर्ण परिघटनाको रुपमा रहेको छ ।