कीवर्डहरू -

नबिल बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा, एटिएमबाटै कार्डको पिन सेट तथा रिसेट गर्न सकिने

नबिल बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा, एटिएमबाटै कार्डको पिन सेट तथा रिसेट गर्न सकिने

नबिल बैंकले ‘नबिल ग्रिन पिन’ सेवाको सुरुवात गरेको छ । आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुविधा प्रदान गर्न नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको हो ।

नयाँ पद्धतीको बैंकिङ्ग सेवा र सुविधा आफ्ना ग्राहक हरुलाई उपलब्ध गराउन सधैं तत्पर नबिल बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।

‘अब हाम्रा ग्राहकहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनु भए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनेरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ ।

त्यस पश्चात ग्राहकहरुले बैंकमा दर्ता गर्नु भएको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकहरुले इन्टर ओटीपी टु चेन्ज योर पिन मेनु छनौट गरि प्राप्त भएको ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्ने छन् ।

ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बैंकले जानकारी दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहक महानुभाहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।