कीवर्डहरू -

टेलिकमको अटम अफर, ५५ रुपैयाँमै ३ दिनको लागि अनलिमिटेड युट्युब र फेसबुक

टेलिकमको अटम अफर, ५५ रुपैयाँमै ३ दिनको लागि अनलिमिटेड युट्युब र फेसबुक

नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ ।

अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा अनलिमिटेड युट्युव र अनलिमिटेड फेसबुक प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ ।

यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याक समेत खरिद गर्न सकिनेछ ।

यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् ।

त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् ।

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ ।

वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ ।

यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज १५ रुपैयाँमा उपलब्ध हुनेछ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ ।