कीवर्डहरू -

आइएमईद्वारा ‘भरोसा कोष’ स्थापना, कोभिडबाट विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गरिने

आइएमईद्वारा ‘भरोसा कोष’ स्थापना, कोभिडबाट विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गरिने

कोरोना भाइरस (कोभिड-१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोष’ को स्थापना गरेको छ ।

कोषमा ०७६ पुस १६ देखि ०७७ साल असोज ३० सम्म कोभिड-१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने आफन्तहरूले आवश्यक विवरण सहित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा कार्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् ।

यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने जनाएको छ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ ।

आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ-साइटहरू मार्फत सोमबार एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो । यसैबीच आईएमईले यसवर्षको चाडपर्व लक्षित कुनै स्किम नल्याएको जनाएको छ ।

कम्पनीले भनेको छ, ‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ । हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ । हाम्रो यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा हामी विश्वस्त छौँ ।’