कीवर्डहरू -

प्रहरी अस्पतालले अब टेलिमेडिसिन मार्फत पनि सेवा दिने

प्रहरी अस्पतालले अब टेलिमेडिसिन मार्फत पनि सेवा दिने

नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ गरिएको छ । ६५ औं प्रहरी दिवस २०७७ को उपलक्ष्यमा सञ्चालनमा ल्याइएको उक्त सेवाको प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले बिहीबार अस्पतालमा आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका छन् ।

आईजीपी क्षेत्रीले सेवाको निरीक्षण समेत गरेका छन् । सो अवसरमा आईजीपी क्षेत्रीले विभिन्न सेवामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्दै टेलिमेडिसिन सेवा अहिलेको परिवेशमा निकै सन्दर्भिक रहेको तथा दूर दराजमा भएका प्रहरी कर्मचारीहरुले अस्पतालको सेवा प्राप्त गरी लाभान्वित हुने उल्लेख गरे ।

प्रारम्भमा परामर्शको सेवा प्रदान गर्ने रुपमा संचालन हुने टेलिमेडिसिन सेवालाई आगामी दिनमा थप परिस्कृत गरेर औषधी पनि वितरण गर्न सक्ने प्रणालीमा विकास गर्न सकेमा प्रहरी कर्मचारीहरु अझ बढी लाभान्वित हुने उल्लेख गर्दै आईजीपी क्षेत्रीले त्यसतर्फ अस्पताल प्रशासन अगाडि बढ्ने विश्चास व्यक्त गरे ।

कोभिड-१९ भाइरसबाट सिर्जित विषम परिस्थितिमा नेपाल प्रहरी अस्पतालबाट भएको उपचार लगायत विविध क्रियाकलापको प्रशंसा गर्दै उनले अस्पतालका सेवाग्राहीप्रति शिष्ट व्यवहारका साथ प्रस्तुत हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले टेलिमेडिसिन सेवाबारे प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा ई-हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिन लगायत अन्य आधुनिक प्रविधिको विकास, विस्तार तथा नियमन गर्ने ब्यवस्था भए अनुरुप सेवा संचालन गरिएको जानकारी दिइन ।

प्रहरी नायव महानिरीक्षक डा.रामकृष्ण राजभण्डारीले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा प्रहरी उपरीक्षक डा.आशिष दत्तले नेपाल प्रहरी अस्पतालबाट कोभिड-१९ नियन्त्रणमा भएका कार्यहरु सम्बन्धि प्रस्तुतीकरण गरेका थिए ।