कीवर्डहरू -

विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा आवद्ध

विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा आवद्ध

बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मा १० विकास बैंक आवद्ध भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका ८ विकास बैंक र राष्ट्रिय स्तरकै २ वटा फाइनान्स कम्पनी समेत गरी १० वटा वित्तीय संस्था यो प्रणालीमा आवद्ध भएका हुन् ।

आरजीटीएसमा ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक आवद्ध भएका छन् ।

त्यस्तै, राष्ट्रिय स्तरकै दुई बैंकहरु मञ्जुश्री फाइनान्स र आईसीएफसी फाइनान्स पनि यो प्रणालीमा आवद्ध भएका छन् । वाणिज्य बैंकहरु भने १ वर्ष अघि नै यो प्रणालीमा आवद्ध भइसकेका छन् ।

यो प्रणालीमार्फत् हाल २० लाख वा सोभन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तो रकम रियल टाइममै ट्रान्सफर हुन्छ । सामान्य चेकमार्फत् हुने कारोबारमा रकम झिक्ने मान्छेले अर्को खाताबाट रकम ‘तान्ने प्रणाली’ छ ।

आरटीजीएस ‘धकेल्ने प्रणाली’ हो । यो प्रणालीमा रकम भुक्तानी गर्नेले नै आफ्नो खातामा रहेको रकम अर्को खातामा जम्मा गरिदिनुपर्छ ।