कीवर्डहरू -

सार्वजनिक भएको ३ दिनमै हाम्रो म्यासेजका १० हजार बढी प्रयोगकर्ता

सार्वजनिक भएको ३ दिनमै हाम्रो म्यासेजका १० हजार बढी प्रयोगकर्ता

हाम्रो म्यासेज प्लेटफर्मका प्रयोगकर्ता १० हजार बढी पुगेको छन् । हाम्रो पात्रोले ‘हाम्रो म्यासेज’ प्लेटफर्म सार्वजनिक गरेको गरेको केही दिनमै प्रयोगकर्ता १० हजार बढी पुगेका हुन् ।

विभिन्न दश देशबाट हाम्रो म्यासेज प्लेटफर्म प्रयोग गरिरहेको हाम्रो पात्रोले जनाएको छ । गत सोमबार हाम्रो पात्रोले हाम्रो म्यासेज प्लेटफर्म सार्वजनिक गरेको थियो ।

हाम्रो पात्रो एपबाटै हाम्रो म्यासेजको सुविधा प्रयोग गर्न सकिने छ । हाल एन्ड्रोइड फोनमा मात्रै उपलब्ध भएको यो सुविधा चाँडै आईओएसमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

भाइबर, ह्वाट्सएप, इमो, म्यासेञ्जर लगायतका एपहरुको बीचमा हाम्रो पात्रोले स्वदेशी विकल्प तयार पारेको हो । हाम्रो पात्रोका प्रयोगकर्ताले साइन अप गरी सहजै हाम्रो म्यासेज प्रयोग गर्न सक्नेछन् ।

यसमा प्रयोगकर्ताको गोपनीयताका लागि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर प्रयोग गरिएको छ । यसको अर्थ हाम्रो म्यासेज अन्तर्गत हुने अडियो तथा भिडियो कुराकानी वा च्याटमा सम्बन्धित प्रयोगकर्ता बाहेकको अन्य कसैको पनि पहुँच हुने छैन । यतिसम्म कि हाम्रोपात्रोले चाहेको अवस्थामा समेत प्रयोगकर्ताको म्यासेज हेर्न सक्ने छैन ।

हाल यसमा अडियो तथा भिडियो कल गर्न सकिने, च्याट गर्न तथा फोटो र स्टिकरहरु पठाउन सकिने फिचर उपलब्ध छ । हाम्रो म्यासेज सेवा प्रयोग गर्दा अन्य एपको भन्दा डेटा खपत समेत कम हुने कम्पनीले जनाएको छ ।

एप अंग्रेजी तथा नेपाली दुवै भाषामा प्रयोग गर्न सकिनेछ । यससँगै हाम्रो पात्रो नेपाली भाषामा म्यासेजिङ सर्भिस दिने पहिलो एप समेत बनेको छ ।

हाम्रो म्यासेज सेवा हाललाई नेपाल सहित भारत, अमेरिका, यूएई, जापान, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, कतार, साउदी अरब र यूकेमा प्रयोग गर्न सकिनेछ । अबको दुई तीन सातामा अन्य देशमा रहेका प्रयोगकर्ताका लागि यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

‍साथै भिडियो कल गर्दा इन्टरनेटको ब्याण्डविथ अनुसार गुणस्तर घटबढ हुने गरी एडप्टिभ बनाइएको छ । गुणस्तरिय तथा फास्ट इन्टरनेट भएको अवस्थामा हाम्रो म्यासेजमा एचडी अर्थात उच्च गुणस्तरमा भिडियो कल गर्न सकिन्छ ।