शुक्रबार, १७ मङ्सिर, २०७८
Friday, 03 December, 2021

पूर्ण डिजिटल बैंकले अत्याधिक प्रतिफल दिन्छ, नबिल त्यो लक्ष्यको नजिकै छ : विनय रेग्मी

मुलुकमा कोरोना संक्रमण बढेसँगै डिजिटल कारोबारको चर्चा बढेको छ । चर्चामात्र बढेको छैन विभिन्न च्यानलको प्रयोग गर्दै डिजिटल कारोबारमा विस्तार भइरहेको छ । 

यही बेला बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेवाहरुलाई डिजिटलमै गर्ने प्रयास गरिरहेका छन् । नबिल बैंक यस मामिलामा अझ अगाडि देखिन्छ । यसले बैंकभित्रको बैंक भनेर नबिल डिजी बैंकसमेत संचालन गरिरहको छ।

यसैसन्दर्भमा नबिल बैंकका नायव प्रमुुख कार्यकारी अधिकृत तथा नबिल डिजी बैंक प्रमुख विनय रेग्मीसँग नबिल बैंकले ‘नबिल डिजी बैंक’लाई कसरी अगाडि बढाइरहेको छ भन्ने विषयमा आइसिटी समाचारले गरेको कुराकानी :

नबिल बैंकले ‘नबिल डिजी बैंक’ भनेर सुरु गरेको छ । यसलाई तपाईहरुले नबिलको शाखा नभएर समानान्तर बैंक भनेर पनि भन्नुहुन्छ । डिजी बैंकको कन्सेप्ट बारे बताइदिनुस् न । 

हामीले कोभिड अगाडि नै ‘डिजी बैंक’ स्थापना गरेका थियौं । यसको उद्देश्य भनेको हामीले जति पनि बैंकका सेवाहरु दिइरहेका छौं त्यसलाई डिजिटल च्यानलबाट ग्राहकले लिन सक्ने बनाउने हो । 

खाता खोल्नेदेखि सबै किसिमका कारोबारलाई ग्राहकले आफू बसेको ठाउँबाट चाहेको समयमा डिजिटल माध्यमबाट सेवाहरु लिन सक्ने बनाउने यसको उद्देश्य हो। हामीले यससम्बन्धि तीन वर्षे ‘मास्टरप्लान’ नै बनाएका छौं । तीन वर्षमा नबिल बैंक पूर्णरुपमा डिजिटल बैंक हुन्छ । 

यसमा एउटा पक्ष भनेको बैंकले डिजिलट प्रोडक्ट ल्याउने कुरा भयो भने अर्को पक्ष भनेको डिजिटल साक्षरता हो । अहिलेको परिस्थितिमा राम्रो कुरा के छ भने बैंकले ग्राहकको डिजिटल शिक्षाको लागि जति मेहनत गर्नुपथ्र्यो त्यो कुरा यो कोभिडले पनि सिकाएको छ । 

यस्तो बेला बैंकमा जानु भएन, घरबाटै गर्नु पर्छ भन्ने जुन चेतना आएको छ, यसमा हामीलाई सहयोग भएको छ । 

अहिले नै हामीले अधिकांस काम ‘डिजिटल्ली’ गर्ने भइसकेका छौं । बैंकमा गर्नुपर्ने तीन चारवटा मुख्य काम हुन्, जुन हामी डिजिटल च्यानलमा गर्न सक्छौं । 
घरबाट कुनै पनि बेला खाता खोल्न सक्नुहुन्छ ।

अर्को मुख्य काम भनेको ऋण सम्बन्धि हो । ऋण लिनको लागि अनुरोध गर्नेसम्मको प्लेटफर्म बनाइसकेका छौं । अन्तिमको ‘डकुमेन्टेसन’को लागि बैंक मै आउनु पर्ने हुन्छ। 

एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउनको लागि अहिले पूर्णरुपमा डिजिटल भइसकेको छ । रिटेल र कर्पोरेट ग्राहकले डिजिटल रुपमा पैसा पठाउन सक्छन् । 
रिटेल ग्राहकले आफ्नो मोबाइल एप, मोबाइल बैंकिङ वा क्युआरकोड प्रयोग गरिरहनु भएको छ । ९० प्रतिशत भुक्तानी डिजिटल गर्न सकिने भएको छ । 

कर्पोरेट प्रयोगकर्ताले पनि भेन्डर भुक्तानी गर्न, तलब वा अन्य कुनै पनि भुक्तानी अनलाइनबाट गर्न सकिने भएको छ । ‘रेमिट्याटन्स् ट्रान्जेक्सन’ पनि धेरै हदसम्म डिजिटल गर्न सकिन्छ । नेपाल भित्र हुने मोबाइल बैंकिङ, आइपीईएस, आरटीजीएसबाट गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय भुक्तानीको लागि नेपालको कानुनले गर्दा केही डकुमेन्ट हेर्नुपर्छ । तर, यसलाई पनि कोभिडको समयमा अलि सरलीकरण गरेर इमेलमा डकुमेन्ट पठाएर पनि गरिरहेका छौं । धेरै हदसम्म अनलाइन काम गर्न सकिने भएकाले बैंकमा आउने बाध्यता कम भइसकेको छ । 

नबिल बैंकभित्रको पनि बैंक भनेर चिनिने ‘डिजी बैंक’ले कसरी काम गर्छ ?

नबिल बैंक एक स्थापित बैंक भइसकेकाले यसलाई कसरी डिजिटल बैंक बनाउने भनेर डिजी बैंकको कन्सेप्ट ल्याएको हो । 

यसलाई चार शाखामा बाँडेर काम गरिरहेका छौं । पहिलो हो, ‘रिसर्च एण्ड एनालिसिस’ । यसले ग्राहकको चाहना र आवश्यकता के कस्ता छन् र  हामीले के गर्नुपर्छ भनेर अध्ययन गरिरहन्छ । 

दोस्रो, कार्यान्वयन शाखा छ । यसले प्रोजेक्ट म्यानेजरको रुपमा कार्यान्वयन गर्ने र लाइभमा लैजाने काम गर्छ । 

तेस्रो शाखा हो ‘ट्रयाकिङ एण्ड मोनिटरिङ’ । बैंकले ल्याएको सिस्टम ग्राहकलाई कत्तिको उपयोगी भयो, समस्या समाधान भयो कि भएन, चलाउन सजिलो छ कि छैन भनेर प्रतिक्रिया लिने काम गर्छ । 

यसले हाम्रा प्रोडक्ट बैंकिभित्र चलाउन सजिलो छ कि छैन भनेर सुरु मै यहीबाट मोनिटरिङ गर्छ । फिडव्याक लिन्छ र केही परिवर्तन गर्नु छ भने गरेपछि सार्वजनिक रुपमा जान्छ । 

चौथो, ग्राहक जनचेतनाको काम गर्ने शाखा छ । यसले ‘डिजिटल लिट्रेसी’ गराएर कार्यान्वयनलाई लैजान सहयोग गर्छ । यसरी चारवटा शाखाले डिजिटलको लागि काम गरिरहेको छ ।

अधिकांस काम डिजिटल रुपमा गर्न सकिन्छ भन्नु भयो, त्यसो हो भने कुन कुन कामको लागि बैंकमा पुग्नु पर्छ अहिले ?

केही कामको लागि बैंक मै पुग्नु पर्छ । भौतिक रुपमा आदनप्रदान हुने वस्तुको लागि अर्को कुनै विकल्प छैन । जस्तो कि पैसा डिपोजिट गर्न, चेक बुक लिन, क्रेडिट कार्ड लिन, लकरको सेवा प्रयोग गर्न बैंक मै आउनु पर्छ ।

अरु बेला पनि तपाईहरु डिजिटल बैंकलाई प्राथमिकताका साथ अगाडि बढाइरहनु भएको छ । यो लकडाउन र अन्य बेलामा डिजिटल बैंकको प्रयोगमा कत्तिको भिन्नता पाउनु भएको छ ?

लकडाउन र अन्य समयमा एकदमै फरक देखिन्छ । हामीले दैनिक कारोबारलाई मोनिटर गरिरहेका हुन्छौं । यो बेला बैंकमा आएर कारोबार गर्ने धेरै नै कम भएको छ भने डिजिटल च्यानलबाट कारोबार गर्ने कैयन गुणाले बढेको छ । 

अब अलिकति तपाईहरुको प्रोडक्टको बारेमा कुरा गरौं । नबिल बैंकको मोबाइल एपबाट के के काम गर्न सकिन्छ ?

नबिलको मोबाइल एपबाट आफ्नोे खाताको जानकारी लिनेदेखि धेरै काम गर्न सक्नुहुन्छ। व्यक्तिगत प्रयोगकर्ताको लागि सबै किसिमको भुक्तानी गर्न सकिन्छ।
आफ्नो खातामा कति व्यालेन्स छ, आफ्नो कारोबार ‘हिस्ट्री’ के छ भन्ने थाहा पाउन सकिन्छ । 

व्यक्ति व्यक्ति (पि टु पी) पैसा पठाउन सकिन्छ । युटिलिटी बिल पेमेन्टका सबै काम गर्न सकिन्छ । जस्तो कि टिकट किन्नेदेखि बिजुली, खानेपानीको बिल तिर्नेसम्मको काम गर्न सकिन्छ । 

मोबाइल वाटेलमा पैसा लोड गर्न, इन्स्योरेन्सको प्रिमियम तिर्नदेखि सामान्य व्यक्तिको लागि दैनिक रुपमा चाहिने सबै भुक्तानी यसबाट गर्न सकिन्छ । 
अहिले त क्रेडिटकार्डलाई पनि मोबाइल बैंकसँग ‘इन्टिग्रेड’ गरेका छौं ।

क्रेडिटकार्डलाई एक्टिभेट गर्ने, डिएक्टिभेट गर्ने, आफ्नो कार्डको स्टेटमेन्टहरु हेर्ने, आफ्नो ब्यालेन्स कति छ हेर्न सकिन्छ । त्यस्तै, एटिएमको पिन बिर्सियो भने रिसेट गर्न सकिन्छ । अनलाइनबाट सामान किन्न सकिन्छ । 

नबिल बैंकले पहिलो पटक मोबाइलबाट ऋण दिने सुविधा सुरु गरेको थियो । अहिले यो सेवा कस्तो भइरहेको छ ?

हो, हामीले मोबाइलबाट ऋण दिन सक्ने ‘फोन लोन’सुरु गरेका थियौं र यो राम्रोसँग चलिरहेको छ । 

यो अहिलेलाई नबिल बैंकमा तलबी खाता भएकालाई मात्र सेवा उपलब्ध गराएका छौं । नबिल बैंकमा तलब खाता भएका र नियमित तलब आउनेलाई २ लाखसम्म ऋणको सुविधा मोबाइलबाटै दिने भनेर सुरु गरेका थियौं । 

मोबाइलबाट आवेदन दिएको केही मिनेटमा नै खातामा पैसा आउने यो सुविधा छ । अहिलेसम्मको अनुभव राम्रो छ । अब यो सेवालाई झन विस्तार गर्दै अरु क्षेत्रका ग्राहकहरुलाई पनि दिने गरी जाने कि भन्ने सोँचमा काम भइरहेको छ । 

पछिल्लो सयम क्युआर कोडको विस्तार तीव्र छ । तपाईहरुले पनि विभिन्न तरकारी पसलदेखि धेरै ठाउँमा क्युआर कोड सेवा सुरुवात गर्नु भएको थियो । यसको प्रयोग कस्तो पाउनु भएको छ ?

क्युआर कोडको प्रयोग निकै नै राम्रो भइरहेको छ । क्रेडिटकार्ड, मोबाइल बैंकिङ, पहिलेदेखि चलिआएको एटिएमको प्रयोग सिमित ठाउँमा सिमित ग्राहकले प्रयोग गरिरहेका थिए तर यो ‘ग्रासरुट’मा प्रयोग भइरहेको छ । 

सानो तरकारी पसलदेखि साइकलमा सामान बेच्नेले पनि यसको प्रयोग गरिरहनु भएको छ । 

यसमा विशेष धन्यवाद नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ज्यूलाई पनि दिनुपर्छ । उहाँको नेतृत्वमा यो एकदमै छिटो विस्तार भयो । अहिले यसको प्रयोग उत्साहप्रद तरिकाले अगाडि बढेको छ । 

कारोबार नम्बर पनि राम्रो तरिकाले बढिरहेको छ । क्रेडिट कार्ड, डेबिट कार्डभन्दा छिटो विस्तार भइरहेको छ । 

अन्य कार्डको तुलनामा यसको प्रयोग धेरै सजिलो र सस्तो पनि छ । पहिला डेबिट, क्रेडिट कार्ड प्रयोग गर्दा अलि महंगो पनि हुन्थ्यो । क्युआर कोड भनेको एक पाना प्रिन्ट गरेर राख्ने चिज हो । 

अर्को कुरा निशुल्क प्रयोग गर्न पाइन्छ । जब कि क्रेडिटकार्डहरु प्रयोग गर्नेले भने केही तिर्नु पर्ने हुन्छ । 

अन्तर्राष्ट्रिय भुक्तानीको लागि प्रिपेड डलर कार्ड पनि प्रयोगमा आएको छ । यसको प्रयोग कस्तो भइरहेको छ ?

हामीले कोभिडको दोस्रो लहर आउनुभन्दा केही समयअघि यो सुरु गरेका थियो । लकडाउन हुनुभन्दा अघि हामीले सोचेभन्दा निकै राम्रो विस्तार भइरहेको थियो । 

लकडाउनले गर्दा अलि कम भएको छ । तर, यो प्रिपेड डलर कार्ड धेरै राम्रो हुनेवाला छ । जसरी मान्छेहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी गर्न गाह्रो भइरहेको थियो, विदेशमा भएका साथीभाइको सहयोग लिनु परेको थियो । अब यसले समाधान गरिदिएको छ । 

नबिल बैंकबाट अहिलेसम्म करिब २ हजार कार्ड जारी भइसकेका छन् । यो निशेधाज्ञा नभइदिएको भए यो संख्या निकै राम्रो हुनेथियो । 

कार्ड बनाउन अनलाइनबाट निवेदन दिन सकिन्छ तर कार्ड लिन एक पटक बैंक पुग्नै पर्छ । त्यो भएर पनि मान्छेहरु घरबाट निस्किएका छैनन् । बैंकका  सबै शाखा पनि खुलिरहेका छैनन् । 

तपाईहरुले नबिल विद्युतीय भुक्तानी प्रणाली (इपीजी) भन्ने सेवा पनि उपलब्ध गराउनु भएको छ । यो इपीजीभनेको के हो ?

इपीजीको अर्थ इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो । यदि कुनै व्यवसायीले आफ्नो अनलाइन पोर्टलबाट बस्नु वा सेवा विक्रीगरी त्यसको भुक्तानी डेबिट, क्रेडिट वा प्रिपेड डलरकार्ड मार्फत लिन चाहन्छ भने उनीहरु इपीजीमा आवद्ध हुनुपर्छ । त्यस्तो इपीजी प्लेटफर्म नविल बैंकले उपलब्ध गरिरहेको छ । 

यो भनेको ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्डबाट अनलाइन सेवा लिदा दिने ई–सेक्युरिटी प्लेटफर्म हो । खासगरी यो सेक्युरिटीको लागि बनाइएको हो । यसलाई हामी थ्रिडी सेक्युरिटी भन्छौं । 

यदी तपाइको कार्ड हरायो कसैले प्रयोग गर्न नसकुन भनेर त्यसमा सेक्युरिटीका थप लेयरहरु पनि राखेका छौं । साथै प्रयोग गर्दा त्यो कार्ड ग्राहकको हो र उहाँ स्वयमले नै प्रयोग गरिरहनु भएको छ भनेर प्रमाणित भएपछि मात्र कारोबार गर्न दिन्छ । 

कारोबार डिजिटल हुदै जाँदा बैंकको संचालन खर्च घट्छ भनिएको छ । डिजिटल बैंक भएपछि संचालन र आम्दानीमा कस्तो फरक पर्ला ?

डिजिटल बैंकको मुख्य उद्देश्य नै कार्यक्षमता बढाउने हो । जस्तो कि अहिले एउटा खाता खोल्नको लागि अहिले २ घण्टा लाग्छ डिजिटल च्यानलबाट त्यो काम दश मिनेटमा होस् । 

कसैले ऋणको लागि आवेदन दिएको दश दिनमा पाइरहेको छ भने त्यो एक दिनमा आओस् । पैसा भुक्तानी गर्नु पर्यो भने बैंकमा आएर फर्म भर्नुपर्ने बाध्यता हटोस् भन्ने हो । 

यसले अहिले भइरहेको व्यवसायलाई यही म्यानपावरमा कैयन गुणा बढाउन सकिन्छ । धेरै कारोबार हुदा बित्तिकै लागत खर्च कम हुन्छ । यसले गर्दा ग्राहकले अझ धेरै प्रतिफल पाउन सक्छन् । 

यसको सबैभन्दा महत्वपूर्ण पक्ष ग्राहकको समय बचाउने हो । एउटा उदाहरण, पहिला एटीएमको पिन बिर्सनु भयो वा कार्ड हरायो भने बैंकमा आएर निवेदन दिएर नयाँ पिन लिएर चलाउनु पथ्र्यो। 

डिजिटल बैंकको मुख्य उद्देश्य नै कार्यक्षमता बढाउने हो । जस्तो कि अहिले एउटा खाता खोल्नको लागि अहिले २ घण्टा लाग्छ डिजिटल च्यानलबाट त्यो काम दश मिनेटमा होस् । 

बाहिर यस्तो भयो भने अझ शाखमा निवेदन दिने, शाखाले केन्द्रलाई भन्ने र केन्द्रबाट नयाँ पिन बनाउने काम हुन्थ्यो । अहिले नबिल बैंकको कुनै पनि एटिएममा गएर आफैले पिन क्रियट गर्न सक्नुहुन्छ । ओटीपी कोड आउँछ, आफै भेरिफाइ गरेपछि नयाँ पिनकोड तयार हुन्छ । 

हामीले एक महिना लाग्ने काम दिनमा, दिनको काम घण्टा र घण्टाको कामलाई केही मिनेटमा झार्ने हाम्रो उद्देश्य हो । समय बचाउने र लागत घटाउने भन्ने हाम्रो उद्देश्य हो । 

अर्कोतिर डिजिटल कारोबारले जागिरको अवसर घटाउँछ भन्ने पनि छ नी ?

यसले म्यानपावर नै घट्छ भन्नेमा मलाई विश्वास छैन । जागिर घट्नेभन्दा पनि हामीले खासगरी ‘इफिसेन्सी’ बढाउन खोजेको हो । 

नेपाल सरकारले डिजिटल नेपाल कार्यक्रम अगाडि सारेको छ । बैंकलगायत अन्य क्षेत्रमा पनि डिजिटलाइजेसका काम भइरहेका छन् । समग्र मुलुकको डिजिटाइजेसनलाई कसरी लिनु भएको छ ?

बैंकको क्षेत्रमा हामीले डिजिटाइजेसनको काम गरिरहेका छौं । यसमा सरकारको पनि सहयोग चाहिने हुन्छ । 

ग्राहकको ‘आइडी भेरिफिकेसन’को लागि केही काम गर्नुपर्ने छ । अहिले नागरिकता वा अन्य कार्डमा भर पर्नु परिरहेको छ । सरकारको पहलमा अनलाइन भेरिफिकेसन गर्न सकियो भने बैंकको ‘इफिसेन्सी’ बढ्छ । 

अर्को कुरा डिजिटल च्यानल चलाउन प्रयोगकर्तालाई सजिलोसँग इन्टरनेट उपलब्ध हुनुपर्छ । इन्टरनेट नै भएन भने इन्टरनेट वा मोबाइल  बैंकिङको के काम !

पूर्वाधार निर्माणमा सहयोेग गर्ने, व्यान्डविथ बढाउने र मूल्य घटाएर ग्राहकलाई सुविधा दिने हो भने यो अझ बढी विस्तार हुन्छ । यसले समग्र देश कै डिजिटाइजेसनमा सहयोग हुन्छ । 

बैंक भनेको त्यसको एक सानो पाटो हो । अन्य सिस्टमसँग पनि बैंक ‘इन्टिग्रेट’ भएर जानु पर्छ भन्ने हाम्रो चाहना हो। 

इन्टरनेटको असुविधाले गर्दा बैंकहरुलाई ग्रामिण क्षेत्रमा जानलाई गाह्रो छ?

हो, गाउँमा कनेक्टिभिटी, डिजिटल साक्षरता र चेतनाको अभाव छ । त्यसलाई विस्तारै सम्बोधन गर्दै जानुपर्छ ।

अझै पनि मान्छेले डिजिटल कारोबारलाई विश्वास गर्न सकेका छैनन् । यसमा धेरै भूमिका हाम्रो नै हुन्छ । वित्तीय साक्षरता, डिजिटल साक्षरता, ग्राहकको शिक्षाको कुरामा हामीले अलिकति मेहनत गर्नुपर्ने हुन्छ । 

अर्को, डिजिटल पार्टलाई विश्वाशिलो बनाउनको लागि ‘फेलियर’लाई घटाउने, उहाँहरुलाई रियल टाइममा कारोबार गर्न दिने र कनेक्टिभिटी राम्रो बनाउनु पर्छ ।
हामीले इन्टरनेट र मोबाइल बैंकिङ भन्ने तर ग्राहकले दुई तीन पटक कोसिस गर्दा पनि काम हुन सकेन भने विश्वास गर्न सकिदैन । 

त्यसैले पूर्वाधार र जनचेतनालाई सँगसँगै लैजान सकियो भने चुनौतिलाई सामान गर्न सकिन्छ । 

कोरोना संक्रमणको यो विषम परिस्थितिमा बैंक कसरी संचालन भइरहेको छ ?

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट बैंकहरु सञ्चालन सम्बन्धि निर्देशनहरु जारी गरिएका छन् । डब्लुएचओ, सीडीसीले पनि हेल्थ प्रोटोकल तोकेका छन् । 

यि सबै निर्देशन, प्रोटोकलको पूर्ण पालना गर्दै हामीले बैंक संचालन गरिरहेका छौं । 
राष्ट्र बैंकले काठमाडौ उपत्यकामा ६ वटा मात्र शाखा पालैपालो खोल्ने भनेको छ । त्यस्तै, बढीमा २० प्रतिशतमात्र स्टाफ राखेर हेड अफिस चलाउने भनेको छ । 

२० प्रतिशतले कसरी काम हुन्छ भनेर सोध्नुहोला । हो यो भनेको पनि एक डिजिटाइजेसनको पार्ट हो । हामीले आन्तरिक रुपमा काम गर्ने प्रणाली विकास गरेका छौं । अफिसबाट स्टाफले जे जति काम गर्न सक्छन्, त्यो घरबाट पनि पूर्ण सुरक्षाका साथ गर्न सक्ने व्यवस्था मिलाएका छौं । 

बैंक अपरेसनको समयमा पनि स्वास्थ्य सेवा मापदण्ड पालना गर्छौं । हरेक शाखाको ढोका सेनिटाइजेसन, तापक्रम नाप्ने, मास्क नलगाई ग्राहकलाई छिर्न नदिने व्यवस्था मिलाएका छौं । 

बैंक भित्र पनि सामाजिक दूरी कायम गरेर सेवा संचालन गरिरहेका छौं । भोलिका दिनमा ‘कन्ट्रयाक ट्रेसिङ’ गर्न पर्यो भने सजिलो होस् भनेर ग्राहकको नाम, ठेगाना पनि टिप्ने गरेका छौं ।

 

सम्बन्धित समाचार