कीवर्डहरू -

प्राधिकरण भन्छ– व्यक्तिगत रुपमा विदेशबाट ल्याएका मोबाइल तत्काल बन्द हुदैनन् 

प्राधिकरण भन्छ– व्यक्तिगत रुपमा विदेशबाट ल्याएका मोबाइल तत्काल बन्द हुदैनन् 

नेपाल दूरसञ्चार प्राधिकरणले व्यक्तिगत रुपमा विदेशबाट ल्याइएका र आईएमईआई नम्बर दर्ता नभएको मोबाइल तत्काल बन्द नगर्ने भएको छ ।

प्राधिकरणले आइएमईआई नम्बर दर्ता नभएका मोबाइल बन्द गर्ने गरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्न लागेको भए पनि तत्कालको लागि विदेशबाट ल्याएर चलाएका त्यस्ता मोबाइल बन्द नगर्ने स्पष्ट पारेको छ ।

हाल प्राधिकरणको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएकाले तत्कालको लागि दर्ता नभएका ति मोबाइल सञ्चालनमा कुनै अवरोध नगर्ने भएको हो । साथै, उक्त प्रणाली सुचारु भएपछि दर्ता गर्नको लागि थप समय उपलब्ध गराउने जनाएको छ ।

‘व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरुद्ध आईएमईआई दर्ता प्रणाली सुचारु भएपछि थप उचित समय प्रदान गरी आइएमईआई दर्ता गर्ने प्रबन्ध मिलाइने,’ प्राधिकरणको सूचनामा भनिएको छ, ‘हाल अवरुद्ध आईएमईआई दर्ता प्रणालीका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी छ ।’

साथै प्राधिकरणले हाल केही उपभोक्तमा नेपाल मै किनेका मोबाइल पनि आईएमईआई दर्ता गर्नुपर्ने हो कि भन्ने भ्रममा रहेको भन्दै व्यवसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा किनेर प्रयोगमा रहेका मोबाइल सेटका हकमा ग्राहकले हाल पूनः आईएमईआई दर्ता गर्नु नपर्ने जनाएको छ ।

धेरै मोबाइलमा ग्राहकहरु प्रयोगमा रहेका आफ्नो सेटको आइएमईआई दर्ता गर्नुपर्ने हो कि भनी भ्रम तथा अन्योल उत्पन्न भई प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको तथा प्राधिकरणको वेबसाइटमा उपलब्ध लिंक https://eir.nta.gov.np/main/individual मा दर्ता प्रक्रियामा अवरोध भएको र प्राधिकरण उक्त प्रणाली शिघ्र सुचारु गर्न प्रयासरत रहेको जनाएको छ । साथै, उसले उक्त प्रणाली सुचारु हुन केही समय लाग्ने जनाएको छ ।

प्राधिकरणले नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमईआई दर्ता भएका मोबाइल सेट खरिद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिई खरिद गरी आवश्यक झन्झट एवं अन्योलबाट मुक्त हुन सबैलाई अनुरोधसमेत गरेको छ ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी यसलाई थप व्यवस्थित गर्ने प्रायोजनका लागि नेपालमा मोबाइल सेटको आयात गर्नु पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृति (दाइप एप्रुभल) गर्नु पर्ने तथा आइएमईआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । उक्त कार्य मोबाइल आयातकर्ताले नै आयात गर्र्ने बेलामा भन्सार र प्राधिकरण गरेका हुनेले उपभोक्ताले पुनः दर्ता गर्नु पर्दैन ।