कीवर्डहरू -

दूरसञ्चार सामग्रीको खपत उच्च, एक वर्षमा भित्रिए ४७ अर्बका उपकरण

दूरसञ्चार सामग्रीको खपत उच्च, एक वर्षमा भित्रिए ४७ अर्बका उपकरण

मुलुकमा दूरसञ्चार सामग्रीको खपतमा उच्च वृद्धि भएको छ । दूरसञ्चार सेवा र यसमा नयाँ प्रविधिको विस्तारसँगै नेपालमा पनि यस्ता सामग्रीको खपत उच्च भएको हो ।

नेपालमा गत वर्षमात्रै झन्डै ४७ अर्ब रुपैयाँ बराबरका दूरसञ्चार सामग्रीको आयात भएको देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा ६७.३ प्रतिशतले बढी हो ।

भन्सार विभागको आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार नेपालमा ४६ अर्ब ७० करोड ५२ लाख ८७ हजार रुपैयाँ बराबरको दूरसञ्चार सामग्री र यसका पार्टस्हरुको आयात भएको छ ।

अघिल्लो वर्ष २०७६/७७ मा मुलुकमा २७ अर्ब ९१ करोड २४ लाख ५३ हजार रुपैयाँ बराबरका दूरसञ्चार सामग्री आयात भएको थिए।

गत वर्ष धेरै आयात वृद्धि हुने वस्तुमा दूरसञ्चार सामग्री तेस्रो स्थानमा परेको छ । कच्चा स्वायविनको तेल १८५ प्रतिशत र सुन १०१ प्रतिशतले आयात वृद्धि भएको छ ।

त्यसपछि धेरै आयात हुनेमा दूरसञ्चार सामग्री परेका छन् । कुल आयातमा दूरसञ्चार सामग्रीको हिस्सा ३ प्रतिशत रहेको छ ।
दूरसञ्चार सामग्रीमा टेलिकम कम्पनीहरुले प्रयोग गर्ने उपकरणहरु, इन्टरनेटसँग सम्बन्धित उपकरणहरुलगायतका सामग्रीहरु पर्छ।

मुलुकमा सञ्चालनमा रहेका तीनवटा टेलिकम कम्पनीहरु नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलले आफ्नो नेटवर्क विस्तार र अपग्रेड गरिरहेका छन् । नेपाल टेलिकमले पछिल्लो समय फोरजी विस्तारलाई तीव्रता दिएको छ । यसको लागि विटिएस टावर निर्मणमा र अपग्रेडको काम गरिहरको छ ।

त्यस्तै, टेलिकमले फाइभजी परीक्षण गर्ने भनेर तयारी गरिरहेको छ । यसको लागि चाहिने आवश्यक सामग्रीहरुमा आयात गर्ने र जडान गर्ने गरिरहेको छ ।

त्यस्तै, निजी क्षेत्रको अग्रणी मोबाइल कम्पनी एनसेलले पनि नेटवर्क विस्तार र अपग्रेडको काम गरिरहेको छ । एनसेलले एक वर्षमा २ सय ६९ वटा बिटिएस टावर थपेको छ । उसले थ्रिजी र फोरजीका उक्त टावरहरु निर्माण गरेको हो ।

त्यसैगरी, नेपालमा इन्टरनेट कम्पनी, डिजिटल टेलिभिजनले आफ्नो नेटवर्क विस्तारलाई तीव्रता दिएका छन् । फाइबर, तारहरु, राउटर, जस्ता सामानको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ ।