कीवर्डहरू -

११६६ के हो ? किन फोन गर्ने ? 

११६६ के हो ? किन फोन गर्ने ? 

११६६ आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन हो । यो नम्बर आत्महत्या वा आत्महानीको सोच आइरहेका व्यक्तिहरूलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टिपीओ नेपालद्वारा सञ्चालन गरिएको निःशुल्क हेल्पलाइन हो ।

कहिले फोन गर्दा हुन्छ ?

तपाईलाई जहिले मनमा गाह्रो महशुस हुन्छ, तनाव हुन्छ, आफैलाई हानि पुर्‍याउन वा दुख दिन मन लाग्छ त्यति नै बेला फोन गर्न सक्नुहुन्छ । तालिम प्राप्त मनोपरामर्शदाताले तपाईलाई त्यस्तो सोचबाट बाहिर आउन मद्दत गर्न सक्दछन् ।

क-कसले फोन गर्न सक्छन् ?

जो कसैलाई मनमा गाह्रो भइरहेको छ, तनाव सामना गर्न गाह्रो भएको छ र आफैलाई हानी पुर्‍याउने वा दुख दिन मन लागेको छ । उहाँहरूले यो नम्बरमा फोन गर्न सक्नुहुन्छ ।

मैले फोन गर्दा भनेका कुरा सबैलाई थाहा हुन्छ की ?

यो फोनमा गरेका कुराहरू गोप्य हुन्छन् । तपाईले निर्धक्कसँग आफ्नो कुरा राख्नसक्नुहुन्छ ।

किन फोन गर्ने ?

आफ्नो मनमा भएको तनावको बारेमा कुरा गरेर मन हल्का बनाउन, आफ्नो सहयोगी सञ्जाल पत्ता लगाउन, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सम्बन्धि उपलब्ध सहयोगको बारेमा थाहा पाउन यो नम्बरमा फोन गर्नुपर्दछ ।

साथै सबैभन्दा महत्वपूर्ण कुरा आत्महत्या तथा आत्महानीको सोच आउनु भनेको आफैमा एउटा समस्या भएको कारण यो समस्याको बारेमा कुराकानी गर्न र यस्तो सोचबाट बाहिर आउनको लागि फोन मार्फत सेवा लिन सकिन्छ ।

मैले आत्महत्याको रोकथाममा कसरी सहयोग पुर्‍याउन सक्छु ?
आत्महत्या रोकथाममा हामी सबैको जिम्मेवारी छ । हामी सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्यौ भने आत्महत्या रोकथाम गर्न सकिन्छ ।

तपाई आफुलाई, आफ्ना नजिकका साथीभाई वा नातेदारमा आत्महत्याको जोखिम देख्नुभयो भने नआत्तिनुहोस् तर संवेदनशील हुनुहोस् र तुरून्तै नजिकको मनोचिकित्सक वा मनोपरामर्शदातासँग सम्पर्क राख्नुहोस् ।

आत्महत्याको तयारी पनि गरेको अवस्था भए आत्महत्या गर्ने साधनलाई नभेट्ने ठाउँमा राख्नुहोस् । सँगै रहनुहोस् उहाँको कुरा ध्यान दिएर सुन्नुहोस् । उहाँलाई हामी सँगै छौं भन्ने कुरा दोहोर्‍याउनुहोस् र ११६६ हेल्पलाइन मार्फत सहयोग लिनुहोस् ।