कीवर्डहरू -

मोबाइल बैंकिङबाट अब प्रतिदिन २ लाख रूपैयाँ सम्म कारोबार गर्न सकिने, वालेटबाट कति ? 

मोबाइल बैंकिङबाट अब प्रतिदिन २ लाख रूपैयाँ सम्म कारोबार गर्न सकिने, वालेटबाट कति ? 

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत भुक्तानी प्रणाली सम्बन्धि निर्देशिका जारी गर्दै मोबाइल बैंकिङबाट हुने प्रतिदिन भुक्तानीको सीमा बढाएको हो ।

अब मोबाइल बैकिङ (क्युआर कोड समेत) बाट प्रतिदिन २ लाख रूपैयाँसम्म कारोबार गर्न सकिने छ । इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख रूपैयाँसम्म कारोबार गर्न सकिने छ । यसअघि मोबाइल बैंकिङबाट दिनको १ लाख रूपैयाँ कारोबार गर्न सकिने व्यवस्था रहेको थियो ।

त्यस्तै बैंक खाताबाट वालेटमा प्रतिकारोबार ५० हजार, प्रतिदिन १ लाख र प्रतिमहिना १० लाख रूपैयाँसम्म कारोबार गर्न सकिने छ । वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार ५० हजार, प्रतिदिन १ लाख र प्रतिमहिना १० लाख सम्म कारोबार गर्न सकिने छ ।

त्यसैगरी एक वालेटबाट अर्को वालेटमा प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने छ ।

त्यस्तै वालेटमा ५० हजार रूपैयाँ सम्म मात्र मौज्दात ओभरनाइट ब्यालेन्स राख्न पाइने छ । वालेटबाट वालेट बाहकको बैंक खातामा रकमान्तर गर्न कुनै सीमा नलाग्ने पनि राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत् गरिने राजस्व भुक्तानीमा सम्बन्धित सेवा प्रदायकले तीन हजार रुपैयाँसम्म प्रति कारोबार अधिकतम सेवा शुल्क पाँच रुपैयाँ तोकेको छ ।

३ हजारदेखि १० हजारसम्म कारोबार गर्दा प्रति कारोबार अधिकतम १० रूपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्दा प्रति कारोबार अधिकतम २० रूपैयाँ सेवा शुल्क लिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाइल बैंकिङ मार्फत् विद्युतीय रकमान्तर इन्टर बैक फन्ड ट्रान्सफर (आइबीटीएफ) गर्दा ५० हजार रुपैयाँसम्ममा प्रति कारोबार अधिकतम सेवा शुल्क १० रुपैयाँ लिन सक्ने छन् ।

त्यस्तै ५० हजारदेखि १ लाख सम्म कारोबार गर्दा प्रतिकारोबार २० रूपैयाँ र १ लाखभन्दा माथि कारोबार गर्दा प्रति कारोबार ३० रूपैयाँ सम्म अधिकतम सेवा शुल्क लिन सकिने व्यवस्था गरिएको छ ।