मंगलबार, ९ कार्तिक, २०७८
Tuesday, 26 October, 2021

काठमाडौं उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, न्यूनतम ९९ रुपैयाँमै चढ्न पाइने

काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु भएको छ।

मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुविधा सहित शुरु भएको हो।

मेट्रो अनलाइन ट्याक्सीबाट सेवाग्राहीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसका लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ।

मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु आवद्ध भएको छन् । यसले नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको कम्पनीको दावी छ ।

यसैबीच मेट्रो अनलाइन ट्याक्सीले आज बुधबार ट्याक्सी चालकहरुका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकहरुलाई प्रदान गर्ने सेवाको बारेमा अभिमूखीकरण तालिम पनि सञ्चालन गरेको छ।

तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरीका, ग्राहकहरुसँग गरिने व्यवहार लगायतका विषयहरुमा ट्याक्सी चालकहरुलाई तालिम प्रदान गरिएको छ।

सो तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङ्गले जानकारी दिए ।

यस्तो तालिम मासिकरुपमा विभिन्न क्षेत्र र स्थानहरुमा गरिने योजना रहेको उनले बताए । मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरुसँगको सहकार्यमा ट्याक्सीहरुलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरुको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको बताएको छ।

मेट्रो अनलाइन ट्याक्सीमा यात्रुहरुले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा उपयोग गर्नसक्ने कम्पनीका प्रशासनिक प्रमुख रविन्द्र भुपाल प्रधानले जानकारी दिए ।

‘हामीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिनेछौं । यसमा न्यूनतम ९९ रुपैयाँमा नै यात्रुले ट्याक्सी चढ्न सक्नेछन्,‘ प्रशासनिक प्रमुख प्रधानले भने।

आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीहरुलाई सहभागी गराउने र सेवा क्षेत्र बिस्तार गर्ने योजना रहेको उनले बताए ।

मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुहरुले एपमा रजिस्टर गरेर मात्र सेवा लिँदा सुरक्षित हुने र यात्रा भरपर्दो बनाउन सकिने कम्पनीले जनाएको छ । यसले आगामी दिनमा सेवा सुधारमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

ट्याक्सी स्ट्याण्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिस्टर गराई मात्र सेवा दिनेछन् । यसले गर्दा यात्रु र चालक दुबै सुरक्षित हुनसक्ने कम्पनीले बताएको छ । 

 

सम्बन्धित समाचार