कीवर्डहरू -

नेपाली उत्पादन विश्वभर पुर्‍याउँदै एक्सपोर्ट फ्रम नेपाल डटकम, व्यापार घाटा कम गर्ने लक्ष्य

नेपाली उत्पादन विश्वभर पुर्‍याउँदै एक्सपोर्ट फ्रम नेपाल डटकम, व्यापार घाटा कम गर्ने लक्ष्य

के तपाई विदेशमा बस्नु हुन्छ र तपाईलाई नेपालमा बनेको सामान आवश्यक परेको छ ? यदी त्यसो हो भने तपाईको समस्या समाधान गर्नेछ ई-कमर्श कम्पनी ‘ एक्सपोर्ट फ्रम नेपाल डटकम ’ ले ।

एक्सपोर्ट फ्रम नेपाल डटकमबाट आफुलाई चाहिएको नेपाली सामान अर्डर गरेर आफु बसेको देशमै सामान पाउन सकिन्छ । एक्सपोर्ट फ्रम नेपाल सन् २०२० मा स्थापना भएको कम्पनी हो ।

नेपालको व्यापार घाटालाई कम गर्ने लक्ष्यसहित एक्सपोर्ट फ्रम नेपाल स्थापना भएको कम्पनीकी निर्देशक प्रशन्सा सिजापतिले बताइन् ।

‘हामी आयात धेरै गर्छौं । निर्यात कम गर्छौं । जसका कारण विभिन्न देशसँग हाम्रो व्यापार घाटा हुन्छ,’ उनले आइसिटी समाचारसँग भनिन्, ‘त्यसलाई कम गर्ने उद्देश्यसहित एक्सपोर्ट फ्रम नेपाल सञ्चालनमा आएको हो ।’

उनका अनुसार नेपाली सामान विदेशमा चिनाउने उद्देश्य पनि रहेको छ । कम्पनीले अहिलेसम्म २० भन्दा बढी देशमा सामान पठाइसकेको छ । एक्सपोर्ट फ्रम नेपाल डटकममा गएर आफुलाई आवश्यक भएको नेपाली सामान अर्डर गर्न सकिन्छ ।

सामानको तौल अनुसार शिपिङ शुल्क लाग्ने सिजापतिको भनाइ छ । कम्पनीले अर्डर आएको एकहप्तामा विश्वको जुनसुकै देशमा पनि सामान डेलिभरी गरिसक्ने जनाएको छ ।  शिपिङका लागि कम्पनीले विभिन्न कम्पनीसँग सहकार्य गरेको छ । शिपिङ गर्ने कम्पनीले वेबसाइटमा शिपिङ शुल्क राखेको कम्पनीले बताएको छ ।

\"\" एक्सपोर्ट फ्रम नेपाल प्रालिले विदेशमा मात्रै नभएर नेपालमा पनि नेपाली उत्पादन ग्राहकको घरमा पुर्‍याइरहेको छ । जसका लागि ई-कमर्श प्लेटफर्म ‘हाम्रो सामान डटकम’ पनि विकास गरिएको छ । नेपालभर शिपिङ मार्फत सामान डेलिभरी हुनेछ

शिपिङबाट सामान पठाउँदा तौल अनुसार शुल्क लाग्ने छ । त्यस्तै काठमाडौं उपत्यकामा कम्पनीले ग्राहकको माग अनुसार सामान डेलिभरी गर्ने जनाएको छ । जसको शुरूवाती शुल्क ८० रूपैयाँ तोकिएको छ ।

हाम्रो सामानबाट विदेशमा बस्ने नेपालीले नेपालका आफ्ना आफन्त तथा साथीभाईलाई पनि नेपाली उत्पादन गिफ्ट गर्न सक्ने सिजापति बताउँछिन् ।

‘अरू देशको भर नपरौं । जे उत्पादन गर्न सकिन्छ नेपालमै गरौं । उत्पादन गरेको सामान सातै प्रदेशमा बेचौं,’ उनी भन्छिन्, ‘पाल्पाको ढाका टोपी हुम्लाको मान्छेले लगाउनु पर्छ । जनकपुरमा बन्ने मिथिला आर्ट काठमाडौंमा विक्री हुनुपर्छ ।’

प्लेटफर्ममा ५ हजार बढी नेपाली सामानहरू राखिएको छ । यसमा ३५० भन्दा बढी विक्रेताहरू आवद्ध भएका छन् । यसबाट ह्यान्डिक्राफ्ट, बेबी प्रडक्ट, ब्युउटी प्रडक्ट,ज्वेलरी, शुज, ब्याग, थांका, म्युजिकल इन्स्ट्रुमेन्ट, गिफ्ट बक्स, लोक्ता पेपर, औषधि, टेक्सटाइल लगायत २० भन्दा बढी विधाका सामानहरू खरिद गर्न सकिन्छ । सामान खरिद गर्दा पेपाल, स्ट्राइप, बैंक ट्रान्सफर र खल्तीबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।