कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप (भिडिओ)

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप (भिडिओ)

एफ्वान सफ्ट आइसिटी अवार्ड २०२१ को स्टार्टअप विधा अन्तर्गत उत्कृष्ट ५ स्टार्टअप कम्पनी गत कार्तिक १० गते  घोषणा गरिएको थियो ।

विभिन्न चरणको छनोट पश्चात जुरी समितिले ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ का लागि उत्कृष्ट ५ स्टार्टअप कम्पनीको घोषणा गरेको थियो ।

स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।

यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । जस अनुसार यस वर्षको स्टार्टअप विधामा ५० बढीको नोमिनेसन प्राप्त भएको थियो ।

यस्ता छन् उत्कृष्ट ५ स्टार्टअप कम्पनी

डुलुवा एक्सपेडिसन प्रा.लि.

सन् २०१९ मा स्थापना भएको डुलुवा एक्सपेडिसन प्राइभेट लिमिटेड एक सामाजिक यात्रा उद्यम र एक डिजिटल प्लेटफर्म (निर्माणाधीन) हो, जसले ट्राभल एजेन्सीहरू र गतिविधि सञ्चालकहरूलाई आफ्नो प्याकेजहरू अन्तर्राष्ट्रिय बजारमा बेच्न र नेपालको पर्यटन उद्योगको डिजिटल उपस्थितिलाई प्रवर्द्धन गर्दछ ।

यसको मुख्य उद्देश्य नेपालको प्रकृति, समुदाय, संस्कृति र खानाको प्रवर्द्धन गर्नु हो । डुलुवा डटकमले क्षमता निर्माण कम्पनीको रूपमा काम गर्ने र सन् २०२५ सम्ममा नेपालमा ट्राभल समाधानका लागि ‘वन स्टप सोलुसन’ बन्ने लक्ष्य राखेको छ ।

कम्पनी दिगो पर्यटन अभ्यासहरूमा केन्द्रित छ भने विभिन्न पर्यटन सम्बन्धी अनुसन्धानहरू, पर्यटनसँग सम्बन्धित स्थानीय रोजगारी तालिम आदि सञ्चालन गर्दै आएको छ ।

डुलुवा डटकम सबैभन्दा नवीन, स्केलेबल, र दिगो व्यापारका लागि यूथ ल्याब ३.० र चौथो राष्ट्रिय सामाजिक व्यवसाय च्यालेञ्जको विजेता पनि बनिसकेको छ ।

डुलुवाले स्थानीय जनताको हैसियतलाई स्तरोन्नति गर्न र युवाहरूलाई नेपाल फर्कन प्रेरित गर्न पर्यटनसँग सम्बन्धित रोजगारी सिर्जना गर्ने प्रयास गरिरहेको छ । संस्थापक निपुण शाक्यसँगै कम्पनीमा ६ जना सदस्य रहेका छन् ।

हाउस अफ बुक्स प्रा.लि.

हाउस अफ बुक्स सन् २०२० मा युवा समूहद्वारा स्थापित भएको कम्पनी हो । हाउस अफ बुक्सबाट आफुलाई आवश्यक पुस्तकहरू खरिद गर्न सकिन्छ ।

यसले उपन्यास, कथा, नाटक, एक्शन र यात्रा, रोमान्स, सेल्फ-हेल्प, स्वास्थ्य, गाइड र यात्रा, बालबालिका, धर्म, अध्यात्म, नयाँ युग लगायतका किताबहरू विक्री गर्दै आएको छ ।

हाउस अफ बुक्ससँग विश्वभरि ढुवानीका साथ उचित मूल्यमा ई-पुस्तकहरू रहेको छ । यसबाट सेकेन्ड-ह्यान्ड बुक पनि खरिद गर्न सकिन्छ । यसले गर्दा शिक्षाको लागि उच्च गुणस्तर र कम लागतमा पुस्तकहरू पाइने तथा दिगोपन र हरित व्यापार प्रवर्द्धन गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ ।

हाउस अफ बुक्समा १००० भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् । कम्पनीले ‘शिक्षा प्रगतिशील, शिक्षित नेपाल’ नामक पहल मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पमनि काम गर्दै आएको छ ।

खेती भेन्चर प्रा.लि

खेती भेन्चर नेपालको कृषि-खाद्य-टेक इकोसिस्टम र अन्य विकासोन्मुख अर्थतन्त्रहरूमा अग्रणी परिवर्तन निर्माता बनेर दिगो खाद्य प्रणालीमा योगदान पुर्‍याउने लक्ष्यका साथ स्थापना भएको कम्पनी हो ।

खेती भेन्चरको खेती फुड डटकमबाट अनलाइन फलफुल तथा फुड अर्डर गर्न सकिन्छ । कम्पनीले खेती फार्म एप पनि सञ्चालनमा ल्याएको छ ।

जसले बीउ, मल, कीट जाल, आदि जस्ता कृषि इनपुट आपूर्तिहरूको ट्रयाक गर्ने र पारदर्शी मूल्य निर्धारण गर्ने गर्दछ । हाल काठमाडौं र पोखरामा सेवा दिइरहेको कम्पनीले ३० जनाभन्दा बढीलाई रोजगारी दिएको छ ।

निर्माण साथी टेक्नोभेसन प्रा. लि.

निर्माण साथी नेपालमा सबैभन्दा छिटो बढिरहेको स्टार्टअपको रूपमा चिनिन्छ । कम्पनीले मुख्य गरी सिपेज उपचार र आन्तरिक डिजाइन सेवा दिदै आएको छ  ।

यसका साथै निर्माण साथीले आर्किटेक्ट, इन्जिनियर, प्लम्बरदेखि चित्रकार र इन्टेरियर डिजाइनरसम्मका सेवाहरू पनि प्रदान गर्दछ ।

निर्माण साथीले सेवाहरू खोज्ने मानिसहरू र आफ्नो सेवा दिन तयार भएका प्रोफेसनलका लागि काम गर्दछ । निर्माण साथीले हालसम्म पाँचवटा अवार्ड जितिसकेको छ भने १० हजार भन्दा बढी ग्राहकहरू छन् ।

उनीहरूले अन्य धेरै शहरहरूमा पनि आफ्नो सेवा विस्तार गरिरहेका छन् । कम्पनीले अस्ट्रेलियामा पनि सेवा दिने योजना बनाएको छ ।

पुर्‍याउ सर्भिसेज प्रा.लि.

पुर्याउ सेवा नेपालको एक लोजिस्टिक कम्पनी हो ।  कम्पनीले देशभर आफ्नो नेटवर्क स्थापना गरेको छ ।  कम्पनीले कुनै पनि व्यक्ति वा व्यवसायलाई लोजिस्टि सेवा दिने गर्दछ ।

कम्पनीले १०० भन्दा बढि शाखा खोल्ने, २५० बढी उपशाखा खोल्ने, १० करोड राजस्व आर्जन गर्ने, ३०० बढी मानिसहरूलाईरोजगारी दिने र ई-कमर्स तथा बिक्री प्लेटफर्मको विकास गर्ने लक्ष्य राखेको छ ।