कीवर्डहरू -

के हो बिटकोइन ? कसरी हुन्छ कारोबार ?

के हो बिटकोइन ? कसरी हुन्छ कारोबार ?

पछिल्लो समय बिटकोइनले बजार तताएको छ । केही समयदेखि यसको मूल्यमा उछाल आएको छ । आज मात्रै यो लेख तयार पार्दा सम्म १ बिटकोइनको मूल्य ६८ लाख नेपाली रूपैयाँ छ ।

तपाईलाई सुन्दा अचम्म लाग्छ होला, आजभन्दा १० वर्ष अगाडि बिटकोइनको मूल्य शुन्य थियो । तर आज लाखौंमा कारोबार भइरहेको छ । नेपालको सन्दर्भमा क्रिप्टोकरेन्सीहरुको कारोबार अवैध छ । सन २००८, अक्टोबर ३१ मा ईन्टरनेटमा सातोशी नाकामोटोको नामबाट एउटा पेपर प्रकाशित भएको थियो । जसमा लेखिएको थियो, ‘इलेक्ट्रोनिक नगदको एउटा संस्करण जसले भुक्तानीहरू सिधै एक पक्षबाट अर्को वित्तीय संस्थाको माध्यमबाट नगएर पठाउन अनुमति दिन्छ ।’

मतलब, कुनै तेस्रो संस्था वा बैंक बिना कुनै दुई व्यक्ति बिच इलेक्ट्रोनिक रूपमा कारोबार हुने प्रणाली हो, त्यो पनि बिना कुनै अवरोध । सामान्य भाषामा भन्नुपर्दा बिटकोइन एउटा क्रिप्टो मुद्रा हो जसलाई डिजिटल सम्पत्तिको रूपमा हेर्न सकिन्छ । यसमा केन्द्रीय बैंक अथवा वित्तीय संस्थाहरुको कुनै नियन्त्रण हुँदैन । त्यो समय क्रिप्टो मुद्रा केबल एउटा अवधारणा मात्रै थियो ।

यो क्रिप्टो मुद्रा भनेको के हो ? क्रिप्टो मुद्रा बुझ्नुभन्दा सुरुमा क्रिप्टोग्राफीलाई बुझ्नु पर्छ । क्रिप्टोग्राफी कुनै पनि डाटालाई स्टोर र प्रसारण गर्ने एउटा तरिका हो, जसमा जसलाई चहिएको हो, उसैले मात्रै बुझ्ने र पढ्न सक्छ । यसैमा आधारित क्रिप्टोकरेन्सी एक डिजिटल मुद्रा हो, जसलाई क्रिप्टोग्राफीद्वारा सुरक्षित गरिएको हुन्छ । क्रिप्टोकरेन्सीको प्रयोग भनेको फिएट पैसाको प्रयोग जस्तै हो ।

\"\"

प्राय धेरै क्रिप्टोकरेन्सीहरु ब्लक-चेन प्रविधिमा आधारित हुन्छन् । सातोशी नाकामोटोले बिटकोइनलाई वैकल्पिक वित्तीय प्रणालीको रूपमा कल्पना गरेका थिए, जुन सफ्टवेयर प्रविधिमा आधारित भएर तेस्रो संस्थाहरुको नियन्त्रणबाट बाहिर हुने थियो । आजसम्म आइपुग्दा करिब दुई हजार भन्दा बढी क्रिप्टोकरेन्सीहरु ईन्टरनेटमा उपलब्ध छन् ।

कसरी काम गर्छ क्रिप्टोग्राफी ?

क्रिप्टो प्रविधि कसरी काम गर्छ भनेर बुझ्न वा पुरै सम्झिन एक्दमै उन्नत कम्प्युटर विज्ञान र गणितको ज्ञान चाहिन्छ तर यसलाई हामी सरल तरिकाबाट बुझाउन कोसिस गर्दैछौं । सबै बिटकोइन लेनदेनहरुको एक सार्वजनिक खाता हुन्छ, जसलाई लेजर भनिन्छ ।

मानौ, जो कोही पनि यदी यस बिटकोइन नेटवर्कको सदस्य छ भने त्यस खाताको प्रतिलिपि तिनिहरु हरेकको प्रणालीमा हुन्छ र जसले यो प्रणाली चलाउछन् । जसलाई हामी ‘माइनर्स’ भन्छौं । यी माइनर्सहरूले लेनदेनलाई प्रमाण गर्ने काम गर्दछन् ।

उदाहरणको रूपमा कुनै एउटा पहिलो व्यक्ति नेपालमा छ र अर्को दोस्रो व्यक्ति अष्ट्रेलियामा छ । अब यदी दोस्रो व्यक्तिलाई नेपालमा अष्ट्रेलियन डलर पठाउनु छ भने के उसले डाइरेक्ट पहिलो व्यक्तिलाई पठाउन सक्छ त ? सक्दैन ।

किनभने उ पहिले बैंकमा जानुपर्दछ र त्यो डलरलाई नेपाली रुपैयाँमा परिवर्तन गर्नुपर्दछ । यहाँ बैंकलाई तेस्रो पक्षको रूपमा हेर्न सक्छौ । र बैंकले प्रेषक र प्राप्तकर्ता प्रमाणित गरेपछी केही निश्चित रकम तिरेर मात्रै केही समय पछी पहिलो व्यक्तिले त्यो रकम पाउछ ।

तर कल्पना गर्नुहोस् त यदी हामीसँग कुनै डिजिटल मुद्रा भएको भए दोस्रो व्यक्तिले पहिलो व्यक्तिलाई अब प्रत्यक्ष त्यो रकम पठाउन सक्थ्यो । कुनै तेस्रो पक्ष बिना र यो नै क्रिप्टो मुद्राको उदाहरण हो ।

यही कुरामा यदी पहिलो व्यक्तिले दोस्रो व्यक्तिलाई ४ बिटकोइन पठाउन चाहियो भने, सर्वप्रथम त माइनरसले पहिलो व्यक्तिसँग आफ्नो खातामा साँच्चै ४ बिटकोइन छ कि छैन भनेर प्रमाणित गर्दछ । अनि कारोबार पुरा गर्नको लागि माइनर्सलाई एउटा जटिल गणितीय समीकरणलाई हल गर्नुपर्ने हुन्छ ।

हरेक बिटकोइन लेनदेनको युनिक भेरियबल हुन्छ । माइनर्सहरुले यही चरलाई पत्ता लगाउछन् । यी सब हिसाबहरु कम्प्युटरद्वारा हल गरिन्छ । त्यसैले यी माइनर्सहरुलाई उच्च क्षमताको कम्प्युटरहरु चाहिन्छ ।

क्रिप्टोकरेन्सीमा ब्लकचेनको प्रयोग

एक पटक यो समीकरण हल भएपछी नेटवर्कमा भएको अरु कम्प्युटरहरुले कारोबार प्रमाणित गर्नेछ र यसलाई एउटै चैनमा जोडी दिनेछ । यस्तै कारोबारहरूको एउटा ब्लक बन्छ र त्यसैले यो प्रविधिलाई ब्लक चेन भनिन्छ ।

एउटा भरिएको ब्लकको अन्तिम कारोबारलाई नयाँ ब्लकमा भएको पहिलो कारोबारले लिंक गरेको हुन्छ । ब्लकमा सम्पूर्ण कारोबारको जानकारी राखिएको हुन्छ । यसमा ह्यास दर र ह्यासिङ जस्तो अवधारणा आउछ ।

यसरी नै ब्लकहरु भरिदै जान्छन र यी सबै ब्लकहरुलाई चेनले जोडीन्छ । यदी कुनै एउटा ब्लकबाट डाटा मेटाउन खोजियो भने त्यो मिल्दैन किनभने हरेक ब्लकले अर्को ब्ल्कलाई पोइन्ट गरेको हुन्छ र यदी बिचको ब्लक हरायो भने केही गडबड गल्ती भएको सजिलै थाहा पाउन सकिन्छ ।

ब्लकचेनलाई इन्टरनेटको आविष्कार पछि सबैभन्दा राम्रो प्लेटफर्म र सबैभन्दा परिष्कृत प्रविधि मानिन्छ । यसले यसको सुरक्षा र गोपनीयताको सर्तमा, अनलाइन लेनदेनको लागि दक्षता प्रदान गर्दछ ।

बिटकोइनका फाइदा र बेफाइदा

मानिसहरूले दैनिक लेनदेनको लागि कुनै न कुनै प्रकारको मौद्रिक फारम प्रयोग गर्दै आएको इतिहास छ । व्यापार प्रणालीको शुरुवातमा वस्तु विनिमय प्रणालीले व्यापारलाई चलाउन थाल्यो, जहाँ मानिसहरूले दुवै पक्षको सम्झौतामा आफ्ना सामानहरू साट्ने गर्थे ।

समय परिवर्तनसँगै फ्याट पैसा मानिसहरूलाई सजिलैसँग व्यापार गर्नको लागि डिजाइन गरिएको थियो । विश्व २१ औं शताब्दीमा प्रवेश गर्दा क्रिप्टोकरेन्सीले बजारलाई तहल्का मच्चाएको छ । जहाँ ठूला बहुराष्ट्रिय कम्पनीहरूले बिटक्वाइनलाई आफ्नो मुद्राको रूपमा प्रयोग गर्दै आएका छन् र कर्मचारीहरूलाई मासिक पारिश्रमिक भुक्तान गर्न पनि प्रयोग गरिरहेका छन् ।

\"\"

भौगोलिक अवरोध नहुनु, चार्ज पनि एकदमै कम हुनु र परम्परागत भन्दा कारोबार पनि छिटो हुनु यसको फाईदा त भयो नै तर यसका बेफाईदाहरु पनि छन् । डिजिटल सिक्काको स्वामित्वमा जोखिमहरू मध्ये एक दोहोरो लेनदेन हो, जसको मतलब कसैले दुई फरक प्राप्तकर्ताहरूलाई एउटै सिक्का प्रदान गरेर समानान्तर दुई लेनदेन जारी गर्न सक्दछन् ।

तर केन्द्रीकृत र अनलाइन कारोबारको हकमा बैंक सञ्चालन प्रणालीले त्यस्तो शंकास्पद गतिविधि पत्ता लगाउन सक्षम हुनछन् । तापनी ब्लकचेन प्रविधि धेरै सुरक्षित छ । ठगीहरूले त्यस्तो अपराध गर्न सक्ने छैनन् किनभने एकै समयमा धेरै खाताहरू परिवर्तन गर्न वा प्रमाणीकरण गर्न सक्दैनन् ।

तर असम्भव भने केही पनि छैन् । बिटकोइनको चर्चा विश्वभर बढेपनि यसको भविष्य भने अझै अन्योल नै रहेको छ । विभिन्न देशले आफ्नै बिटकोइन बनाउन थालेपछि यसको भविष्य के होला, त्यो त भविष्यमा अवश्य निर्धारण होला ।

बिटकोइनका केही रोचक तथ्य

•  संसारभर ठ्याक्कै एक्काइस मिलियन बिटकोइन मात्रै छन् । त्यसैले यसको आपूर्ति सीमित छ । यी मध्य १८. ६ मिलियन बिटकोइन परिसंचरणमा छन् ।
•   के बिटकोइन छुन सकिन्छ ? के यसलाई खुत्रुकेमा राख्ने सकिन्छ? सकिदैन किनभने यो डिजिटल मुद्रा हो जुन चाँही भर्चुअल छ ।
•   तपाईंले १ बिटकोइनको सट्टा अंशमा पनि किन्न सक्नुहुन्छ । मतलब, ०.१ बिटकोइन, ०.२५ बिटकोइन, इत्यादि ।
•   आजसम्म ग्लोबल क्रिप्टोको बजार पूँजीकरण २.५ ट्रिलियन अमेरिकी डलर भईसकेको छ। यो अहिले सम्मकै उच्च हो ।
•   सातोशी नाकामोटो को हुन त ? यो अेहैले सम्म पत्ता लागिसकेको छैन् ।