कीवर्डहरू -

प्रयोगकर्ताको व्याकरण सच्च्याएर वार्षिक ९४ करोड कमाउँदै ‘ग्रामर्ली’

प्रयोगकर्ताको व्याकरण सच्च्याएर वार्षिक ९४ करोड कमाउँदै ‘ग्रामर्ली’

शीर्षक पढेर स्टोरीसम्म आईपुग्दा तपाईलाई सायद अझै पनि विश्वास लागेको छैन् होला । तर यो सत्य हो । एउटा यस्तो कम्पनी जसले प्रयोगकर्ताको व्याकरण सच्च्याएर वार्षिक करोडौं कमाउँछ । साथै व्याकरण सच्याउँदा सच्याउँदै अर्बपति कम्पनी बन्न पनि सफल भएको छ ।

यो कथा हो ‘ ग्रामर्ली ’को । सन् २००९ मा स्थापना गरिएको ग्रामर्ली अहिले १३ अर्बको अमेरिकी डलरको कम्पनी बन्न सफल भएको छ । विभिन्न असफलतामा पनि अडिग रहेरै ग्रामर्ली अहिले यस उचाइमा पुग्न सफल भएको हो । ग्रामर्ली एलेक्स सेभचेन्को, म्याक्स लाईटीभिन र डिमिट्रो लाईडरले स्थापना गरेका हुन् ।

३ जनाले शुरू गरेको कम्पनी अहिले अर्बौँ अमेरिकी डलरको कम्पनी बन्न सफल भएको छ । ग्रामर्ली अमेरिकको दशौँ मूल्यवान स्टार्टअपको रुपमा समावेश भइसकेको छ ।

ओउलरको अनुसार ग्रामर्लीका दैनिक ३० मिलियन प्रयोगकर्ता छन्, जसबाट ग्रामर्लीले वार्षिक ७.८ मिलियन अमेरिकी डलर अर्थात ९४ करोड रूपैयाँ कमाउँछ ।

\"\"

फोटोमा म्याक्स लाईटीभिन र एलेक्स सेभचेन्को


मेल, वेब ब्राउजर, सोसल मिडिया र माइक्रोसफ्ट वर्डसहित ५ लाखभन्दा बढी एप र वेबसाइटहरूमा ग्रामर्लीको सर्भिस सञ्चालनमा आइसकेको छ । फोर्बसका अनुसार केही हप्ता अघि ग्रामर्लीलाई २०० मिलियन डलरको फण्डिङ प्राप्त भएको थियो, जसले गर्दा यसको मूल्य अब १३ बिलियन डलर पुगेको छ ।

त्यस कारण एलेक्स सेभचेन्को र म्याक्स लाईटीभिन पनि स्वयं अर्बपती बन्न सफल भएका छन् । हालैमा भएको लगानीले गर्दा फोर्बसको अनुमान अनुसार दुई जना युक्रेनमा जन्मिएका उद्यमीको कम्तीमा पनि ४ बिलियन डलरको नेट वर्थ रहेको छ । ग्रामर्लीमा हरेक दिन ३० मिलियन सक्रिय प्रयोगकर्ता रहेका छन् ।

पिचबुकको डेटा अनुसार लगानीकर्ताहरुले सन् २०१९ र २०२१ मा लगानी गरेपछि कम्पनीको कुल २२ प्रतिशत सेयर प्राप्त गरेका छन् र कम्पनीकै अर्को संस्थापक डिमिट्रो लाईडरसँग कम्पनीको एक प्रतिशत सेयर मात्रै रहेको छ ।

अहिले स्यान फ्रान्सिस्कोमा रहेको यो कम्पनी एक दशक भन्दा पहिले ‘सेन्टेन्स र्वक्स’ को नाममा स्थापित भएको थियो ।

\"\"

यो एक सःशुल्क सफ्टवेयर प्याकेज हो, जसले विद्यार्थीहरूलाई उनीहरूको व्याकरण र हिज्जे गल्तीहरू सच्याउन मद्दत पुर्‍याउने गर्दछ । यो सफ्टवेयरले शिक्षाको क्षेत्रमा मात्र ध्यान नदिएर अरु पनि विभिन्न क्षेत्रहरुमा काम गर्दै आएको छ ।

यसले व्याकरण जाँच गर्न, तपाईंको ईमेल, कागजातहरुमा त्रुटिहरू सजिलै फेला पार्न र हटाउन एआई मार्फत सेवा प्रदान गरिरहेको छ । ग्रामर्लीलाई वेब ब्राउजरमा एक्सटेन्सनको रूपमा पनि चलाउन सकिन्छ ।

यसलाई प्रयोगकर्ताहरुले विन्डोज, म्याक, लाईनक्स जस्ता अपरेटिङ सफ्टवेयरहरुमा र मोबाईलमा पनि निःशुल्क डाउनलोड गर्न सक्नेछन् ।

कम्पनीसँग अहिले भ्यानकुभर, ब्रिटिश कोलम्बिया, युक्रेनी शहर कीभ र सान फ्रान्सिस्कोमा कार्यालयहरू सहित ६०० भन्दा बढी कर्मचारीहरू रहेका छन् ।

सेभचेन्को र लाईटीभिनले सँगै सुरु गरेको यो मात्रै कम्पनी होइन । युक्रेनको इन्टरनेशनल क्रिस्च्यन विश्व विद्यालयमा अध्ययन गर्ने क्रममा यी दुईको भेट भएको थियो ।

\"\"

व्याकरण सुधार्नलाई सफ्टवेयरको विकास गर्ने विचार उनीहरूले पहिले लेखेको माइड्रप बक्स नामक सफ्टवेयरबाट आएको हो । माइड्रप बक्सले विद्यार्थीहरुले साहित्य लेख्दा साहित्यिक चोरी रोक्नलाई मद्दत गर्ने गर्दथ्यो ।

माइड्रप बक्सलाई ब्ल्याकबोर्ड शिक्षा निगम द्वारा अधिग्रहण गरिएपछि आज यस कम्पनीले प्रयोगकर्ताहरुको हिज्जे, व्याकरण सुधार्दै १३ बिलियन अमेरिकी डलरको कम्पनी बन्न सक्षम भएको छ ।

\"\"

ग्रामर्लीको निःशुल्क सेवा समेत उपलब्ध छ । जसले गलत हिज्जे, व्याकरणीय गल्तीहरू र अनावश्यक शब्दहरूलाई सच्याउँछ । त्यस्तै सःशुल्क संस्करणले अतिरिक्त प्रकारका सिफारिसहरू प्रदान गर्दछ र कतैबाट चोरी गरेको पत्ता लगाउने गर्दछ ।

कम्पनीले आफ्नो स्पीन अफहरु पनि सार्वजनिक गरेको छ, जुन व्यवसायिक ग्राहकहरुलाई लक्षित गरेर ल्याइएको हो । जूम, सिस्को, डेल र एक्सपिडिया जस्ता कम्पनीले व्यवसायिक ग्रामर्ली सार्वजनिक गरेका छन् ।