कीवर्डहरू -

एलन मस्कः प्रविधिको क्षेत्रमा प्रेरणाको स्रोत 

एलन मस्कः प्रविधिको क्षेत्रमा प्रेरणाको स्रोत 

कोरोना महामारीले ठूल्ठूला राज्यको पनि अर्थतन्त्रमा नराम्रोसँग धक्का मारेको थियो । यस्तो विषम परिस्थितिमा पनि आफ्नो काम गरिरहेर धेरै घाटा व्योहोर्नका लागी वाध्य नभएका पनि केही व्यक्ति रहेका छन् । कठिन भन्दा कठिन परिस्थितीलाई पन्छयाउँदै अघि बढ्न सफल व्यक्तित्वमा एक भने एलन मस्क पनि हुन् । सन् २०२१ मा एलन मस्क आफूलाई विश्वकै सबैभन्दा धनी व्यक्ति कहलाउनमा सफल भएका छन् ।

दूरदर्शी अभियन्ता र टेक उद्यमी एलन मस्क इलेक्ट्रीक कार निर्माता टेस्लाको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी एयरोस्पेस निर्माता स्पेसएक्सको पनि संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २०१७ साल देखि जेफ बेजोस निरन्तर रुपमा धनाढयको शीर्ष स्थानमा रहँदै आएका थिए । सन् २०२० को पनि सबैभन्दा धनी व्यक्ति भनिएका जेफ बेजोसलाई उछिन्दै मस्क शीर्ष स्थानमा पुगेका हुन् । फोर्बसको रिपोर्ट अनुसार विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति कहलाएका दिन भने उनको आफ्नो सम्पत्ति १८९.७ अर्ब डलर बराबरको थियो ।

बीबीसी र सीएनएनले भने उनको सम्पत्ति १८५ अर्ब डलर बताएको थियो । त्यस्तै ब्लुमबर्गको रीपोर्ट अनुसार मस्कको सम्पत्ति १८८ अर्ब डलर पुगेको थियो । यो रिपोर्ट लेख्दै गर्दा मस्कको नेट वर्थ २४३ अर्ब डलरको रहेको छ । एक वर्ष अघि सम्म मस्क विश्वका सर्वाधिक २० धनाढ्यको सूचीमा कहिँ कतै थिएनन् । अघिल्लो वर्ष सम्म मस्कको २९ अर्ब डलरको मात्रै नेट वर्थ रहेको थियो । एक वर्षमा नै झण्डै उनको २१४ अर्बले वृद्धि भएको हो ।

सन् २०२१ को सबैभन्दा धनी व्यक्ति कहलिएका मस्क यस सफलता सम्म सजिलै पुगेका भने होइनन् । निरन्तरप्रयास र अथक कामले गर्दा उनी आज एकदमै सफल उद्यमीको रुपमा स्थापित हुन सक्षम भएका छन् । उनी एक हप्तामा ८० देखि १२० घण्टा सम्म काम गर्नका लागी प्रख्यात छन् ।

मस्क दक्षिण अफ्रिकामा जन्मिएर हुर्किएका थिए । उनकी आमा क्यानेडियन र बाबु दक्षिण अफ्रिकी हुन् । उनी पछि भने क्यानेडामा बस्न थाले र अन्तत अहिले अमेरिकामा बसोबास गर्ने गर्र्दछन् । उनीले पेनीस्लीभ्यानियाको विश्वविद्यालयमा भौतिक विज्ञान अध्ययन गरेका थिए ।

उनको अनुसार बच्चामा उनी ज्यादै शान्त थिए जसले गर्दा उनले धेरै दुःख पनि भोग्नु पर्याे । मस्कले जीप२, एक्स.कम र पेपलबाट उद्यमी बन्ने यात्रा सुरु गरेका थिए ।

मस्कको बाल्यकाल अहिलेको जस्तो सजिलो थिएन । उनी बच्चै हुँदा उनको बाबुआमाले सम्बन्ध विच्छेद गरेका थिए जसको कारणले उनी भने बुबा सँग बस्नु परेको थियो । एकदमै धेरै किताबहरु पढ्नमा रुची राख्ने मस्क राम्रो विद्यार्थी पनि थिए । उनीलाई कमीक पढ्न पनि एकदमै रुची लाग्ने गर्दथ्यो । तर उनले बालअवस्थामै उत्पीडन भोग्नु परेको थियो । १५ वर्षको उमेर सम्म उत्पीडन भोगेको मस्कले आफ्नो बचाऊका लागी कराते र रेसलिङ् पनि सिकेका थिए ।

दश वर्षको उमेरमा मस्कलाई कमोडोर भीआईसी—२० भएको कम्प्यूटर सँग परिचित गराइएको थियो र उनले १० वर्षकै कलिलो उमेरमा कम्प्यूटरमा प्रोगाम कसरी गर्ने भन्ने कुरा सिके । प्रोग्रामिङ् सिकेकाले उनले १२ वर्षको उमेरमा पीसी एण्ड आफिस टेकनोलोजीलाई ब्लास्टर भन्ने गेमको कोड ५०० डलरमा बेचेका थिए । उनले आफ्नो दाईसँग मिलेर स्कुल नजिकैनै भिडियो गेम आरकेड पनि खोल्न आटेका थिए तर सिटी परमिट नपाएकाले या काम भने सफल हुन सकेको थिएन् ।


मस्क २४ वर्षको हुँदा पीएचडी गर्न भनेर क्यालिफोर्निया गएका थिए तर उद्यम तिर ध्यान आर्कषित हुँदै गएकाले उनले दुई दिनमै पीएचडीको कक्षा लिन छाडिदिएको पनि तथ्य रहेको छ ।

सन १९९५ मा मस्कले २७ वर्षको उमेरमा आफ्नो भाइसँग मिलेर जीप२ नाम गरेको वेब सफ्टव्येर कम्पनी खोले जसले पत्रिकाहरुलाई अनलाइन सिटी गाइड दिने गर्दथ्यो । जीप २ मा आम्दानी गरेको पैसाले मस्कले एक्स.कमको सुरुवात गरेका थिए । यसले भविष्यमा बैकिङ्को स्वरुप लिने लक्ष्य राखेको थियो । यो पछि कनफिनीटी भन्ने कम्पनीसँग मिसियो र यसको नाम पेपल हुन पुग्यो ।

\"\"

यसलाई उनले स्थापना गरेको तीन वर्ष पूरा नहुँदै सन् २००२ मा ‘इ—बे’ ले खरिद गरेको थियो । त्यस वापत मस्कले १६.५ करोड अमेरिकी डलर पाएका थिए । यो उनको करिअरको ठूलो उपलब्धी थियो । तर मस्कलाई पेपलबाट निकालियो र उनले इलेक्ट्रीक कार स्टार्टअप टेस्लाको सुरुवात गरे । उनी सदैव जोखिम मोल्न र फरक किसिमको काम गर्न रुचाउने स्वभावका थिए र उनले यो पटकपटक साबित पनि गरेका छन् ।

सन् २००८ मा संसारले आर्थिक समस्याको सामना गर्दा मस्कको हालत पनि असाध्यै खराब भएको थियो । त्यसपछि उनको कम्पनीले कयौं असफलताहरु देख्यो । स्पेस—एक्सको पहिलो तीनवटै स्पेस लञ्च असफल भए । टेस्लामा पनि उत्पादनसँग जोडिएका कयौं समस्याहरु आइरह्यो र मस्क संकटमा फँसे ।

उनीले आफ्नै खर्चका लागी पनि साथीसँग पैसा माग्नुपर्ने अवस्था आएको थियो । मस्कका अनुसार, जब उनले स्पेस—एक्स र टेस्लाको जग हालेका थिए तब उनलाई स्वयम विश्वास थिएन कि उनी यसबाट पैसा कमाउन सक्नेछन् । तर अहिले उनको आफ्नै विश्वास गलत साबीत भएर सबै व्यवसायले निकै नै राम्रो गरिरहेको छ ।


टेस्लाको सफलताको कथा :

सन् २००३ मा मस्कले विद्युतीय कार कम्पनी टेस्ला स्थापना गरे र भने ‘भविष्यमा सबैथोक विद्युतीय हुनेछ, अन्तरिक्षमा जाने रकेट पनि । र, टेस्लाले यो परिवर्तन ल्याउनमा अहम् भूमिका निर्वाह गर्नेछ ।’ टेस्ला मिडिया पटलाईटमा भने सन् २०१३ मा आएको हो ।

\"\"

मस्कको कम्पनीले त्यतिखेर आफ्नो फ्लयागसीप कार मोडेल एस लञ्च गरेको थियो । यसले कम्पनीलाई एक सफल अटोनिर्माताको रुपमा मार्केटमा चिनाएको थियो ।

६९ हजार डलर पर्ने मोडेल एसले व्यापार उद्योगमा एकदमै राम्रो रेटिङ् पाएको थियो । सेपटेम्बर २०१४ मा कम्पनीले सबै भन्दा उच्च सेल्स रेकर्ड बनाएको थियो । कम्पनीले २५०० ओटा गाडी विक्री गरेको थियो । त्यसैगरी सन् २०१५ मा कम्पनीले १०,०३० ओटा गाडी विक्री गरिसकेको थियो ।

कम्पनीको मेई, २०१५ सम्ममा ३१.३ बिलियन पूञ्जी रहेको थियो । २०१५ मा गएर कम्पनीले पहिलो पटक एसयूभी निकालेको थियो जुन मोडेल एक्स रहेको छ । टेस्ला भनेपछि धेरैले मस्कलाई सम्झिन्छन् तर एलन मस्क टेस्लाको संस्थापक भने होइनन् ।

यो कम्पनी २००३ मा मारटिन इबरहार्ड र मार्क टार्पेननीङ्ग ले सहसंस्थापन गरेका थिए । उनीहरुले ग्यासोलिनले चल्ने कार भन्दा इलेक्ट्रीक कार राम्रो हुन्छ भनेर देखाउन चाहन्थे । मस्क भने पछि सञ्चालक समितिको अध्यक्ष भएर आएका हुन् र उनले पनि इलेक्ट्रीक कारको बारेमा आफ्नो जानकारी साटेका थिए । सन् २००८ सालमा मस्क कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

कम्पनीको अहिले ८० ओटा आधिकारिक स्टोरहरु रहेका छन् । कम्पनीको ग्यालेरी उत्तर अमेरिका, यूरोप र एसियामा फैलिएको छ र अमेरिकामा १०० ओटा चार्ज गर्ने स्टेसन रहेको छ । आफ्नै सोरुम भएकाले टेस्लाले ग्राहकसँग  अझै नजिकिएर काम गर्न पाएको छ । टेस्लाको सोरुमहरुमा टेस्लाकै आफ्नै स्टाफ हुने गर्दछन् जसले गर्दा उपभोक्तालाई कुनै जानकारी लिन पनि सहज हुन्छ ।

कम्पनीको एउटा सफलताको कारण भने टेस्लाले एकचोटिमा एउटा प्रोडक्ट बनाउनमा मात्रै ध्यान दिने गर्दछ जसले गर्दा एकदमै गुणस्तरीय सामान निकाल्न सकिन्छ ।

\"\"

टेस्लाले थुपै्र ओटा सुपरचार्जर स्टेसनहर विश्वव्यापी रुपमा बनाएकाले पनि टेस्ला सफल भएको हो । केही समय पहिले टेस्लाले विश्वकै सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन साङ्घाई चीनमा सार्वजनिक गरेको थियो । यसमा ७२ ओटा स्टलको व्यवस्था रहेको छ ।

कम्पनीले फ्रेसनो र क्यालिर्फोनियामा पनि ५६ ओटा स्टलको व्यवस्था रहेको स्टेसन खोलेको थियो । यो सुपरचार्जर स्टेसन साङ्घाईको जीङ्गान अन्तराष्ट्रिय केन्द्रमा रहेको छ । यी सुपरचार्जरहरुले १५० किलोवाटको भी २ चार्जरको प्रयोग गर्ने गर्दछन् । क्यालिफोरनियाको ५६ ओटा स्टलले २५० कीलोवाटको भी ३ चार्जरको प्रयोग गर्ने गर्दछन् ।

यसैले गर्दा क्यालिफोरनियाको स्टलमा अलि चाँडै चार्ज हुने गर्दछ । टेस्लाले २० हजार ओटा स्थानीय रुपमा निर्मित ईभीको डेलिभर गरेको थियो । केही ईभीहरु चीनमै विक्री गरिन्छ भने अरु यूरोप पठाइन्छ । यी स्टेसनहरुले इलेक्ट्रीक कारलाई चार्ज गर्नमा मद्दत पु¥याउँछ ।

टेस्लाको दूरदर्शी सोचले पनि एकदमै धेरै मद्दत पु¥याएको हो । टेस्लाले दिगो यातायातको सुविधा निकाल्ने लक्ष्य लिएर काम गरिरहेको छ । टेस्लाको गाडीको मोडेलहरुले भविष्यमा बाँचिरहेको अनुभव गराउने गर्दछ जसले गर्दा यो लोकप्रिय बन्न सफल भएको हो । टेस्लाले आउँदो भविष्यलाई अझै उज्जवल बनाउन चाहन्छ । मस्कले अहिले सम्म ७५ लख ओटा इलेक्ट्रीक कार विक्री गरिसकेका छन् ।

मस्कको कामको दायरा केवल ‘फ्युचर कार’ बनाउने कम्पनीमा मात्रै सीमित छैन, उनको कम्पनी टेस्ला विद्युतीय कारमा लगाउने पुर्जा र ब्याट्री पनि बनाउने गर्दछ र ती ब्याट्री र पुर्जा टेस्लाले अन्य कार निर्माताहरुलाई बेच्ने गर्दछ । साथै, टेस्लाले घरमा लगाउने ‘सोलार इनर्र्जी सिस्टम’ बनाउने गर्दछ र यसको माग पनि बढ्दै गएको छ ।  सेप्टेम्बर २०२० मा उनले भनेका छन्, ‘चाँडै नै टेस्लाका सबै कार—सेल्फ ड्राइभिङ् युक्त हुनेछन् ।’ आगामी तीन वर्षमा उनले सस्तो विद्युतीय कार ल्याउने पनि लक्ष्य राखेका छन् ।’

स्पेसएक्स सँगै मस्कको सफलता :

\"\"

मस्कले अन्तरिक्ष अन्वेषणको प्रविधिमा काम गर्न सुरु गरे । उनको उक्त प्रोगामलाई ‘स्पेस एक्स’को नाम दिइयो, जसले ‘मान्छे आगामी दिनमा अन्य ग्रहमा पनि बस्न सक्छन्’ भन्यो । सन् २०१२ मा मस्क र स्पेसएक्सले फयालकन ९ रकेट स्पेसमा लञ्च गरेर इतिहास बनाएका थिए ।

त्यो सवारी भने अन्तरिक्षमा रहेका अन्तरिक्ष यात्री का लागी १००० पाउण्ड को सामान लिएर गएको थियो । सन् २०१८ को मार्चमा, अमेरिकाको अनुमतिमा स्पेस एक्सले इन्टरनेट सेवा प्रदान गर्नका लागी साटेलाईट लञ्च गरेको थियो । यसको नाम भने स्टारलिङ्क हो ।

यसले दुर्गम क्षेत्रहरुमा इन्टरनेट सेवा प्रदान गर्नका लागी मद्दत पु¥याउँछ । यसले ठूलो क्षेत्रमा इन्टरनेट प्रदान गर्नका लागी मद्दत पु¥याउने गर्दछ । स्पेस एक्सले सन् २०१९ मा ६० ओटा स्याटेलाईट लञ्च गरेको थियो । अमेरिकी सरकारले पनि स्टारलिङ्कको प्रोजेक्टलाई एकदमै बढावा दिएको छ । स्पेस एक्सले विशेष गरी रकेट र स्पेसक्राफ्टको लञ्च र निर्माण गर्ने गर्दछ ।

उनी अमेरिकामा ‘सुपर—फास्ट अन्डरग्राउन्ड टनेल ट्रान्सपोर्ट सिस्टम ‘हाइपरलुप’ को खाका पनि तयार गरिरहेका छन् । यो ‘लुप ट्रेन’ परियोजना सुरुमा अमेरिकाको लास भेगसमा संचालन गर्ने गरी टनेल खनिसकेको बताइएको छ । मस्कको यो लुप ट्रेनले आधुनिक यातायातमा क्रान्ति ल्याउने समेत विश्वास गरिएको छ । एलन मस्कको निरन्तर प्रयास र दूरदर्शी सोचले गर्दा सबैभन्दा सफल बनेको पाइएको छ ।

एलन मस्कको अरु व्यक्तिले भन्दा काम गर्ने तरीकामा भिन्नता रहेको छ । उनले तलका केही काम गर्ने तरिकालाई प्रयोग गरेर अघि बढन सफल भएका हुन् ।

\"\"

१. मस्कका लागी पैसा ठूलो कुरा होइन :

मस्कले पैसालाई समाजको तर्फबाट उनको प्रोजेक्टहरुलाई सहयोग गरिएको रुपमा लिने गर्दछन् । सन् २०१४ को इन्टरभ्यूमा बीबीसीसँग कुरा गर्दा मस्कले उनलाई आफू कति धनि भएको भन्ने बारे थाहा नभएको पनि बताएका थिए । उनले कतै पैसाको बिटो छ भनेर नसोचिकनै टेस्ला, स्पेसएक्स र सोलारसीटीलाई आमजनताले भोट गरेको जसरी लिने गर्दछन् । उनले धनी भएर संसारबाट अलोप हुने भनेर कहिले पनि सोचेका छैनन् ।

उनले संसारले उनलाई प्रोजेक्टहरुमा राम्रो काम गरेर गएको भन्ने सम्झेको हेर्न चाहन्छन् । आफूसँग भएको पैसालाई राम्रो काममा नलगाएमा त्यो पैसा व्यर्थ भएको उनले सोच्दछन् ।

२. आफ्नो प्यासनलाई पछयाउने :

मस्कका लागी सबैभन्दा ठूलो कुरा भनेकै जीवन बाँच्नका लागी जोस रहेको छ । आफ्नो सपना पूरा गर्ने जोसले गर्दा नै उनी बिहान उठन सक्ने पनि बताएका छन् । उनको अनुसार हामी सबैले भविष्य सुनौलो होस भन्ने चाहन्छौँ तर काम गर्नलाई उत्साहित हुदैनौँ । यो बानीलाई भने सक्दो चाँडो छाडेर आफ्नो प्यासनलाई पछयाउनु पर्छ ।

उनको सपना मंगल ग्रहमा कोलोनी बनाउने रहेको छ । उनी हरेक दिन त्यही कारणले प्राविधिक व्यक्ति बन्नका लागी काम गरिरहेका छन् । स्पेस—एक्सको स्थापनालाई लिएर पनि बिबिसीसँग मस्कले भनेका थिए, ‘मैले कम्पनी यसकारण बनाएँ किनकि म यो कुराबाट असन्तुष्ट थिएँ कि अमेरिकी स्पेस एजेन्सी अन्तरिक्ष अन्वेषणलाई लिएर किन थप महत्त्वाकांक्षी छैन, यसले किन अझ अगाडिको बारे सोच्न सकिरहेको छैन् । म आशा गर्छु कि भविष्यमा चन्द्रमा र मंगल ग्रहमा हाम्रो बसोबास होस् र त्यहाँका लागि यहाँबाट लगातार उडान चलोस ।’ मस्कले उनलाई सबैले एक लगानीकर्ताको सट्टा एक इन्जिनियरको रुपमा चिनुन भन्ने चाहन्छन् ।

३. ठूलो सपना सोच्नबाट आफूलाई कहिले नरोक्नुहोस् :

एलन मस्कसँग सिक्नुपर्ने कुरामा एउटा भने उनले धेरैले असम्भव भनेको कुरालाई सम्भव बनाएर देखाएका छन् । उनको प्रोजेक्टको विचार सुनेर धेरै जनाले मजाक उडाउने गर्दथे । उनले कार इन्डस्ट्रीमा क्रान्ति ल्याउने सपना बोकेका छन् र यो धेरै हद सम्म साँचो पनि भएको छ ।

त्यसैगरी उनको मंगल ग्रहमा कोलोनी बनाउने रहर, भ्याकुम टनेलमा चल्ने सुपर—फास्ट ट्रेन ल्याउने चाहना र मान्छेको दिमागसँग एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स जोड्ने इच्छाले हामीले आफ्नो सोच्ने क्षमतामा कहिले पनि कमी ल्याउनु हुदैन भनेर नै सिकाएको छ । कहिले पनि आफूलाई कुनै सीमामा बाध्ँनु हुँदैन भन्ने यिनको विश्वास रहेको छ । उनले सकेसम्म चाँडो फसिल फ्यूललाई प्रयोगबाट हटाउन चाहन्छन् ।

४. जोखिम लिनका लागी तयार रहने

मस्क व्यवसायमा एकदमै धेरै जोखिम लिने व्यक्तिको रुपमा परिचित छन् । जोखिमको डरले आफूलाई सीमित गर्नुभन्दा प्रयास गरेर हार खानु नै राम्रो भएको उनको विश्वास रहेको छ । उनकै स्पेसएक्सको प्रोजेक्ट तीन चोटि सम्म असफल भएको थियो । त्यसैगरी टेस्लाको सप्लाईमा पनि उनले धेरै समस्या भोग्नुपरेको थियो तर उनले ती असफलतालाई आफूलाई निरुत्साहित गर्न नदिएर काममा लागीरहे ।

धेरै गाह्रो भएमा छोराछोरीले सरकारी विद्यालय जानुपर्ने अवस्था आउन सक्छ , त्यसले केही नराम्रो हुँदैन भन्ने सोचेर उनले आफ्नो पैसालाई मोह नगरी लगानी गर्दै गए जसले गर्दा उनी विश्वकै धनी व्यक्ति बन्न सफल भए ।

५. आलोचनाहरुलाई ध्यान नदिने :

उनीलाई सुरुमा धेरै मान्छेहरु उनको असफलतामा खुशी भएको देख्दा एकदमै निराशा लाग्ने गर्दथ्यो । धेरै जनाले मेरो कम्पनी बन्द होस भन्ने आशा गरिरहेका थिए भन्ने उनको भनाइ थियो । यति भइरहँदा पनि उनले आलोचकहरुको आलोचनाहरुलाई ध्यान नदिई आफ्नो काम गरिरहे । उनी अरुलाई पनि यही नै सुझाव दिने गर्दछन् । धेरैले आफ्नो असफलता चाहे पनि उनीलाई आफू माथि विश्वास थियो जसको कारणले उनी अघि बढ्न सफल भए ।

६. आफूसँगै रमाउने :

मस्कले धेरै समय सम्म काम गरिरहँदा पनि उनले त्यसैमा रमाइलो मान्ने गर्दछन् । उनले आफ्नो सपना पूरा गर्ने तर्फ लागेको हुँदा , उनी हरेक क्षण रमाइलो गरेर नै बिताउने गर्दछन् । उनी सामाजिक सञ्जालमा आफ्नो मनमा रहेको कुराको टिप्पणी दिइरहनका लागी चर्चित रहेका छन् । उनको सामाजिक जीवन पनि रमाइलो नै रहेको छ । काम भन्दैमा आफूले तनाव लिने गरी गर्नुपदैन् भन्ने उनको विश्वास रहेको छ ।

मस्कको बिजनेसप्रतिको ‘एटिट्युड’ अर्थात व्यापार र आफ्नो कामका सवालमा अलग दृष्टिकोण नै उनको सफलताको राज भएको बिबिसीका संवाददाता जस्टिन रलेटले उल्लेख गरेका छन् । केही वर्षपहिले रलेटले गरेको अन्र्तक्रियामा मस्कले भनेका थिए, ‘मलाई थाहा छैन मसँग कतिको सम्पत्ति छ । यो नोटको बिटो भएजस्तो होइन । टेस्ला, स्पेस एक्स र सोलार सिटीमा मेरो हिस्सेदारी र बजारमा त्यसको केही मूल्य छ । तर मलाई यो सबले कुनै फरक पर्दैन, किनकि मेरो काम गर्नुको लक्ष्य यो होइन ।’

रलेटको अनुसार मस्कको आफ्नो दृष्टिकोणले सायद काम गरिरहेको छ । उनीसँग आज जति सम्पत्ति छ, त्यसबाट उनले चाहने हो भने संसारका कतिपय ठूला कार निर्माता कम्पनी एकसाथ खरिद गर्न सक्छन् । यो वर्ष उनी ५१ वर्षका हुनेछन् , तर एक ‘धनाढ्य व्यक्ति’ का रूपमा संसारबाट बिदा हुने सपना उनको बिल्कुलै छैन ।

मस्क भन्छन् कि, उनी मंगल ग्रहमा एउटा ‘बेस बस्ती’ बनाउनमा आफ्नो पुँजीको सबैभन्दा ठूलो हिस्सा खर्चिन चाहन्छन् र उनले यस मिशनलाई सफल बनाउन आफ्नो सारा सम्पत्ति लगाए भने यसमा उनी स्वयंलाई कुनै आश्चर्य हुनेछैन् । मंगल ग्रहमा एक मानव बस्ती, मस्कको नजरमा असाध्यै ठूलो सफलता हुनेछ ।

उद्यमीका रुपमा उनी एकदमै दूरदर्र्शी व्यक्ति हुन्  । मस्क परिवर्तनको धिमा गतिमा विश्वास राख्दैनन् । उनी चाँडोभन्दा चाँडो ‘फोसिल फ्युल’ लाई पछाडि छोड्न चाहन्छन् । साथै, मानव अस्तित्वलाई लामो समयसम्म कायम राख्नका लागि उनी मंगल ग्रहमा उपनिवेश विकासको पक्षमा छन् ।

उनले एक नवीन भविष्यको कामना गरेका छन् र त्यसका लागी उनले निरन्तर काम गरिनै रहनेछन् । मिहिनेतको भरमा सबै सपना पूरा गर्न सकिन्छ भन्ने कुराको उनी जीवित उदाहरण हुन् ।

धेरैले असम्भव भनिरहेको कुरालाई सम्भव पारेर देखाइदिने मस्कबाट अर्काको आलोचनालाई धेरै ध्यान नदिइकनै आफ्नो काममा विश्वास राख्नुपर्छ भनेर सिक्न सकिन्छ । उनलै निकट भविष्यमा थुप्रै परिवर्तन र परिमार्जन ल्याउनेछन् भन्ने कुरामा निर्धक्क भए पनि हुन्छ ।

- एजेन्सीहरुको सहयोगमा