कीवर्डहरू -

अमेरिकी कम्पनीको आकर्षक अफर लत्याएर आईटी उद्यमी बनेकी अलिसा

अमेरिकी कम्पनीको आकर्षक अफर लत्याएर आईटी उद्यमी बनेकी अलिसा

आजभन्दा करिब १६ वर्ष अगाडि सूचना प्रविधि (आईटी) मा नेपाल भर्खर भर्खर बामे सर्दै थियो । धेरैलाई सूचना प्रविधिको बारेमा थाहै थिएन ।

अहिलेको जस्तो धेरैको पहुँचमा पनि थिएन । सिमित व्यक्तिसँग मात्रै प्रविधिको पहुँच थियो । तर यो १६ वर्षको अन्तरालमा आईटीले धेरै फड्को मारिसकेको छ । हरेक काम र क्षेत्रमा आईटी नभइ नहुने अवस्था सिर्जना भएको छ । 

प्रविधि गतिशील छ । प्रविधिको यही गतिशील रूपलाई १६-१७ वर्षदेखि नजिकबाट नियाल्दै आइरहेकी छन्, ललितपुरकी अलिसा श्रेष्ठ । आईटीको क्षेत्रमा छिटो छिटो नयाँ नयाँ परिवर्तन भइरहेको हुन्छ । त्यही प्रविधिको विकासलाई एम्निल टेक्नोलोजीज नेपालसँग जोड्दै छिन्, अलिसा । 
 
सन् २००९ मा अलिसासहित निशित राजभण्डारी (अहिले उनका श्रीमान) र अमित जोशी (३ जना साथीहरू) मिलेर एम्निल टेक्नोलोजीज कम्पनीको सुरूवात गरेका थिए ।

एम्निल टेक्नोलोजीज सुरू गर्नुभन्दा अघि उनले फिन्ल्याण्डको एउटा आईटी कम्पनीमा काम गरिरहेको थिइन । तर उनी जोडिएको १ वर्षपछि फिन्ल्याण्डको कम्पनी नेपालबाट बाहिरियो । त्यसपछि सुरू भएको थियो, अलिसाको उद्यमी यात्रा ।

सानैदेखि कम्प्युटरमा रूची

ललितपुरको मध्यमवर्गीय परिवारमा हुर्किएकी उनको बाल्यकाल साधारण नै बित्यो । लिटिल एन्जल विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मको अध्ययन गरिकी उनलाई प्लस टु अध्ययन कहाँ गर्ने केही थाहा थिएन । साथीहरूले भने सबैतिर खोज्न थालिसकेका थिए । तर उनलाई केही थाहा थिएन ।

नर्सरीदेखि पढेको साथीसँगै आफु पनि गएको अलिसाले सुनाइन । ‘कक्षा १० अध्ययन सकेपछि के पढ्ने, कहाँ पढ्ने केही थाहा थिएन । घरमै बसिरहेकी थिए,’ उनले सुनाइन, ‘त्यसपछि नर्सरीदेखिको साथी जहाँ गयो म पनि त्यही गए । उसले २-३ ठाउँमा प्रवेश परीक्षा दियो, मैले पनि दिए ।’ 

साथीले भर्ना गरेकै कलेज युनाइटेड एकेडेमीमा उनी पनि कमर्समा भर्ना भइन । प्लस टु अध्ययन सकिएपछि उच्च तहको पढाइ गर्न विदेशमा जाने उनको सपना थियो । टोफेल र आयलन्स पनि गरिन ।

तर साथीसँग लागेर फेरि स्नातक तहको अध्ययन काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) बाट बीबीआईएस (ब्याचलर अफ बिजनेस इन्फरमेसन सिस्टम) विषयमा गरिन । त्यसपछि विदेश जाने सपनालाई बिट मारिन । अहिले फर्केर हेर्दा विदेश नजाने निर्णयप्रति अलिसा गर्व गर्छिन् ।

‘विदेशमा गएर अनेकथरि पापड बेल्नुभन्दा यो धेरै राम्रो हो । नेपालमा बसेर आफुले आफुलाई प्रमाणित पनि गर्न सफल भए,’ उनी भन्छिन्, ‘नेपालमा बसेर पनि केही गर्न सकिन्छ । सबै विदेश नै जानुपर्दैन भन्ने उदाहरण दिन पाउँदा खुसी लाग्छ ।’ 

null

पढाइको शिलशिलामा आफ्नो इच्छाले कुनै पनि विषय पढिनन् । साथीहरू जता जता जान्छन, जुन जुन विषय पढ्छन, अलिसाले पनि त्यही पछ्याइन । कलेज पढ्दाको एउटा रोचक अनुभव छ, उनको ।

आफ्नो ब्याईफ्रेन्ड (अहिलेका श्रीमान) का लागि केसीएममा प्रवेश परीक्षाको फाराम लिन गएकी उनले आफ्नो पनि फाराम लिएर आइन र त्यही पढ्न थालेकी थिइन । केसीएमबाट धेरै कुरा सिकेको र नेटवर्किङ पनि राम्रो भएको उनको अनुभव छ ।

पढाइप्रति उनलाई खासै रूची थिएन । जसो तसो ब्याचलर सक्काउनेमा उनको ध्यान थियो । त्यही भएर मास्टर्स पनि अध्ययन गरिनन् । तर पढाइमा नराम्रो पनि थिइनन्, ठिकै थिइन । कक्षामा सधैं फस्ट वा सेकेण्ड हुनुपर्ने उनको आमाको जोड दिएको उनले बताइन् ।

‘पढाइमा ठिकै थिए । म त्यस्तो जिनियस बच्चा होइन । आमाले पठाइमा प्रेसर दिने भएकाले कक्षामा फस्ट, सेकेण्ड आउनै पर्ने हुन्थ्यो । तर मभन्दा पनि दिदिलाई अझ धेरै प्रेसर थियो । दिदि पुरै सेक्सनमै टप आउनु पर्ने हुन्थ्यो,’ अलिसा भन्छिन् । 

पढाइमा खासै रूची नभएपनि कम्प्युटरप्रति भने उनको झुकाव बढ्दो थियो । बुबाको ट्राभल एजेन्सी थियो । टिकेटिङको काम कम्प्युटर मै हुन्थ्यो । त्यो समयमा जतिबेला पनि कम्प्युटर अगाडि बस्न पाए हुन्थ्यो जस्तो, उनलाई लाग्थ्यो  । केही नहुँदा डकुमेन्ट, फोल्डर मिलाएर बस्न उनलाई रमाइलो लाग्थ्यो । 

एउटा कोठाबाट सुरू भएको उद्यमी यात्रा

एम्निल टेक्नोलोजीजका सहसंस्थापक अलिसा, अमित र निशित राजको भेट केसीएम कलेजमा भएको थियो । कलेजको पढाइ सकिएपछि अलिसा र अमितले फिन्ल्याण्डको आउटसोर्सिङ आईटी कम्पनीमा डटनेट डेभलपरको काम गरिरहेका थिए । भने निशितले अर्को कम्पनीमा काम गरिरहेका थिए ।

अलिसा र अमितले काम सुरू गरेको एक वर्षमै फिनल्याण्डको कम्पनीले नेपालमा आफ्नो सेवा बन्द गर्‍यो । अब के गर्ने भनेर उनीहरूले योजना बनाइरहेका थिए । यतिकैमा अलिसालाई एउटा अमेरिकी कम्पनीबाट राम्रो सेवा सुविधासहित जबको अफर आयो । उनलाई १६-१७ वर्ष अगाडि मासिक ३०-४० हजार स्यालरी र अमेरिकी जाने अवसर समेत प्रस्ताव गरिएको थियो ।

तर अलिसाले उक्त अफरलाई लत्याउँदै उद्यमशीलताको यात्रा तय गर्ने निधो गरिन । अमेरिकी कम्पनीबाट अफर आएको कुरा अलिसाले घरमा भनेकी थिइनन । आफ्नै केही गर्ने इच्छा थियो । त्यसपछि तीनै जना साथीको कुरा मिलेपछि सन् २००९ मा एउटा कोठाबाट सुरू भयो, एम्निल टेक्नोलोजीज । 

३ जनाको आत्मविश्वासले सुरू भएको एम्निलले त्यसपछि पछाडि फर्केर कहिले हेर्नु नपरेको उनले बताइन । ‘गर्न सक्छौं भन्ने आत्मविश्वास थियो । सँगसँगै त्यो बेला हामीसँग रिस्क लिने समय पनि थियो,’ उनले भनिन, ‘यो सफल नभए अरू विकल्प छदै थिए । प्रयास गर्दा सफल भइयो । त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन् ।’ 

त्यो बेला साथीको घरको एउटा कोठाबाट कम्पनी सुरू भएको थियो । एक वर्षसम्म त्यही कोठाबाटै काम गर्‍यौं । २ वटा ल्यापटप थिए तर काम गर्नुपर्ने ३ जना । ३० हजार रूपैयाँ मात्रै थियो । त्यसपछि एकजना अर्को कम्प्युटर इन्जिनियर साथीलाई पनि साझेदारको भित्र्यायौं । ईएमआईमा कम्प्युटर र पावर ब्याकअपमा लागि जेनेरेटर किन्यौं । यसरी जुगाड जुगाडमै कम्पनी अहिलेसम्म चलिरहेको छ.... उनी हाँस्छिन् । 

उनीहरूलाई दर्ता प्रक्रिया बारे खासै थाहा थिएन । घरेलुमा दर्ता गर्ने भन्ने चाहिँ थाहा थियो । दर्ता गर्न जाँदा सरकारी कर्मचारीले के काम गर्नुहुन्छ कागजमा लेखेर दिनुस भने । तर उनीहरूलाई के लेख्ने, के लख्ने भयो । २-३ दिन त सोच्यौ र लेखेर दियौं । 

कम्पनी दर्ता गरेको धेरै समयसम्म पनि उनीहरूलाई प्यानको लागि आईआरडीमा दर्ता गर्नुपर्छ भन्ने थाहा थिएन । कम्पनी दर्ता भएपछि चिनजानबाटै प्रोजेक्टहरू ल्याउन थाल्यौं । ‘टिमवर्क’ र ‘विश्वास’ ले गर्दा एम्निल सफल भएको उनको बुझाइ छ । 

null

ब्याचलर पढ्दा अलिसालाई आफ्नै कम्पनी खोल्छु भन्ने लागेकै थिएन । ‘फ्लो’ अनुसार जाँदा आईटी उद्यमी बन्न पुगिन । उनले आफ्नो उद्यमशीलताको यात्रा अझै फराकिलो बनाइरहेकी छन् । क्विकफक्स टेक्नोलोजीज, आईटुबी डिजिटल मार्केटिङ एजेन्सी, ई-फार्मेसी, सोवा हेल्थ केयरमा आवद्ध हुँदै आफ्नो पहिचानलाई अझै फराकिलो बनाएकी छन् । 

परिवार (घर तथा माइत) को पनि उनलाई राम्रो सपोर्ट छ । बेला बेला अलिसाले आफ्नो आमाबाट फिर्ता गर्ने शर्तमा कम्पनीका लागि पैसा समेत लिने गरेकी थिइन । ३ जनाबाट सुरू भएको एम्निलमा अहिले ६ जना साझेदार छन् । अलिसा अहिले सहसंस्थापकका साथै प्रमुख सञ्चालन अधिकृत (सीओओ) को रूपमा काम गरिरहेकी छन् ।

टिमको साइज पनि बढ्दै छ । अहिले कम्पनीमा १५० बढीले रोजगारी पाएका छन् । कम्पनीले ७०-८० प्रतिशत काम नेपाली बजारमै गर्ने गरेको छ भने त्यस बाहेक सिंगापुर र अमेरिकामा आउटसोर्सिङ पनि गर्दै आएको छ ।

आईटीमा महिलाको सहभागीता

अलिसाले आफ्नो आईटी करियर सुरू गर्दा नगन्य मात्रामा महिलाको सहभागीता थियो । तर पछिल्लो समय आईटी क्षेत्रमा महिलाको रूची बढ्दो छ । सहभागीता पनि त्यसै अनुसार बढिरहेको छ । यद्यपी अझै पर्याप्त छैन् । टेक उद्योग अन्य क्षेत्रभन्दा अलिकति बढी ‘डिमान्डिङ’ छ । रातिसम्म पनि बस्नुपर्छ । काम गर्ने समय समेत निश्चित हुँदैन् ।

कहिलेकाही चौबिसै घण्टा काम गर्नुपर्ने हुन्छ । ‘छोरी मान्छे’ अबेरसम्म बाहिर बस्नु हुँदैन् भन्ने समाजको पुरानो सोच छ । महिलाप्रति समाजले तय गरेका विभिन्न धारणाले पनि आईटीमा महिलाको आकर्षण नबढाउन केही भूमिका खेलेको देखिन्छ । विस्तारै ती धारणाहरू तोड्दै महिलाहरू बाहिर आउन थालेका छन् । छोराभन्दा छोरी कुनै पनि कुरामा कम छैनन् भन्ने चेतनाको विकास भइरहेको छ ।

पछिल्लो समय विभिन्न संस्थाहरू आईटी क्षेत्रमा महिलाको सहभागीता बढाउन लागिपरेका छन् । टेक उद्योगमा महिलाहरूको अझै सहभागीता बढाउनुपर्ने उनको भनाइ छ । ‘महिलाले भिन्न दृष्टिकोण लिएर आउँछन् । उनीहरू धेरै बाधा अड्चन खेपेर त्यँहासम्म आएका हुन्छन्,’ उनी भन्छिन, ‘धेरै समस्यासँग जुधेर आइसकेको मान्छेसँग धेरै क्षमता हुन्छ । यो क्षमता नेतृत्वदायी भूमिकामा प्रयोग गर्न सकियो भने राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ ।’ 

महिलाहरू ‘मल्टी टास्क’ गर्न सक्षम हुन्छन् । त्यसैकारण उनीहरूले एकैसमयमा धेरै कामहरूको सहजै व्यवस्थापन गर्न सक्छन् । एम्निलले पनि जब भ्याकेन्सी खाली हुँदा महिलाहरूलाई नै विशेष प्राथमिकता दिने गरेको छ । तर पनि कुल कर्मचारीको संख्यामा २० देखि २५ प्रतिशत मात्रै महिला छन् ।

प्रोजेक्टलाई ड्राइभ गर्ने धेरै महिलाहरू नै रहेका उनले बताइन् । ‘एम्निलले महिलालाई प्राथमिकता दिदै आएको छ । प्रोजेक्टलाई ड्राइभ गर्ने धेरै महिलाहरू नै हुनुहुन्छ,’ उनले भनिन, ‘हाम्रो हेड अफ प्रोजेक्ट म्यानेजर नै महिला हुनुहुन्छ ।’

प्राय हरेक क्षेत्रमा महिलालाई कम पत्याउने गरिन्छ । तर आईटी क्षेत्रमा त्यस्तो नभएको अलिसाको अनुभव छ । उनी अगाडि भन्छिन्, ‘महिलाले मैले सक्दिन्न होला भन्ने भावना त्याग्नु पर्छ । ब्रेभअप हुनुपर्छ । सक्षमताको परिभाषा बदल्नु पर्छ ।’

आईटीलाई सरकारले बुझेन

नेपालको आईटी क्षेत्र अहिलेको स्थितसम्म आफ्नै बलबुतामा आइपुगेको हो । सरकारको कुनै पनि सहयोग छैन् । निजी क्षेत्रको मिहिनेतले नेपालको आईटी उद्योग यहाँसम्म आएको अलिसा बताउँछिन् ।

‘आईटी क्षेत्रलाई माथि ल्याउन हामी जस्तो मान्छे दिनरात लागेका छौं,’ अलिसा भन्छिन्, ‘हामीलाई न सरकारसँग मतलब छ, न त कुनै राजनीतिक दलसँग । सरकारको सहयोग बिना आईटी उद्योग यहाँसम्म आइपुगेको छ । तर यदी साच्चै सरकारको सपोर्ट भएको बिलियर डलरको उद्योग हुन सक्थ्यो ।’ 

null

नेपालबाट एक वर्षमा मात्रै ६७ अर्ब बढीको सेवा निर्यात भएको डेटा केही समय अगाडि बाहिर आएको थियो । सरकारले भर्खर भर्खर आईटीलाई प्राथमिकतामा राख्न थालेको छ । तर पनि आईटीलाई अझै राम्रोसँग बुझ्न सकेको छैन् । 

सरकारीस्तरमै भएका मानिसले आईटी उद्योगलाई राम्रोसँग नबुझेका अलिसाको भनाइ छ । 

अबको योजना 

अलिसाको अबको मुख्य योजना भनेको आफ्नो स्वास्थ्यलाई तन्दुरूस्त राख्ने हो । ‘रूटिन लाइफ’ खासै नरूचाउने उनी स्वास्थ्यमा विशेष ध्यान दिने योजना बनाइरहेकी छन् । केही समययता योगा कक्षामा समेत जान थालेकी छन् । 

अबका दिनमा स्वास्थ्यलाई मुख्य प्राथमिकता दिने उनले बताइन । ‘अब स्वास्थ्यलाई प्राथमिता दिन्छु । काममा मात्रै केन्द्रित हुन्न,’ उनले भनिन, ‘त्यस बाहेक भविष्यमा किताब पढ्ने, गार्डेनिङ गर्ने र बच्चाको केयरमा बढी केन्द्रित हुने योजना छ ।’

अहिले उनको ८ वर्षको एउटा बच्चा रहेको छ । अफिस बाहेक धेरै समय उनको बच्चासँगै बितिरहेको हुन्छ । व्यक्तिगत रूपमा आफ्नो स्वास्थ्यलाई स्वस्थ्य राख्न विशेष ध्यान दिने र संस्थागत रूपमा एम्निल टेक्नोलोजीजमार्फत धेरैलाई रोजगारी अवसर सिर्जना गर्ने पनि योजना रहेको अलिसा बताउँछिन् ।