कीवर्डहरू -

नवीकरण दस्तुर एकमुष्ट २० अर्ब बुझाउने निर्णयप्रति टेलिकमका कर्मचारीहरूको ध्यानाकर्षण

नवीकरण दस्तुर एकमुष्ट २० अर्ब बुझाउने निर्णयप्रति टेलिकमका कर्मचारीहरूको ध्यानाकर्षण

नेपाल टेलिकमका कर्मचारीहरूले नविकरण दस्तुर वापत एकमुष्ट २० अर्ब बुझाउने सञ्चालक समितिको निर्णयमा टेलिकमका कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

टेलिकमका कार्यरत कर्मचारीहरूका चारवटा संगठनले विज्ञप्ती जारी गर्दै एकमुष्ट रुपमा रु.२० अर्ब बुझाउने भनेर २०८१ बैशाख १३ गतेको सञ्चालक समितिबाट भएकोप्रति आपत्ति जनाएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल टेलिकमले प्रचलित ऐन बमोजिम अनुमति प्राप्त गरी विगत २५ बर्ष देखी सञ्चालन गरिरहेको GSM सेवाको नविकरण सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट मिति २०८१/०१/०४ गते प्रेषित पत्रमा उल्लेखित तेस्रो नवीकरण दस्तुर सम्बन्धि विषयमा विगतको प्रचलन तथा विधि पद्धति समेतलाई वेवास्ता गरी कर्मचारी प्रतिनिधि सञ्चालक सदस्य समेत अनुपस्थित रहेको समयमा यस अघि नेपाल सरकार मन्त्रीपरिषदले कम्पनीलाई नविकरण दस्तुर बुझाउन गरिएको सहुलियत समेत कट्टी हुने गरी एकमुष्ट रुपमा रु.२० अरब बुझाउने भनि मिति २०८१ बैशाख १३ गतेको सञ्चालक समितिबाट निर्णय भएको भन्ने सुनिन आएकोले यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

कम्पनीलाई दिर्घकालीन असर पार्ने विषयहरुमा निर्णय गरिदा गम्भिर बन्न सरोकारवाला सबैमा चार संस्थाले आग्रह गरेका छन् । 

कम्पनीका रणनीतिक योजना, आयोजना, दिर्घकालीन नीति, लगानीको क्षेत्र पहिचान, सेवाग्राही लाभका विषय, कर्मचारी र श्रम सरोकारका विषयहरुमा उदासिन पक्षहरुबाट कम्पनीलाई दिर्घकालीन असर पर्ने विषयहरुमा हठात रुपमा निर्णय गरिनुलाई स्वभाविक मान्न नसकिने उनीहरूको भनाइ छ । 

नेपालको सविधानको कर सम्बन्धी अवधारणालाई लत्याउदै तथा दूरसञ्चार ऐन २०५३ मा नविकरण दस्तुर सम्बन्धी स्पष्ट व्यवस्था नभएका विषयहरुमा निर्णय नगर्न जोडदार माग गरेका छन् । 

राष्ट्रको सञ्चारको रुपमा अटुट सेवा प्रदान गरिरहेको नेपाल टेलिकमको भविष्य सुनिश्चित गर्न सक्ने, हालको प्रविधि र बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने, सेवाग्राहीले सर्वसुलभ सेवा पाउने, कार्यरत कर्मचारीहरुको रोजगारी सुनिश्चित हुने, राज्य कोषमा निरन्तर योगदान भैरहने लगायतका विषयहरु मनन गरी नयाँ दूरसञ्चार ऐन तथा नियमावली र प्रष्ट कानूनी एवं संस्थागत निर्णय गरी नेपाल टेलिकमको सेवा प्रवाहमा असर नपर्ने गरेर मात्र यस्ता विषयहरुमा अगाडि बढ्न सम्बद्ध सबैमा कर्मचारीहरूको अपिल छ । 

अन्यथा कम्पनी, कर्मचारी र सेवाग्राहीको हितार्थ संघर्षमा जान बाध्य हुने चेतावनी समेत कर्मचारीहरूले दिएका छन् ।