कीवर्डहरू -

भारतको फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी

भारतको फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी

फोनपे भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ । 

बैंकिङ क्षेत्रका प्रतिनिधि, भुक्तानी प्रणाली प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ।

उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक फोनपे ले समर्थन गरेको थियो जो नेपाल-भारत क्रस बोर्डर युपीआई अन्तरआवद्दताका लागि एनआईपीएलको काउन्टरपार्टी पनि हो ।

उक्त कार्यक्रममा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआईको सम्भावनाको बारेमा विशेष सम्बोधन गरेका थिए ।

कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो । उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा  - ICT/MIS कन्सल्टेन्ट्, एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधि रहेका थिए । 

उक्त प्यानल छलफलमा, क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन (Compliance) मागहरूको विषयमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा भारतको फोनपेका कार्यकारी अधिकृत रितेश पाईले सेवाहरूको प्रदर्शनी गरेका थिए । सो प्रस्तुतिमा भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा हुने समाधानलाई उजागर गरिएको थियो । 

नेपाल भारतीय पर्यटकहरु बीचमा धेरै लोकप्रिय गन्तव्य हो । पर्यटकहरुले अब विभिन्न पर्यटक स्थलहरू, खुद्रा स्टोरहरू, धार्मिक स्थलहरू र अन्य लोकप्रिय स्थानहरूमा भुक्तानी गर्न युपीआई  प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले नेपालमा फोनपे क्युआरमा दर्ता भएका व्यवसायिक स्थानहरूमा युपीआई सक्षम एपबाट क्यु.आर कोडहरू सजिलै स्क्यान गर्न सक्नेछन् ।

यो सेवा फोनपे को  एनपीसीआई  इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (NIPL) सँगको साझेदारी मार्फत सहजीकरण गरिएको हो । यस साझेदारी मार्फत फोनपे ले, भुक्तानी सेवा प्रदायकहरू, अग्रणी बैंकहरू र वालेटहरूमा क्यु.आर कोड-आधारित भुक्तानीहरूलाई  सक्षम बनाएको  छ र  भारतीय यात्रुहरूलाई लेनदेनको लागि युपीआई प्रयोग गर्न सुविधा  दिएको छ ।

अब छिट्टै नेपालबाट भारत भ्रमण गर्ने पर्यटकहरुले पनि युपीआई  क्युआर कोड स्क्यान गर्न, वालेटमा आधारित एपहरू जस्ता वित्तीय साधनहरू प्रयोग गरी सजिलै भुक्तान गर्न मिल्ने छ ।