कीवर्डहरू -

सोरू, सगरमाथा क्षेत्र र बाजुरामा क्यासिफिकको स्याटेलाइट इन्टरनेट सञ्चालनमा

सोरू, सगरमाथा क्षेत्र र बाजुरामा क्यासिफिकको स्याटेलाइट इन्टरनेट सञ्चालनमा

क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइटले सोरू, सगरमाथा क्षेत्र र बाजुरामा स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्याएको छ । हालै कर्णालीको सोरू गाउँपालिका, सगरमाथा क्षेत्र र बाजुरामा स्याटेलाइट इन्टरनेट सञ्चालनमा आएको हो । 

सोरू गाउँपालिकामा आईटेल नेटवर्क, सगरमाथा क्षेत्र र बाजुरमा एभरेष्ट लिंकले स्याटेलाइट इन्टरनेट राखेका हुन् । सोरू गाउँपालिकाले अहिले स्याटेलाइट इन्टरनेट सरकारी एप्लिकेसनमा प्रयोग गर्ने जनाएको छ । त्यसपछि गाउँपालिकाका अन्य ठाउँमा पनि विस्तार गर्ने योजना रहेको छ । 

सगरमाथा परामिड क्षेत्रमा पर्यटकहरूलाई लक्षित गर्दै  एभरेष्ट लिंकले भरपर्दो र गुणस्तरीय सेवा दिन स्याटेलाइट इन्टरनेट राखेको हो । यस्तै बाजुरामा जर्मनीको संस्था जीआईजेडले सशक्तिकरणको एउटा परियोजना सञ्चालन गरिरहेको छ । बाजुरामा यसअघि नै इन्टरनेट सेवा पुगिकसकेको थियो । तर भरपर्दो इन्टरनेट सेवा नहुँदा केन्द्रसँग सम्पर्क गर्न अप्ठ्यारो भएपछि जीआईजेडले स्याटेलाइट इन्टरनेट प्रयोग गरिरहेको छ । 

विशेष गरी दुर्गम ठाउँ तथा विपद्को समयमा भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवाका लागि स्याटेलाइट इन्टरनेट उपयोगी हुन्छ । तर पछिल्लो समय सुगम ठाउँमै पनि ब्याकअप इन्टरनेटको रूपमा पनि स्याटेलाइट इन्टरनेट हुनुपर्ने आवश्यकता देखिन थालेको छ ।

नेपालमा ब्याअप र भरपर्दो इन्टरनेटको रूपमा ‘स्याटेलाइट इन्टरनेट’ अपरिहार्य भएको क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइटका नेपाल निर्देशक प्रदिप पन्हौरले बताए । 

 ‘केही दिन अगाडि इन्टनेट बन्द हुँदा विदेशमा सेवा दिने नेपाली आईटी कम्पनीहरू मर्कामा परेका थिए । यस्तो अवस्थामा सहज र छरितो सेवा प्रवाहको लागि स्याटेलाइट इन्टरनेट ब्याकअपको रूपमा अपरिहार्य देखिएको छ,’ उनले आईसीटी समाचारसँग भने, ‘यसका साथै स्याटेलाइट इन्टरनेट भरपर्दो, गुणस्तरीय र निरन्तर सेवा प्रवाहका लागि सबैका लागि उत्तिकै उपयोगी छ ।’