कीवर्डहरू -

इन्ड्राइभले छिट्टै बीमाको सुविधा पनि ल्याउँदै छः निर्देशक रिता पोखरेल (अन्तर्वाता)

इन्ड्राइभले छिट्टै बीमाको सुविधा पनि ल्याउँदै छः निर्देशक रिता पोखरेल (अन्तर्वाता)

करिब २ वर्ष अगाडि नेपालमा विदेशी राइड हेलिङ प्लेटफर्म इन्ड्राइभ सुरू भएको थियो । सुरू २ वर्ष अगाडि भएपनि नेपालमा दर्ता नहुँदा औपचारिक रूपमा सार्वजनिक हुन सकेको थिएन । 

लामो प्रयासपछि इन्ड्राइभ दर्ता भएसँगै यही वैशाख २४ गतेबाट कम्पनीले नेपालमा औपचारिक रूपमा सेवा सुरू गरेको छ । दर्ता भइसकेपछि इन्ड्राइभले १० प्रतिशत कमिसन लिने थालेको छ भने नेपालका लागि निर्देशक समेत नियुक्त गरेको छ । 

इन्ड्राइभ नेपालको निर्देशकमा रिता पोखरेल नियुक्त भएकी छन् । उनी एक वर्षदेखि इन्ड्राइभको बिजनेस डेभलपमेन्टमा कार्यरत थिइन । उनै पोखरेलसँग इन्ड्राइभ र आगामी योजना लगायतका विषयमा आईसीटी समाचारका लागि आईसीटी समाचारले गरेको सम्पादित कुराकानी


विगत २ वर्षदेखि इन्ड्राइभले नेपालमा सेवा दिँदै आएको छ । तर औपचारिक रूपमा सार्वजनिक चाँहि भर्खरै मात्र गर्नुभयो, किन ? 

नेपालमा इन्ड्राइभ सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पुरा गर्न समय लाग्दा औपचारिक रूपमा सार्वजनिक गर्न ढिलाइ भएको हो । यो समयमा हामीले दर्ता प्रक्रिया सबै पुरा गर्यौं । हात्तिसारमा भौतिक कार्यालय समेत राखिसकेका छौं । 

बजारमा अन्य राइड शेयरिङ प्लेटफर्महरू पनि छन् । अरूभन्दा इन्ड्राइभ कसरी फरक छ ? 

इन्ड्राइभमा बार्गेनिङको सुविधा छ । यसले यात्रु र राइडरलाई आफ्नो ‘फेयर प्राइस’ निर्धारण गर्न मद्दत गर्छ । यो हाम्रो युनिक सेलिङ पोइन्ट हो । 

तर यात्रुले धेरै मूल्य घटाउन भने पाउनुहुन्न । त्यसमा हामीले लिमिट गरेका छौं । ड्राइभर र यात्रुलाई मर्का नपर्ने गरी लिमिट तय गरेका छौं, जसले दुवैलाई फाइदा पुग्छ । 

यो बाहेक हामीले कमभन्दा कम कमिसनमा सेवा दिने हाम्रो सधैं प्रयास रहन्छ । फेयर बिजनेस हाम्रो नीति पनि हो । 

पछिल्लो समय इन्ड्राइभमा नयाँ फिचर्सहरू केही थपिएका छन् ? 

प्रयोगकर्ताहरू बढ्दै जाँदा उहाँहरूलाई नयाँ अनुभव दिन हामीले युआईमा समेत केही परिवर्तन गरेका छौं । इन्ड्राइभमा आएका कत्ति फिचर नेपालमा उपलब्ध छन् कत्ति छैनन् । 

null

प्राविधिक पाटो स्मुथ बनाउन ब्याकएण्डमा पनि हामीले केही परिवर्तन गरेका छौं । अहिले अटो फेयर भन्ने सुविधा थपिएको छ । यसबाट आफुले दिएको फेयर ड्राइभरले अफर गर्नुभएको छ भने त्यो अटो एसेप्ट हुन्छ । 

यसबाट रियल टाइम डिल्स (आरटीडी) मोडलमार्फत यात्रुले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर पठाउन सक्छन् । त्यसैकारण अन्य प्लेटफर्मभन्दा यो फरक छ ।

औपचारिक रूपमा सार्वजनिक भएसँगै इन्ड्राइभले राइडरबाट १० प्रतिशत कमिसन समेत लिन थालेको छ । भविष्यमा यो कमिसन बढ्छ वा घट्छ ? 

भविष्यको कुरा गर्दा इन्ड्राइभले लिने कमिसन बढ्दैन् । हामी १० प्रतिशतभन्दा माथि जाँदैनौं । यो १० प्रतिशतमा भ्याट लगायत सबै शुल्क समावेश रहेको छ । चालकबाट १० प्रतिशत कमिसन बाहेक अन्य कुनै पनि शुल्क लिँदैनौं । 

विदेशमा इन्ड्राइभको कमिसन १० प्रतिशतभन्दा माथि छैन् । त्यसैकारण नेपालमा पनि १० प्रतिशत माथि कमिसन लिँदैनौं । 

डिजिटल भुक्तानीका लागि इन्ड्राइभले आईएमई पेसँग साझेदारी गरेको छ । यस बारे बताइदिनुन...

राइडरले तिर्ने कमिसनलाई सहज र सिमलेस बनाउनका लागि हामीले आईएमई पेसँग सहकार्य गरेका हौं । राइडरले आईएमई पेबाटै कमिसन इन्ड्राइभलाई भुक्तानी गर्न सक्नुहुन्छ भने प्रयोगकर्ताले पनि आईएमई पेमार्फत आफ्नो यात्राको शुल्क भुक्तानी गर्न सक्नुहुन्छ ।

आईएमई पे नेपालको लोकप्रिय डिजिटल वालेट समेत हो ।  आईएमई पेको युजर एक्सपेरियन्सदेखि सबै कुरा स्मुथ छ । इन्ड्राइभ र आईएमईको भिजन पनि कता कता मिल्न जान्छ । त्यसले गर्दा पनि यो सहकार्य सम्भव भएको हो । 

इन्ड्राइभको सेवा काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा उपलब्ध रहेको छ । देशका अन्य ठाउँमा विस्तार गर्ने योजना के छ ? 

तत्काललाई देशका अन्य भागमा विस्तार गर्ने योजना छैन् । अहिलेलाई काठमाडौं उपत्यका, पोखरा र भरतपुरको सेवालाई उत्कृष्ट बनाउनेमा केन्द्रित छौं । 

भविष्यमा माग र आवश्यकता अनुसार देशका अन्य ठाउँमा पनि जान सक्छौं । 

टुटलबाट सुरू भएको नेपालको राइड शेयरिङ बजारमा अहिले करिब दर्जन सेवा प्रदायकहरू छन् । यो प्रतिस्पर्धालाई इन्ड्राइभले कसरी हेर्छ ? 

प्रतिस्पर्धालाई हामी राम्रो रूपमा हेर्छौं । प्रतिस्पर्धाले तपाईलाई ब्यूझाउँछ । यसले प्रयोगकर्तालाई थप छनौटको विकल्प प्रदान गर्दछ । तर प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ । प्रतिस्पर्धा हुनुपर्छ, यसलाई हामी सकारात्मक रूपमा लिन्छौं । 

बजारमा अन्य राइड शेयरिङ प्लेटफर्मले बीमाको सुविधा ल्याएका छन् । इन्ड्राइभले बीमाको सुविधा ल्याउँछ की ल्याउँदैन् ? 

इन्ड्राइभले छिट्टै बीमाको सुविधा ल्याउँदै छ । यसका लागि तयारी गरिरहेका छौं । पहिलेदेखि नै यसमा योजना बनाइरहेका थियौं । पाइपलाइनमै छ । हाम्रो शीर्ष प्राथमिकतामै बीमा सुविधा छ । 

यसअघि कमिसन नलिँदा इन्ड्राइभ नेपाली प्रयोगकर्तामाझ लोकप्रिय थियो । तर कमिसन लिन थालेपछि प्रयोगकर्ता घट्ने आकलन गर्नुभएको छ की छैन् ? 

कमिसन लिँदा केही इम्प्याक्ट आउन सक्छ । यसले ठूलो प्रभाव पार्ला जस्तो लाग्दैन् । किनभने प्रयोगकर्ताले इन्ड्राइभ चलाउनु भएको छ, सुविधा बुझ्नु भएको छ, उहाँहरूले मन पराउनु भएको छ । यदी तपाईलाई केही कुरा मन परेको छ भने पैसा तिर्नु नै हुन्छ । 

null

बाईक र ट्याक्सी बाहेक अन्य सेवामा जाने योजना छ ? 

भविष्यमा शहरको आवश्यकता र माग अनुसार अन्य सेवा विस्तार गर्न सक्छौं । काठमाडौं र पोखरामा बाईक र ट्याक्सी बाहेक अरू चल्दैनन् । भरतपुरमा अटो चल्छ ।

भरतपुरमा हामीले भर्खर भर्खर सेवा सुरू गरेका हौं । तर भविष्यमा अटोको पनि माग हुन थाल्यो भने राख्छौं । हामीले बिजनस मात्रै गर्नेभन्दा पनि त्यस समुदायको समस्यालाई समाधान गर्ने हो । 

प्रयोगकर्ताको सुरक्षालाई कसरी ध्यान दिनुभएको छ ? 

हामीले प्रयोगकर्ताको सुरक्षालाई सधैं पहिलो प्राथमिकता राखेका हुन्छौं । हामीसँग इन्सिडेन्ट म्यानेजमेन्ट टिम नै छ । २४ घण्टा सपोर्ट टिम समेत छ । 

राइडरहरूलाई ट्रेनिङ दिनु भएको छ की छैन् ? 

तपाईहरूले अहिलेसम्म तालिम दिनुभएको छैन् भनेर सोच्नु भएको छ होला । हामीले भौतिक रूपमा ट्रेनिङ नदिएपनि भिडियो ट्युटोरियलहरू बनाएका छौं । ह्वाट्सएप र च्याट सपोर्ट दिन्छौं ।

हामीसँग फिल्ड एजेन्ट पनि हुनुहुन्छ, जसले ड्राइभरहरूलाई एप चलाउन सिकाउनु हुन्छ । राइडरका लागि भौतिक तालिम र सपोर्टको सुविधा छैन् । तर छिट्टै हामी त्यो सेवा पनि सुरू गर्दैछौं ।

इन्ड्राइभ नेपालको निर्देशकमा नियुक्त हुनु भएको छ । अब तपाईको योजना के के छन् ? 

इन्ड्राइभ आफैमा स्थापित एउटा ब्राण्ड हो । नेपाली बजारमा आउन सक्ने चुनौतीहरूलाई सामान गर्दै नेपाली बजारमा पनि इन्ड्राइभलाई एउटा ब्राण्डको रूपमा स्थापित गर्ने र बिजनेसको ग्रोथमा काम गर्ने योजना छ ।

अन्त्यमा, नेपालमा नीतिगत चुनौतीहरू केही पाउनु भएको छ ? 

पहिला राइड हेलिङको कानुन थिएन । त्यसले केही असहजता भएको थियो । तर सरकारले हालै राइड हेलिङलाई मान्यता दिएको छ ।

सरकारले कानुन ल्याउनुमा हाम्रो पनि महत्त्पूर्ण योगदान छ । चुनौतीहरू आउँछन्, त्यसलाई सबै मिलेर व्यवस्थापन गर्दै जानुपर्छ ।