कीवर्डहरू -

बागलुङको बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

बागलुङको बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ। गाउँपालिकाले खेर गइरहेको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने भएको हो ।

ग्रिन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। वडा नं २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शतप्रतिशत स्वच्छ ऊर्जा उत्पादन गरिने उनको भनाइ छ।

ग्रिन हाइड्रोजन उत्पादनका लागि नेपाल इनर्जी फाउन्डेसन, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, इन्भोटेक युके, इन्भेस्टिन ग्रिनलगायत संस्थाहरुसँग सहकार्य गरेको अध्यक्ष अधिकारीले बताइन्।

जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि खेर गएको पानीलाई सदुपयोग गरी हाइड्रोजन उत्पादन गरिने अध्यक्ष अधिकारी बताउँछिन्। विश्व बजारमा नयाँ प्रविधिमार्फत उत्पादन गरिने ऊर्जाका रुपमा रहेको ग्रिन हाइड्रोजन खासगरी खाना पकाउनका लागि उपयोग हुने अधिकारीको भनाइ छ।

'विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर नयाँ कामको सुरुवात गरेका छौँ, अब गिरिङ्गी जलविद्युत् आयोजनामा हाइड्रोजन प्लान्ट निर्माण गरिनेछ,' उनले भनिन्, 'अहिले आवश्यक उपकरण, प्लान्ट ल्याउने काम हुँदैछ, योजनाअनुसार काम सम्पन्न भएमा सन् २०२४ भित्रै हाइड्रोजन उत्पादनको काम सम्पन्न हुनेछ।'

सुरुमा गिरिङ्दी खोलाका उपभोक्तालाई चुल्हो र सिलिन्डर वितरण गरी यसको प्रयोगमा ल्याइने र पछि सबैतिरै विस्तार गर्ने योजना रहेको उनले बताइन् । गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका विभिन्न असर पर्दै गएको हुँदा गाउँपालिकाले शतप्रतिशत स्वच्छ ऊर्जा मानिने ग्रिन हाइड्रोजनको उत्पादन गरी र प्रयोग बढाउने बताए ।