सन् १९६० को दशकमा जापानको आर्थिक वृद्धि तीव्र गतिमा बढिरहेको थियो । सुपरमार्केटहरूले खाद्य वस्तुहरूको बिक्रीबाट आफ्नो दायरलाई कपडा हुँदै अन्य कमोडिटिजसम्म विस्तार गर्न थालेका थिए ।
बारकोड प्रविधि हुँदासम्म सुपरमार्केट क्यासियरहरूले म्यानुअल रूपमा प्रत्येक आईटमहरू इन्टर गर्नुपर्थ्यो । जसले धेरै समय लिन्थ्यो ।
सुपरमार्केटहरुमा एकदमै लामो लाइन हुन थालेपछि पोइन्ट अफ सेल्स प्रविधिको विकास भयो । यसले वस्तुहरूलाई व्यक्तिगत रूपमा स्क्यान गर्न र त्यसपछि कम्प्युटरद्वारा दर्ता गर्न अनुमति दिन्थ्यो ।
यो प्रविधि बारकोडको एकदमै सुरुवाती भर्सन रहेको थियो । तर पोइन्ट अफ सेल्स प्रविधिले पनि पैसा तिर्नका लागि सुपरमार्केटहरूको लामो लाइन समाधान भएन ।
किनभने सुरुवाती भर्सनमा एक दिशामा कोडिङ गर्न मिल्ने मात्रै व्यवस्था रहेको थियो । यसका साथै बारकोडले सूचनाको २० अल्फान्युमेरिक क्यारेक्टर मात्रै स्टोर गर्न सक्थ्यो ।
त्यसपछि यो सबै समस्या समाधान गर्न जापानीज कम्पनी, टोयोटाको सब्सिड्युरी डेन्सो वेभले सन् १९९४ मा क्युआर कोड सिस्टमको विकास गरेको थियो, जुन अनुसन्धानको नेतृत्व गरेका थिए मासाहिरो हाराले ।
त्यसबेला डेन्सो वेभले सवारीसाधन र पार्टपुर्जाहरू ट्रयाक गर्नका खान्जी, काना र अल्फान्युमेरिक वर्णहरू इन्कोड गर्न विकास गरेको थियो ।
बारकोडको सिमा थाहा पाएपछि सुपरमार्केटहरुले डेन्सो वेभलाई सम्पर्क गरेका थिए । अनि हाराले बारकोडलाई युनीडिरेक्स्नल बाट टु–डी कोडमा परिणत गरिदिएका थिए ।
यसले गर्दा बारकोडमा अझै धेरै जानकारी राख्न मिल्ने भएको थियो । हाराले क्युआरकोडको आकार वर्गाकार दिने निर्णय समेत गरेका थिए । किनभने अन्वेषण गर्दा यो सजिलै पत्ता लाग्ने आकार हो भनेर पाइएको थियो ।
वर्गाकार आकारले तेर्सा र ठाडो दुवै तरिकाले जानकारी कोडिङ गर्न पनि मद्दत गर्यो भने क्युआरकोडको जानकारीलाई बारकोड भन्दा १० गुणा चाँडो रिड गर्न सम्भव बनायो । यो सबै अन्वेषणलाई डेन्सो वेभले सन् १९९४ मै प्याटेन्ट अधिकार नराखेर सार्वजनिक गरेको थियो ।
सन् २००० मा ISO International Standards ले क्युआर कोडलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेपछि यसको प्रयोग आगो जसरी अत्याधिक रूपमा फैलियो । अटोमोटिभ उद्योगबाट सुरू भएको क्युआर कोडको प्रयोग अहिले उत्पादन, ढुवानी, लेनदेन, जानकारी, खुद्रा पसल, व्यवस्था लगायतका थुप्रै ठाउँ र काममा प्रयोग हुँदै आएको छ ।
के हो क्युआर कोड ?
क्युआर कोडको पूर्ण रुप क्वीक रिस्पोन्स कोड हो । यो कोड मोबाइल फोनले सजिलै पढ्न सक्छ । यसमा म्याट्रिक्स बारकोडको प्रयोग गरेर स्पेसिङको सिर्जना गरिएको हुन्छ ।
स्क्वायर ढाँचामा देखा पर्ने क्युआर कोडले इन्कोड गरिएको डेटा स्टोर गरेको हुन्छ । एक पटक क्युआर कोड स्क्यान गरेपछि त्यहाँबाट धेरै जानकारी प्राप्त गर्न सकिन्छ । क्युआर कोडले ७ हजार ८९ डिजिट र ४ हजार २ सय ६९ क्यारेक्टर स्टोर गर्न सक्छ, जसमा पंकचुएसन मार्क र विशेष क्यारेक्टरहरु पनि पर्छन् । जसको साइज ३ केबी हुन्छ ।
क्युआर कोड २ प्रकारका हुन्छन् । एउटा स्ट्याटिक र अर्को डायनामिक । स्टयाटिकमा एकपटक डेटा राखेर तयार गरेपछि इडिट गर्न सकिदैन् तर डायनामिकलाई भने इडिट गर्न सकिन्छ ।
नेपालमा समेत पछिल्लो समय डिजिटल भक्तानीदेखि अन्य विभिन्न उत्पादन र जानकारीहरूमा क्युआर कोडको भरपुर प्रयोग हुँदै आएको छ ।