कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप बन्द भएको छ । दुई दशक चलिरहेको अग्रणी अनलाइन भिडियो कल सेवा स्काइप मे ५ देखि सधैंका लागि बन्द भएको हो ।
सन् २००३ मा निकलस जेनस्ट्रोम र जानस फ्रिसले स्काइपको सुरूवात गरेका थिए । सुरूमा इन्टरनेटमार्फत फोन कल गर्न दिने सेवा थियो । पछि यसले भिडियो कल र निजी सन्देश पठाउने सुविधा पनि उपलब्ध गराएको थियो ।
कुनै समय स्काइपका ३० करोडभन्दा बढी प्रयोगकर्ताहरू रहेका थिए । सन् २००५ मा ईबेले स्काइपलाई २.६ अर्ब डलरमा किनेको थियो । पछि सन् २००९ मा ईबेले पनि लगानीकर्ताहरूको समूहलाई बेचेको थियो ।
अनि ती लगानीकर्ताहरूले पनि माइक्रोसफ्टलाई बेचेका थिए । तर पछिल्ला वर्षहरूमा स्काइका प्रयोगकर्ताको संख्या घट्दै गएका थिए । किनभने यसलाई जुम, ह्वाट्सएप, स्ल्याक जस्ता प्रतिस्पर्धीले टक्कर दिइरहेका थिए ।
प्रतिस्पर्धामा टिक्न नसकेपछि माइक्रोसफ्टले स्काइप बन्द गर्ने निर्णय लिएको हो । सन् २०२० मा करिब ४ करोड प्रयोगकर्ता भएको स्काइपको प्रयोगकर्ता संख्या सन् २०२३ मा ३.६ करोडमा झरेको थियो ।
अब स्काइप प्रयोगकर्ताले अब सबै च्याट र कन्ट्याक्टहरूहरू माइक्रोसफ्ट टिम्समा सार्न सक्ने माइक्रोसफ्टले जानकारी दिएको छ ।