माईक्रोसफ्टले भर्खरै यस्तो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली सार्वजनिक गरेको छ, जुन जटिल र चुनौतीपूर्ण मेडिकल केसहरूमा मानवीय डाक्टरहरूभन्दा समेत राम्रो प्रदर्शन गरिरहेको छ। कम्पनीको दाबी अनुसार यो नयाँ प्रणाली चिकित्सा क्षेत्रमा “मेडिकल सुपरइंटेलिजेंस”को दिशा तर्फ ठूलो कदम हो।
यो एआई प्रणाली माईक्रोसफ्टको एआई यूनिटले तयार पारेको हो, जसको नेतृत्व ब्रिटिस टेक विशेषज्ञ मुस्तफा सुलेमान गरिरहेका छन्। यो प्रणाली ती परिस्थितिहरूमा काम गर्छ जहाँ रोगको पहिचान अत्यन्तै कठिन हुन्छ। यो प्रणाली अनुभवी डाक्टरहरूको टोलीझैँ केस–बाइ–केस विश्लेषण गर्छ।
माईक्रोसफ्टका अनुसार जब यो प्रणालीलाई ओपनएआईको एडभान्स ओ३ मोडेलसँग जोडियो, तब यसले न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनका ८०प्रतिशत भन्दा बढी केस स्टडिजमा सहि निदान ग¥यो। अर्कोतिर, जब यिनै केसहरू अभ्यासरत डाक्टरहरूलाई दिइयो—जसलाई न त कुनै किताब, न सहयोगी डाक्टर र न त कुनै च्याटबोटको सहयोग प्राप्त थियो, तिनीहरूको सफलता दर मात्र २०प्रतिशत रहेछ।
माईक्रोसफ्टले थप दाबी गरेको छ कि यो एआई प्रणाली मानवीय डाक्टरहरूभन्दा टेस्ट अर्डर गर्नमा पनि बढी कुशल र किफायती छ, जसले उपचार खर्च घटाउन सक्छ।
यद्यपि कम्पनीले स्पष्ट पारेको छ कि यो प्रविधिले डाक्टरहरूको भूमिका लिने छैन, बरु तिनीहरूको काम सहज बनाउनेछ। माईक्रोसफ्टले भनेको छ, “डाक्टरहरूको भूमिका केवल निदानसम्म सीमित छैन। तिनीहरूले बिरामी र तिनीहरूको परिवारसँग विश्वास पनि बनाउनु पर्छ, जुन एआई गर्न सक्दैन।”
माईक्रोसफ्टले यो प्रणालीलाई “डायग्नोस्टिक आर्केस्ट्रेटर” भन्दै आएको छ, जुन एक एजेन्टको रूपमा कार्य गरेर विभिन्न एआई मोडेलहरूसँग मिलेर कुन टेस्ट गर्नु पर्ने र सम्भावित निदान के हुन सक्छ भनी निर्णय गर्छ। यो प्रणाली एकैचोटि धेरै मेडिकल विशेषज्ञता सम्हाल्छ, जुन कुनै एक मानवीय डाक्टरले सम्भवतः गर्न सक्दैन।
मुस्तफा सुलेमानका अनुसार आगामी ५ देखि १० वर्षभित्र यो प्रणाली लगभग बिना गल्ती काम गर्न सक्षम हुनेछ। उनले भनेका छन्, “यसले विश्वभरिका हेल्थकेयर सिस्टममाथि रहेको ठूलो भार घटाउन सक्छ।”
यद्यपि कम्पनीले स्वीकार गरेको छ कि यो प्रविधि अहिलेसम्म सिधै बिरामीको उपचारमा प्रयोग गर्नका लागि तयार छैन। यसको “आर्केस्ट्रेटर” अझै परीक्षणको चरणमा छ, विशेष गरी सामान्य लक्षणहरू पहिचान गर्ने क्षमताका लागि।