लुम्बिनी प्रदेशमा आयोजित पहिलो ह्याकाथनमा सहभागीहरूले म्यानस एआईको प्रयोग गरी एक घण्टाको अवधिमा कुल १८ वटा एप, वेबसाइट तथा अन्य विभिन्न प्रोजेक्टहरू बनाएका छन् ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय, नेपालगन्जमा साउन १६ र १७ गते आयोजित यस ह्याकाथन कार्यक्रम सिङ्गापुरमा मुख्यालय रहेको एआई कम्पनी म्यानस एआईसँगको प्रत्यक्ष सहकार्यमा ‘थिङ्क, बिल्ड, एन्ड स्केल’ नाराका साथ आयोजना गरिएको थियो ।
कार्यक्रमले अहिलेको एआई युगमा कसरी कम्प्युटर कोडिङ तथा प्रोग्रामिङको ज्ञान नभएका व्यक्तिहरूले पनि सजिलै एप, वेबसाइट तथा अन्य विभिन्न प्रोजेक्टहरू बनाउन सक्छन् भन्ने कुरा देखाएको थियो ।
कार्यक्रमको पहिलो दिन एआई सम्बन्धी एक कार्यशाला सञ्चालन भएको थियो । यसमा एआईमा उत्सुक लुम्बिनी प्राविधिक विश्वविद्यालयका विद्यार्थी तथा अन्य व्यक्तिहरू गरी ४४ जना एआईका आधारभूत कुराहरू सिक्न भेला भएका थिए । कार्यशालामा उनीहरूलाई च्याटजीपीटी र जेमिनाई जस्ता एआई मोडेलहरू कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने विषयमा सिकाइएको थियो ।
साथै, सहभागीहरूले आफ्नो एआईको बुझाइको स्तर जाँच्न एउटा रमाइलो अन्लाईन क्विज पनि खेलेका थिए । उनीहरूले नोटबुकएलएम जस्ता टुलहरू प्रयोग गरेर ई–बुक, थेसिस र रिपोर्टहरूको सारांश निकाल्ने, किताबका विभिन्न पाठहरूबाट पोडकास्ट बनाउने, जागिरका लागि आवेदन दिएपछि एआईसँग नै कुरा गरेर अन्तर्वार्ताको तयारी गर्ने, एआईसँग प्रश्नोत्तर गरी परीक्षाको तयारी गर्ने जस्ता विधिहरूबारे व्यवहारिक ज्ञान प्राप्त गरे ।
कार्यक्रमको मुख्य आकर्षण भने शनिबार, अर्थात् ह्याकाथनको दिन थियो । पच्चीस जना सहभागीहरूले ह्याकाथनमा भाग लिई एआईलाई आफूले बनाउन चाहेको कुरा प्रम्प्ट मार्फत बताएर १८ वटा एप, वेबसाइट जस्ता प्रोजेक्टहरू बनाएका थिए । आफैले कुनै कोड नलेखिकन उनीहरूले प्रोजेक्टहरू तयार पारी अन्य सहभागीमाझ प्रस्तुत गरेका थिए । ह्याकाथनलाई सहज बनाउन म्यानस एआईले सम्पूर्ण सहभागीहरूलाई महँगो शुल्क तिरेर खरिद गर्नुपर्ने प्रो–एकाउन्ट र पर्याप्त क्रेडिट निःशुल्क उपलब्ध गराएको थियो ।
कार्यक्रमले सहभागिहरूलाई एआई मार्फत एप बनाउन कति सजिलो हुन सक्छ र यसले कसरी आफ्ना आइडियालाई सजिलै एपमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुरा महशुस गराएको थियो ।नेपालका साना सहरका विद्यार्थीहरूका लागि यस प्रकारका अवसरहरू बिरलैै प्राप्त हुने गर्छन् । त्यसैले टाढा–टाढाबाट पनि एआईमा चासो राख्ने व्यक्तिहरू सहभागी हुन आएका थिए ।
हालै नासाको ‘हल अफ फेम’मा सूचीकृत मनोज कुमार चौधरीले पनि यस ह्याकाथनमा सहभागी भएर ‘ब्लड बैंक म्यानेजमेन्ट सिस्टम’ निर्माण गरे । साथै, एक सहभागी कैलालीबाट दैनिक आठ घण्टा लामो आउजाउ गरी दुवै दिन कार्यक्रममा सहभागी हुन आएका थिए । त्यस्तै, विभिन्न पालिका र सरकारी निकायका सूचना प्रविधि अधिकृतहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए । विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उपस्थितिले लुम्बिनी प्रदेशमा एआईप्रति कति चासो छ भन्ने दर्शाएको थियो ।
प्रकाश चौधरीले बनाएको ’पुरानो पुस्तक’ नामक परियोजनाले ह्याकाथनमा पहिलो स्थान हासिल गरेको छ । चौधरीले आफ्नो व्यक्तिगत कथा सुनाउँदै भने, “२०६७ सालमा मैले सरकारी विद्यालयबाट एसएलसी सकेर उच्च शिक्षाका लागि सहरमा आउँदा नयाँ पाठ्यपुस्तक अत्यन्तै महँगा लागेका थिए,' उनले भने, 'विद्यालयका पुस्तकहरूको तुलनामा साईन्सका ठूला किताबहरू किन्न मलाई मुस्किल परेको थियो र त्यसबेला नेपालगन्जमा पुरानो पुस्तक किन्न पाइने कुनै ठाउँ थिएन । त्यसैले, म लामो समयदेखि नै पुराना पुस्तक किनबेचका लागि एउटा डिजिटल प्लेटफर्म बनाउन चाहन्थेँ । केही वर्षअघि मैले ’पुरानो पुस्तक’ को वेबसाइट सञ्चालन गर्ने उद्देश्यले डोमेन नेम पनि किनेको थिएँ ।'
तर, म पूर्णकालिक रूपमा जागिर गरिरहेको र एकै समयमा स्नातकोत्तरको अध्ययन गरिरहेका कारण वेबसाइट बनाउनका लागि कोड लेख्ने समय नपाएको उनको भनाइ थियो । यस कार्यक्रममा मैले म्यानस एआई प्रयोग गरेर सजिलै वेबसाइट बनाएको र अब यो वेबसाइटलाई चाँडै सञ्चालनमा ल्याई व्यवसायमा परिणत गर्ने उनले जानकारी दिए ।
उनको प्रोजेक्ट एआईले कसरी समस्याहरूलाई छिटो समाधान गर्न मद्दत गर्न सक्छ भन्ने एउटा उत्कृष्ट उदाहरण हो । विजेताहरूले केही दिनभित्रै म्यानसको मुख्यालय, सिङ्गापुरबाट प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।
सहभागीहरूलाई प्रशंसापत्र प्रदान गर्दै विश्वविद्यालयका कुलसचिव रेग बहादुर भण्डारीले विद्यार्थीहरूको उत्साहको सराहना गरे । निकट भविष्यमा एआई कति महत्त्वपूर्ण हुनेछ भन्ने कुरामा जोड दिँदै उनले भने, “सन् १९९० पछिका ३० वर्षहरू इन्टरनेटको युग थिए, अबको ३० वर्ष एआईको युग हुनेछ । ।” उनले विद्यार्थीहरूलाई सिक्न र अगाडि बढ्न सहयोग पुर्याउने हेतुले विश्वविद्यालयले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस कार्यक्रमले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा एआई क्लबको आवश्यकता पनि उजागर गरेको छ । विश्वविद्यालयले निकट भविष्यमा विद्यार्थीहरूका लागि एआई क्लब गठन गर्ने योजना बनाएको छ ।
वि.सं. २०७९ मा स्थापित लुम्बिनी प्राविधिक विश्वविद्यालय एक प्रादेशिक विश्वविद्यालय हो । हाल यस विश्वविद्यालयमा करिब २०० विद्यार्थीहरूले आईटी र इन्जिनियरिङ अध्ययन गरिरहेका छन् ।
नेपालमा एआई क्षेत्रमा काम गर्दै आएको प्लेटफर्म ’एनोभेटर्स’ ले यस ह्याकाथन आयोजना गरेको हो ।
यस संस्थाले नेपालका युवाहरूमा एआई साक्षरता र सीप प्रवद्र्धन गर्न चाँडै नै अन्य विश्वविद्यालयहरूसँग पनि सहकार्य गरी यस्तै एआई कार्यशाला तथा ह्याकाथन कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ । संस्थाको उद्देश्य एआईले मानिसहरूलाई विस्थापित गर्दैन, तर एआई प्रयोग गर्न जान्ने व्यक्तिहरू भने एआई प्रयोग गर्न नजान्ने व्यक्तिहरूभन्दा निश्चित रूपमा अगाडि रहनेछन् भन्ने सन्देश फैलाउनु हो ।