गुगलको एआई ओभरभ्यूज (AI Overviews) ले गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । रोलिङ स्टोन, भेराइटी, बिलबोर्ड लगायतका मिडिया प्रकाशन गर्ने पेनस्के मिडिया (Penske Media) ले गुगलविरुद्ध वाशिङ्टन डीसीको संघीय अदालतमा मुद्दा दायर गरेको छ ।
गुगलले आफ्नो एआई ओभरभ्यूज फिचरमा आफ्ना साइटका सामग्री अवैध रूपमा प्रयोग गरेको दाबी गरिएको छ। सोही क्रममा, एआई ओभरभ्यूजले ‘पीएमसी तथा अन्य प्रकाशकहरूको वेबसाइटमा प्रयोगकर्ता ट्राफिक घटाइरहेको र त्यसबाट हुने राजस्वमा प्रत्यक्ष असर परिरहेको’ आरोप लगाइएको छ।
मुद्दामा भनिए अनुसार, हाल गुगल सर्चमार्फत पेनस्के का साइटहरूमध्ये करिब २० प्रतिशत लिंकमा एआई ओभरभ्यूज देखिन्छ र यो प्रतिशत अझ बढ्ने अनुमान गरिएको छ। कम्पनीका अनुसार, यसै कारण सन् २०२४ मा यसको अफिलिएट राजस्व उच्चतम बिन्दुबाट एक तिहाइले घटेको छ।
यता, गुगलका प्रवक्ता जोसे कास्टानेडाले यी आधारहीन दावाविरुद्ध कानुनी बचाउ गर्ने भन्दै एआई ओभरभ्यूजले अझ विविध साइटहरूमा ट्राफिक पठाइरहेको दाबी गरेका छन्।
यसअघि यसै वर्ष शैक्षिक टेक कम्पनी Chegg ले पनि गुगलविरुद्ध मुद्दा दायर गरेको थियो। तर, कुनै ठूला अमेरिकी प्रकाशकबाट गुगलको एआई सर्च क्षमताविरुद्ध कानुनी कारबाही भएको यो पहिलो घटना हो।
गुगल मात्र नभई अन्य एआई कम्पनीहरू पनि हालै यस्ता कानुनी चुनौतीमा परिरहेका छन्। सन् २०२३ मा न्यूयोर्क टाइम्स ले ओपनएआई विरुद्ध समाचार सामग्री बिना अनुमति प्रयोग गरेको भन्दै मुद्दा दायर गरेको थियो। हालै एन्थ्रोपिक (Anthropic) ले आफ्नो Claude च्याटबोटमार्फत कपीराइट उल्लंघन गरेको अभियोगमा दायर सामूहिक मुद्दा मिलाउन १.५ अर्ब डलर तिर्न सहमत भएको थियो।