विश्वभर विद्युतीय गाडी (ईभी) को लोकप्रियता बढ्दो छ। बीवाईडी,टेस्लादेखि लिएर निसान लिफ, टाटा, एक्सपेङ, चाङ्गनसम्म, बजारमा विभिन्न मोडेलको गाडीले उपभोक्ताको ध्यान तानेका छन्।
नेपालमा पनि सडकमा अधिकांश ईभी गाडीहरू छन् । पेट्रोल–डिजेल चल्ने गाडीभन्दा वातावरणमैत्री र दीर्घकालीन फाइदा दिने भएकाले पनि यसको आकर्षण बढिरहेको छ।
तर अझै पनि धेरै उपभोक्ताहरूबीच केही भ्रम कायम छन्। अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा यहाँ इलेक्ट्रिक गाडीसम्बन्धी पाँच प्रमुख भ्रम र त्यसको वास्तविकता प्रस्तुत गरिएको छ।
विद्युतीय गाडी छिटो दौडिन सक्दैन
यो पूर्ण रूपमा गलत धारणा हो। वास्तविकतामा इलेक्ट्रिक गाडी पेट्रोल–डिजेल गाडीभन्दा छिटो एक्सिलरेट गर्छन्। कारण हो– टर्क (torque) तुरुन्तै उपलब्ध हुने भएकाले ईभीहरू चाँडै गतिमा पुग्छन्।
ईभीहरू खतरनाक हुन्छन्
इलेक्ट्रिक गाडीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीका कारण आगलागीको जोखिमबारे प्रश्न उठाइन्छ। तर तथ्यांकले देखाउँछ कि ईभीहरू पेट्रोल गाडीभन्दा बढी खतरनाक छैनन्।
सन् २०१२–२०२० बीच टेस्लामा २०५ मिलियन माइलमा एक पटक आगलागी भएको थियो भने अन्य गाडीमा १९ मिलियन माइलमै आगलागी भएको तथ्य सार्वजनिक छ। त्यसैले ईभी बढी जोखिमपूर्ण भन्ने दाबी प्रमाणित छैन।
ईभी परिवारका लागि सानो हुन्छ
अहिले बजारमा उपलब्ध धेरै ईभीहरू परिवारका लागि पर्याप्त ठूला र आरामदायी छन्। पेट्रोल गाडी जस्तै ईभीमा पनि पाँचजना मानिसहरू सजिलै बस्न सक्छन्। ईभीहरूमा पर्याप्त ट्रंक स्पेस र परिवारमैत्री प्रविधि (युएसबी पोर्ट, स्मार्ट इन्टिग्रेसन) पनि उपलब्ध छन्।
ईभी चार्ज गर्न महँगो, ढिलो र झन्झटिलो हुन्छ
यो पनि भ्रम मात्र हो। अमेरिकी ‘अल्टरनेटिभ फ्युल्स डेटा सेन्टर’का अनुसार ६६ kWh ब्याट्री भएको २०० माइल क्षमताको ईभी पूर्ण चार्ज गर्न करिब ९ डलर खर्च हुन्छ। पेट्रोलको तुलनामा यो निकै सस्तो हो।
घरमा रातभर चार्ज गर्ने बानी बसाल्दा चार्जको झन्झट रहँदैन। फास्ट चार्जर प्रयोग गर्दा एक घण्टाभित्र ८० प्रतिशत ब्याट्री भरिन्छ।
ईभी भरपर्दो हुँदैन
केही प्रयोगकर्ताले ईभीको भरपर्दोपनबारे शंका गरे पनि तथ्यांक फरक भन्छ। सामान्यतया मध्यम मूल्यका ईभीहरू लक्जरी मोडेलभन्दा बढी भरपर्दो देखिएका छन्।
साथै, ईभीमा चलायमान पाटपुर्जा कम हुने भएकाले मेकानिकल समस्या पनि कम हुने अपेक्षा गरिएको छ। प्रायः कम्पनीहरूले ८–१० वर्ष वा १ लाख माइलसम्म ब्याट्री वारन्टी पनि दिने गर्छन्।