सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय नेपाल टिमद्वारा मङ्गलबार आयोजित ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ को औपचारिक शुभारम्भ गर्दै मन्त्री खरेलले महिला र बालिकाहविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।
यस वर्षको विश्वव्यापी नारा ‘युनाइट टु एन्ड डिजिटल भायोलेन्स अगेन्स्ट अल वुमन एन्ड गल्र्स’ (सबै महिला र बालिकाहविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि एक होऔँ) निकै सान्दर्भिक रहेको भन्दै मन्त्री खरेलले डिजिटल दुनियाँ अब दैनिक जीवनभन्दा अलग नरहेको उल्लेख गरे ।
‘प्रविधिले सिकाइ र कामलाई सहज बनाए पनि धेरै महिला तथा किशोरीका लागि यो क्षेत्र अझै पनि जोखिमपूर्ण र असुरक्षित रहेको छ,’ उनले भने ।
‘अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमति बिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्छ,” मन्त्री खरेलले भने, ‘यसले महिलाको आवाज बन्द गराउने, उनीहरूलाई डिजिटल स्थानबाट बाहिर धकेल्ने र अभिव्यक्ति तथा सूचनाको मौलिक हक कुण्ठित गर्ने काम गर्छ ।’
अनलाइनमा सुरक्षित महसुस नगर्दासम्म डिजिटल प्रगतिलाई पूर्ण वा निष्पक्ष मान्न नसकिने उनको भनाइ छ ।
सञ्चार मन्त्रालयको मिसन पूर्वाधार निर्माण र सेवा विस्तारमा मात्र सीमित नभई प्रत्येक नेपाली नागरिकका लागि सुरक्षित, समावेशी र सशक्तिकरण गर्ने डिजिटल इकोसिस्टम निर्माण गर्नु रहेको मन्त्री खरेलले स्पष्ट पारे ।
डिजिटल हिंसाविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै मन्त्री खरेलले कानुनी र नीतिगत ढाँचालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘पीडितलाई न्याय दिलाउन र पीडकलाई जवाफदेही बनाउन साइबर कानुनको समीक्षा गरिने छ । शिक्षा क्षेत्रसँग सहकार्य गर्दै पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्ने, निजी क्षेत्र र नवप्रवर्तकलाई सुरक्षित प्लेटफर्म विकास गर्न प्रोत्साहन गर्ने तथा तीनै तहका सरकार, संयुक्त राष्ट्रसंघ र नागरिक समाजसँग सहकार्य बढाउने योजना पनि छ,’ खरेल भन्छन् ।
आईसीटी समाचार