अलिबाबाले आफ्नो प्रतिक्षित क्वार्क एआई चश्मा चीनमा औपचारिक रूपमा बिक्री सुरु गरेको छ। कम्पनीले फ्ल्यागसिप एसवान मोडेलका तीन भेरियन्ट र तुलनात्मक रूपमा किफायती जीवान मोडेलका तीन भेरियन्ट सार्वजनिक गरेको हो।
यी दुवै मोडेल अलिबाबाको नयाँ क्विन एप सँग जोडिन्छन्, जसलाई कम्पनीकै एआई प्रविधिले चलाउँछ। यी चश्माले भ्वाइस कमाण्ड र टच कन्ट्रोलमार्फत एआई सहायक सुविधा, यात्राकै क्रममा दोभाषे अनुवाद, र बैठक नोट्स स्वचालित रूपमा तयार गर्ने क्षमता प्रदान गर्छन्।
अलिबाबाको व्यापक इकोसिस्टमसँग गहिरो एकीकृत भएकाले चश्मामा अलिपे, टाबाओ जस्ता एपहरू नै समावेश छन्। साथै क्युक्यु म्युजिक जस्ता लोकप्रिय चिनियाँ म्युजिक स्ट्रिमिङ सेवाहरू पनि उपलब्ध छन्।
फेसबुक–मेटाको रेब्यान डिस्प्ले जस्तै, यी चश्माका लेन्स नै स्क्रीनको रूपमा काम गर्छन्। फ्ल्यागसिप एसवान मोडेल महंगा माइक्रो ओएलईडी डिस्प्ले, शक्तिशाली डुअल–चिप, थ्रीकेसम्मको उच्च–गुणस्तरको भिजुअल आउटपुट र एआईले सुधारिएको फोरके भिडियो क्षमता सहित आएको छ।
यसले कम प्रकाशमा पनि राम्रो प्रदर्शन गर्छ। त्यसैबीच, जीवान मोडेल हल्का वजनको छ र दैनिक प्रयोगका लागि डिजाइन गरिएको छ।
अहिलेसम्म अलिबाबाले यी चश्मा चीनबाहिर ल्याउने योजना खुलाएको छैन। तर दुवै मोडेल अहिले चीनका प्रमुख ई–कमर्स प्लेटफर्महरूमा उपलब्ध छन्। एसवानको सुरुवाती मूल्य ३ हजार ७९९ युआन (करिब 537 डलर) राखिएको छ भने जीवान मोडेलको मूल्य १ हजार ८९९ युआन (करिब 268 डलर) बाट सुरु हुन्छ।
आईसीटी समाचार