कीवर्डहरू -

चीनमा तीव्र रूपमा फैलिंदै गएको ह्युमनोइड रोबोटिक्स उद्योगबारे सरकार नै चिन्तित, सम्भावित ‘बबल’को चेतावनी

चीनमा तीव्र रूपमा फैलिंदै गएको ह्युमनोइड रोबोटिक्स उद्योगबारे सरकार नै चिन्तित, सम्भावित ‘बबल’को चेतावनी

चीनको ह्युमनोइड रोबोटिक्स उद्योग अत्यन्त तीव्र गतिमा विस्तार हुँदै जाँदा सरकारी संरचनाहरूले नै बजारमा सम्भावित जोखिमबारे चेतावनी दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले यो वर्ष रोबोटिक्सलाई विशेष आर्थिक इन्जिनका रूपमा सूचीकृत गरेसँगै लगानीमा अचानक उछाल आएपछि प्रमुख वित्तीय निकायहरूले ‘बबल’ बन्ने खतरा औँल्याएका हुन्।

नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (NDRC) का अनुसार एउटै प्रविधि र एउटै प्रकारका ह्युमानोइड रोबोट उत्पादनमा १५० भन्दा बढी कम्पनीको द्रुत प्रवेशले बजार अस्थिर हुनसक्ने देखिएको छ। अत्यधिक आपूर्ति, समान उत्पादन मोडेलको भीड, र अल्पकालीन व्यावसायिक लाभप्रति केन्द्रित लगानीले दीर्घकालीन अनुसन्धान तथा विकास (R&D) नै कमजोर पार्न सक्ने आयोगको मूल्यांकन छ।

विशेषज्ञहरूका अनुसार चीनले विगतमा भोगेका साइकल–शेयरिङ र सेमीकन्डक्टर उद्योगका ‘ओभर–इन्भेस्टमेन्ट’ पछि आएका बजार पतनको जोखिम यो क्षेत्रले पनि दोहोर्याउन सक्छ।

यसबीच, उद्योगको लोकप्रियता यस वर्ष झनै बढ्यो, खासगरी यूनिट्री रोबोटिक्सका ह्युमानोइड रोबोटहरूले स्प्रिङ फेस्टिवल गालामा नृत्य प्रदर्शन गरेपछि देशव्यापी चासो चुलिएको थियो।

सोलएक्टिभ चाइना ह्युमानोइड रोबोटिक्स इन्डेक्स यस वर्ष करिब ३० प्रतिशतले बढेको छ। प्रमुख कम्पनी यूबीटेक रोबोटिक्स कर्पका शेयर शुक्रबार मात्रै ४ प्रतिशतभन्दा बढीले उक्लिएका थिए। अन्तर्राष्ट्रिय वित्तीय विश्लेषक कम्पनी सिटीग्रुपले विश्व ह्युमानोइड रोबोटिक्स मार्केट सन् २०५० सम्म करिब ७ ट्रिलियन डलरमा पुग्न सक्ने अनुमान गरेको छ।

तर तीव्र लगानी, कम्पनीहरूको भीडभाड, र बजारमा देखिएको अत्यधिक उत्साहले वास्तविक प्राविधिक प्रगतिलाई नै बाधा पुर्‍याउने जोखिम बढेको विश्लेषकहरूको निष्कर्ष छ। NDRC सहित केही प्रमुख वित्तीय संस्थाहरूले यस क्षेत्रमा रणनीतिक र सावधानीपूर्ण निवेश आवश्यक भएकोमा जोड दिएका छन्।