कीवर्डहरू -

नेपालमा पनि मनाइयो अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस

नेपालमा पनि मनाइयो अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस

नेपालमा पनि अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस मनाइएको छ। नोभेम्बर ३० मा मनाइने यस दिवसका अवसरमा साइबर सुरक्षामा क्रियाशील सरोकारवालाहरूले काठमाडौंमा कार्यक्रम आयोजना गरी डिजिटल सुरक्षा सुदृढीकरणका उपायबारे छलफल गरेका हुन्। 

‘Secure Our Digital Life: From Awareness to Action’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र र शिक्षाक्षेत्रका विज्ञाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले नेपालले सामान्य कम्प्युटर सुरक्षाभन्दा अघि बढेर दीगो सूचना सुरक्षा प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता तत्काल देखिएको जिकिर गरे। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISPAN) का सीईओ सुवास खड्काले नेपालमा तीव्र रूपमा बढिरहेका साइबर जोखिमबारे विस्तृत प्रस्तुति दिँदै बैंक तथा वित्तीय क्षेत्रमा भइरहेको ठगी, सरकारी डेटा केन्द्रको बारम्बार देखिने डाउनटाइम, र ९० प्रतिशतभन्दा बढी सफ्टवेयर पाइरेसीजस्ता समस्यालाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरे।

नेपाल दूरसञ्चार प्राधिकरण (NTA) की उप–निर्देशक रोजा किरण बसुकलाले यस्ता कार्यक्रम एकदिने औपचारिकतामा सीमित नहुने गरी वर्षभरि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै क्यालेन्डरमा आधारित गतिविधि विकास गर्नुपर्ने सुझाव दिइन्।

अन्य वक्ताहरूले पनि दीगो साइबर सुरक्षाका लागि व्यवहारिक सीप, संस्थागत क्षमता र प्राविधिक सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखे। सुबिसुका उपाध्यक्ष रामकृष्ण परियारले People, Process, Technology (PPT) मा आधारित सुरक्षा मोडलको महत्त्वबारे प्रकाश पारे भने युवा प्रतिनिधि उदीप बरालले शिक्षालय र उद्योगबीचको व्यवहारिक दक्षतामा रहेको खाडल कम गर्नुपर्नेमा जोड दिए।

डेटा सेन्टर विशेषज्ञ रमेश पोखरेलले Zero Trust Architecture को महत्त्व व्याख्या गर्दै सुरक्षा र पूर्वाधार बिना राष्ट्रनिर्माण अधूरो रहने टिप्पणी गरे। त्यस्तै, शैक्षिक अनुसन्धानकर्मी फुलबाबु झाले ‘People to People Security’ मा आधारित दीर्घकालीन कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमको समापनका अवसरमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री इन्जिनियर गणेश शाहले सूचना सुरक्षालाई वर्षभरि निरन्तर लागू गर्ने मोडेलका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि सरोकारवालाको सामूहिक पहल प्राथमिकता हुनुपर्ने धारणा राखेका थिए ।