कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ स्टार्टअप

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ स्टार्टअप

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १२ स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । 

अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ स्टार्टअप छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।

आफुलाई मन परेको उत्कष्ट ५ स्टार्टअप मध्येबाट एउटा स्टार्टअपलाई डिजिटल वालेट हाम्रो पेमा गएर भोटिङ गर्न सकिने छ । भोटिङ आगामी मंसिर २४ गते राति १२ बजेसम्म गर्न सकिने छ ।

स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।

यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट स्टार्टअपः

आर्कबो टेक्नोलोजीज प्रा. लि.

सन् २०२३ मा स्थापना भएको स्टार्टअप हो, आर्कबो टेक्नोलोजीज । लर्निङ म्यानेजमेन्ट सिस्टम, अनलाइन एक्जामिनेसन सिस्टम र ट्रेनिङ म्यानेजमेन्ट जस्ता सिस्टम विकास गरेको आर्कबोले अफिस अटोमेसन सोलुसन, डेभअप्स सर्भिसेस, भीपीएस होस्टिङ र कस्टम एप्लिकेसन डेभलपमेन्ट लगायतका सेवा पनि दिदै आएको छ । कम्पनीमा २५ जनाले रोजगारी पाएका छन् ।

फास्टो नेपाल प्रा. लि.

फास्टो नेपाल सन् २०२४ मा स्थापना भएको एक क्विक–कमर्स स्टार्टअप हो, जसले अर्डर गरेका सामान १० मिनेटभित्र डेलिभर गर्छ। यसका लागि कम्पनीले काठमाडौं उपत्यकामा प्रत्येक २–३ किलोमिटरमा डार्क स्टोर सञ्चालनमा ल्याएको छ। 

हाल १५२ भन्दा बढी जनाले रोजगारी पाएको फास्टोले काठमाडौं उपत्यका बाहिर पनि छिट्टै सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।

म्याक ट्वान्टी–फोर अर्बिटल्स प्रा. लि.

साना उपग्रहका लागि हाइब्रिड प्रोपल्सन सिस्टम र स्मार्ट लञ्च भेहिकल विकास गर्ने कम्पनी हो, म्याक ट्वान्टी–फोर अर्बिटल्स ।

सन् २०२४ मा स्थापना भएको यसले हाइब्रिड रकेट इन्जिन र साउन्डिङ रकेटहरू निर्माण गर्दै भविष्यमा अर्बिटल–क्लास भेहिकल तयार गर्ने लक्ष्य राखेको छ । 

ग्लोबल लन्च सर्भिस प्रदायक बन्ने उद्देश्यसहित अघि बढिरहेको कम्पनीमा हाल १५ जनाले रोजगारी पाएका छन् । 

सिंक टेक्नोलोजी एण्ड सप्लायर्स प्रा. लि.

सन् २०२४ मा स्थापना भएको स्टार्टअप हो, सिंक टेक्नोलोजी एण्ड सप्लायर्स । यसले क्लाउडमा आधारित लोयल्टी प्लेटफर्म सम्पर्क विकास गरेको छ, जसले व्यवसायहरूलाई आफ्ना ग्राहकहरू बुझ्न, संलग्न गराउन र बिक्री बढाउन मद्दत गर्छ । सिंक टेक्नोलोजीले ५ जनालाई रोजगारी प्रदान गरेको छ ।

ट्रिप टर्बो प्रा. लि.

ट्रिप टर्बो अनलाइन ट्राभल एजेन्सी हो । सन् २०२१ मा स्थापना भएको यसबाट फ्लाइट टिकट, बस टिकट काट्नेदेखि विभिन्न एडभेन्चर क्रियाकलाप र इभेन्ट टिकटसम्म बुकिङ गर्न सकिन्छ । 

अहिलेसम्म ट्रिप टर्बो एप २ लाख ७० हजार बढी डाउनलोड भइसकेको छ भने ८० हजार बढी मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । कम्पनीमा ३५ जनाले रोजगारी पाएका छन् ।