माइक्रोसफ्टका प्रडक्ट नेपालीकरण गर्ने डा. एलेन बैलोचन तुलाधरले पायोनियर आइसिटी अवार्ड २०२५ पाएका छन् ।
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य रूपमा लामो योगदान पुर्याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष उक्त अवार्ड तुलाधरलाई प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि निरन्तर योगदान पुर्याउँदै आएका अग्रणी व्यक्तित्व हुन, एलेन बैलोचन तुलाधर।
सन् १९९२ मा अमेरिकाबाट नेपाल फर्किएर उनले अनलिमिटेड कम्पनी स्थापना गर्दै माइक्रोसफ्टका उत्पादनहरू नेपाली भाषामा लोकलाइज गर्ने ऐतिहासिक कामको नेतृत्व गरेका थिए ।
सन् १९९७ मा बिल गेट्ससँग भेटेपछि उहाँकै नेतृत्वमा नेपाली संस्करणको विन्डोज र अफिस तथा टेक्स्ट टु स्पीच, स्पीच टु टेक्स्ट जस्ता प्रविधि विकास भएको थियो । यस योगदानका लागि नास्टले ‘आधुनिक भानुभक्त’ को उपाधि समेत प्रदान गरेको थियो।
नेपालमा माइक्रोसफ्ट इन्नोभेसन सेन्टर स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका तुलाधरले माइक्रोसफ्टको क्षेत्रीय निर्देशकका रूपमा पनि काम गरिसकेका छन् ।
उच्चस्तरीय सूचना प्रविधि आयोगको भाषा समितिको सदस्यसचिवका रूपमा समेत काम गरिसकेका उनले तुलाधरले क्यान महासंघ स्थापना तथा क्यान इन्फोटेक सुरू गर्न पनि उल्लेखनीय भूमिका खेलेका थिए ।
गाउँ–गाउँमा प्रविधिमैत्री शिक्षा, डिजिटल साक्षरता विस्तार र आइसिटी नीति निर्माणमा उनको योगदान छ । पछिल्लो समय क्रस–बोर्डर भुक्तानी क्षेत्रमा केन्द्रित हुनुभएका तुलाधर अब भने आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तालाई कनेक्ट गर्ने योजना बनाएका छन् ।
आईसीटी समाचार