टिकटक शपले प्रयोगकर्तालाई एपभित्र उपलब्ध लाखौँ उत्पादनहरू किन्न सहयोग पुग्ने उद्देश्यसहित डिजिटल गिफ्ट कार्ड खरिद गर्न मिल्ने नयाँ सुविधा सार्वजनिक गरेको छ।
यो सुविधा छुट्टी (होलिडे) सिजनलाई लक्षित गर्दै ल्याइएको हो, जुन टिकटक शपका लागि उच्च प्रतिस्पर्धात्मक र रणनीतिक समय मानिएको छ ।
गिफ्टिङमा प्रवेशसँगै टिकटक शपले अमेजन र इबे जस्ता ठूला ई–कमर्स कम्पनीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने संकेत दिएको छ। यसअघि टिकटक शपले लक्जरी रिटेल क्षेत्रमा समेत विस्तार गरेको थियो, जसले यसको ई–कमर्स उपस्थितिलाई थप बलियो बनाएको छ।
नयाँ गिफ्ट कार्ड सुविधा अन्तर्गत प्रयोगकर्ताले १० डलरदेखि ५०० डलरसम्म रकम लोड गर्न सक्नेछन्। यी कार्डको विशेषता भनेको एनिमेटेड डिजाइनमार्फत व्यक्तिगत रूपमा सजाउन सकिने व्यवस्था हो। धन्यवाद, जन्मदिन, विवाह लगायत विभिन्न अवसरका लागि फरक–फरक एनिमेशन उपलब्ध छन्।
डिजिटल गिफ्ट कार्ड इमेलमार्फत पठाइनेछ र प्राप्तकर्तासँग अनिवार्य रूपमा टिकटक अकाउन्ट हुनुपर्नेछ। कार्ड रिडिम गरेपछि त्यसको मूल्य तुरुन्तै प्राप्तकर्ताको टिकटक ब्यालेन्समा क्रेडिट हुन्छ। प्राप्तकर्ताले धन्यवाद सन्देश पठाउन वा जवाफमा अर्को गिफ्ट कार्ड पठाउन समेत सक्नेछन्।
हालका लागि यो सुविधा अमेरिकामा मात्र उपलब्ध छ। टिकटकका अनुसार भविष्यमा गिफ्ट कार्डलाई अझ व्यक्तिगत बनाउन थप फिचरहरू ल्याइनेछ। २०२६ को सुरुआतसम्म प्रयोगकर्ताले डिजिटल गिफ्ट कार्डसँगै भिडियो सन्देश रेकर्ड वा अपलोड गर्न सक्ने सुविधा आउनेछ। कम्पनीका प्रवक्ताले गिफ्ट कार्ड खोल्दा प्रयोगकर्ताको प्रतिक्रिया वास्तविक समयमा समेट्ने ‘इन्टरएक्टिभ अनबक्सिङ’ अनुभव पनि समावेश गरिने बताए, तर यसबारे थप विवरण खुलाएका छैनन्।
डिजिटल गिफ्ट कार्डको सुरुवात टिकटक शपको अर्को ठूलो उपलब्धिपछि भएको हो। ब्ल्याक फ्राइडे र साइबर मन्डेका चार दिनमा मात्रै अमेरिकामा टिकटक शपमार्फत ५० करोड डलरभन्दा बढी बिक्री भएको कम्पनीले जनाएको छ।
यद्यपि, यो उपलब्धिका बाबजुद टिकटक शपको भविष्य अझै अनिश्चित छ। टिकटकको अमेरिकी सञ्चालन अमेरिकी लगानीकर्ता समूहलाई बिक्री गर्ने विषय अझै टुंगो लाग्न सकेको छैन। बिक्री नहुने अवस्थामा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइने सम्भावना छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी समयसीमा २०२६ जनवरी २३ सम्म थप गरेसँगै अमेरिकामा टिकटकको भविष्य अझै अन्योलमै रहेको छ।
आईसीटी समाचार