कीवर्डहरू -

एल्गोरिदम ओपन सोर्स गर्ने तयारीमा एक्स

एल्गोरिदम ओपन सोर्स गर्ने तयारीमा एक्स

सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) ले चाँडै आफ्ना कन्टेन्ट सिफारिस एल्गोरिदम कसरी काम गर्छ भन्नेबारे थप पारदर्शिता प्रदान गर्ने संकेत दिएको छ। 

प्लेटफर्मका मालिक एलन मस्कले शनिबार एक्समार्फत पोस्ट गर्दै आगामी ७ दिनभित्र नयाँ एक्स एल्गोरिदम खुला स्रोत (Open Source) बनाइने घोषणा गरेका छन्।

मस्कका अनुसार प्रयोगकर्तालाई अर्गानिक तथा विज्ञापन सामग्री सिफारिस गर्न प्रयोग गरिने सम्पूर्ण कोड सार्वजनिक गरिनेछ। 

‘नयाँ एक्स एल्गोरिदम, जसमा प्रयोगकर्तालाई अर्गानिक र विज्ञापन पोस्ट सिफारिस गर्न प्रयोग हुने सबै कोड समावेश छन्, ७ दिनभित्र खुला स्रोत बनाइनेछ,’ उनले पोस्टमा उल्लेख गरेका छन्। 

साथै, प्रत्येक ४ हप्तामा एल्गोरिदम पुनः अपडेटसहित सार्वजनिक गरिने र के परिवर्तन भयो भन्नेबारे विस्तृत डेभलपर नोटसमेत उपलब्ध गराइने उनले बताएका छन्। एक्सको सिफारिस एल्गोरिदम पछिल्लो समय फ्रान्स तथा युरोपेली आयोगको अनुसन्धानको केन्द्रमा रहेको छ। 

युरोपेली आयोगले गत वर्षको सुरुवातमा एक्सलाई पठाएको डाटा संरक्षणसम्बन्धी आदेशलाई सन् २०२६ सम्म विस्तार गरेको छ। 

प्लेटफर्ममाथिको निगरानी र जवाफदेहिता माग झनै बढ्दै गएको छ, विशेषतः एक्सको च्याटबोट ‘ग्रोक’ (Grok) ले प्रयोगकर्ताको अनुरोधमा बाल यौन दुरुपयोगसम्बन्धी सामग्री (CSAM) उत्पादन गरेको तथा महिलाहरूलाई सहमतिबिनै डिजिटल रूपमा नग्न बनाउने सामग्री सिर्जना गर्न प्रयोग भइरहेको घटनापछि।

एलन मस्कले ट्विटर (हालको एक्स) अधिग्रहण गरेयता एल्गोरिदम खुला गर्ने प्रतिबद्धता पटक–पटक जनाउँदै आएका छन्। सन् २०२३ मा उनले ‘फर यु’ (For You) फिडसँग सम्बन्धित कोड गिटहबमा सार्वजनिक गरेका थिए। तर त्यसबेला प्रकाशित कोडले एल्गोरिदमका महत्वपूर्ण पक्षहरू समेट्न नसकेको भन्दै आलोचना भएको थियो। साथै, उक्त कोड समयअनुसार अद्यावधिक पनि गरिएको थिएन।

नयाँ एल्गोरिदम खुला गर्ने घोषणासँगै मस्कले यो प्रक्रिया नियमित हुने दाबी गरेका छन्। ‘यो प्रत्येक ४ हप्तामा दोहोर्याइनेछ, विस्तृत डेभलपर नोटसहित, ताकि के परिवर्तन भयो भन्ने तपाईंले बुझ्न सक्नुहोस्,’ उनले भनेका छन्।

एल्गोरिदम खुला गर्ने यो कदमलाई एक्सले पारदर्शिता बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि नियामक निकाय र प्रयोगकर्ताहरूले यसले कत्तिको वास्तविक जवाफदेहिता सुनिश्चित गर्छ भन्ने विषयमा चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।