कीवर्डहरू -

अब सेप्टेम्बरमा सबै आइफोन नआउने, एपलको दशकौँ पुरानो परम्परा टुट्ने संकेत

अब सेप्टेम्बरमा सबै आइफोन नआउने, एपलको दशकौँ पुरानो परम्परा टुट्ने संकेत

दुनियाभरका आइफोन प्रयोगकर्ता र फ्यानहरूले हरेक वर्ष सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक हुने प्रतीक्षा गर्छन्। करिब एक दशकदेखि एपलले सेप्टेम्बर–अक्टोबर अवधिमा नयाँ आइफोन सार्वजनिक गर्दै आएको छ। तर अब यो परम्परा टुट्ने देखिएको छ।

ताजा रिपोर्टहरूका अनुसार एपलले आगामी दिनमा आइफोन लन्चलाई फरक–फरक समयमा विभाजन गर्ने तयारी गरिरहेको छ। यसको अर्थ अब सबै आइफोन मोडल एकैपटक बजारमा आउने छैनन्।

टेक्नोलोजी वेबसाइट म्याकरूमर्स ले जनाएअनुसार सन् २०२६ मा आइफोन १८ को स्ट्यान्डर्ड मोडल सार्वजनिक नहुने सम्भावना छ। एपलको इतिहासमै पहिलो पटक कम्पनीले आफ्नो फ्ल्यागशिप आइफोनको नयाँ पुस्ता एकै पात्रो वर्षमा सार्वजनिक नगर्ने अवस्था आउनेछ। यसअनुसार सन् २०२५ मा लन्च हुने आइफोन १७ नै करिब १८ महिनासम्म सबैभन्दा नयाँ स्ट्यान्डर्ड आइफोन हुनेछ।

दुई चरणमा आइफोन लन्च गर्ने तयारी

नयाँ रणनीतिअनुसार एपलले आइफोन लन्चिङलाई दुई भागमा बाँड्नेछ।

सन् २०२६ को सेप्टेम्बर–अक्टोबर अवधिमा कम्पनीले केवल हाई–एन्ड मोडलहरू—आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र एपलको पहिलो फोल्डेबल आइफोन मात्र सार्वजनिक गर्नेछ।

त्यसपछि सस्ता र स्ट्यान्डर्ड मोडलहरू—आइफोन १८, आइफोन १८ई र आइफोन एयर २—लाई सन् २०२७ को सुरुआत (मार्च–अप्रिल) मा बजारमा ल्याइनेछ।

किन बदलिँदै छ एपलको रणनीति?

म्याकरूमर्सका अनुसार एपलको यो निर्णय पछाडि आइफोन मोडलहरूको बढ्दो संख्या मुख्य कारण हो। सन् २०२६ को अन्त्यसम्म बजारमा कम्तीमा आठ फरक–फरक आइफोन मोडल उपलब्ध हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा कम्पनीले महँगा र सस्ता मोडलबीच प्रत्यक्ष प्रतिस्पर्धा कम गर्न र प्रत्येक डिभाइसलाई बजारमा स्थापित हुन पर्याप्त समय दिन चाहेको देखिन्छ।

यसका साथै सप्लाइ चेनसँग सम्बन्धित चुनौतीहरू व्यवस्थापन गर्न पनि फरक–फरक समयमा लन्च गर्नु उपयोगी हुने एपलको बुझाइ छ। यसले पार्ट्स अभाव, उत्पादन ढिलाइ जस्ता समस्याहरू कम गर्नुका साथै कम्पनीको आम्दानी वर्षभरि सन्तुलित राख्न मद्दत गर्नेछ।

आइफोन १८ मा के–के नयाँ हुन सक्छ?

आइफोन १८ सिरिजमा डिजाइन र हार्डवेयरमा उल्लेखनीय परिवर्तन देखिन सक्ने अपेक्षा गरिएको छ। रिपोर्टहरूका अनुसार बेस मोडलमा क्यामेरा मोड्युल अघिल्ला मोडलको तुलनामा सानो हुनेछ।
एपलले फेस आईडी सेन्सरलाई डिस्प्लेभित्रै समावेश गर्ने तयारी गरिरहेको चर्चा पनि छ, जसले गर्दा डायनामीक आईस्ल्याण्ड अझ सानो हुने र स्क्रिनमा केवल सानो पिनहोल क्यामेरा मात्र देखिनेछ।

प्रविधिगत रूपमा यो सिरिज एपलको सबैभन्दा एडभान्स्ड २ न्यानोमिटर (2nm) प्रोसेसर मा आधारित हुने अनुमान गरिएको छ, जसले प्रदर्शन र ऊर्जा दक्षतामा ठूलो सुधार ल्याउनेछ।